कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चिया प्रशोधनको सुविधा जिल्लामै

चन्द्र कार्की

तेह्रथुम — चार दशकअघि बारीका कान्लामा चियाका बिरुवा रोप्दै गर्दा गाउँमै चिया कारखाना सञ्चालनमा आउला भन्ने लालीगुराँस नगरपालिका सोल्मामा किसानले सोचेका थिएनन् । चियाका बेर्ना झांगिएर बगान हुँदै गर्दाको चार दशक समय जिल्लाका किसानलाई सहज थिएन ।

चिया प्रशोधनको सुविधा जिल्लामै

अचेल भने सजिलो भएको छ । जिल्लामै चिया प्रशोधन कारखाना खुलेपछि किसानलाई राहत मिलेको छ । जिल्लाका ५ सयभन्दा बढी चिया किसान र ९ वटा चिया सहकारीले आफ्नै जिल्लामा चिया प्रशोधन कारखाना पाएका छन् ।


हरियो पत्ती प्रशोधन गर्ने कारखाना जिल्लामै खुलेपछि सोल्मा सहित सुङनाम, जिरिखिम्ती, मोराहाङ, श्रीजुङ, हमुरजुङ, पञ्चकन्या, आङदिम बसन्तपुर, फुलेक, दांगपा र छिमेकी जिल्ला धनकुटा र संखुवासभाका साना चिया किसान समेतले राहत पाएका छन् ।


साना चिया किसानलाई लक्षित गरी लालीगुराँस नगरपालिका ९ सोल्मामा सञ्चालनमा ल्याइएको चिया प्रशोधन कारखानाका कारण किसानले रोजगारी र आमदानी दुवै पाएको सिंहदेवी चिया उत्पादक सहकारी संस्थाका व्यवस्थापक शंकर खनालले वताए । सिंहदेवी चिया उत्पादक सहकारी संस्थाले नै किसान समेतको लागत सहभागिता गराएर कारखाना सञ्चालनमा ल्याएको हो ।


जिल्लामै चियाको हरियो मुना प्रशोधन गर्ने कारखाना नहुँदा धेरै किसानले चियाको मुना नै टिप्न छाडेका थिए । मुना टिपेका किसानले पनि धनकुटाको हिलेमा रहेका चिया प्रशोधन कारखानामा बिक्रीका लागि लानुपर्ने बाध्यता थियो ।


त्यहाँका कारखानाले पत्ती ढुवानी गर्न सवारी साधन समयमा नपठाउँदा हप्तामा एक दिन मात्र पत्ती टिप्नुपर्ने बाध्यता किसानले झेल्दै आएका थिए । कारखानाले समयमा पत्तीको रकम भुक्तानी नदिने अर्को समस्या वर्षौंदेखिको थियो । पत्ती टिप्न ढिलाइ हुँदा मुना फक्रिने र फक्रिएका मुना कारखानाले लिन नमान्दा किसानले वर्षेनी नोक्सान व्यहोर्दै आएका थिए ।


जिल्लामै कारखाना खुलेपछि भने किसानका यी सवै समस्या हटेको किसान समेत रहेका कारखानका प्राविधिक बीरबहादुर बस्नेतले बताए । कारखाना सञ्चालनमा आएपछि जिल्लाभरका चिया किसानले हप्ताको सातै दिन मुना टिप्न पाएका छन् ।


पहिले हप्ताको एक दिन पत्ती ढुवानीका लागि धनकुटाको हिलेमा रहेका प्रशोधन कारखानाले तोकिएको स्थानमा गाडी पठाउने गर्दथे ।


त्यही दिन मात्र पत्ती टिप्नु पर्थ्यो । त्यस दिन पत्ती टिप्न नभ्याए अर्को हप्ता मुना फक्रिएर काममै आउदैनथ्यो । अहिले भने प्रत्येक दिन मुना टिपेर कारखानामा ल्याउन पाइने स्थानीय चिया किसान अग्नि खनालले बताए । हिलेमा रहेका चिया प्रशोधन कारखानाले हरियो पत्तीको प्रतिकेजी ५६ रुपैयाँ मात्र मूल्य दिँदै आएका थिए । तर जिल्लामै कारखाना खुलेपछि भने किसानले प्रतिकेजी ६५ रुपैयाँ मूल्य पाउन थालेका छन् ।


प्रतिकेजी ९ रुपैयाँ बढी मूल्य पाउँदा पक्ती बित्रीबाट आम्दानी समेत बढेको अर्का चिया किसान राम खनालले बताए । पहिले २ सय ५० केजी हप्तामा चियाको पक्ती बित्री गर्दै आएका खनालले अहिले त्यति नै बगानमा ४ सय २२ केजीसम्म पक्ती बित्री गर्दै आएका छन् ।


किसानले पत्ती टिप्न छाडेर झाडीमा परिणत भएका चिया बगान कारखाना सञ्चालनमा आएपछि गोडमेल र काटछाट गरेर व्यवस्थित बनाएका छन् । यस्ता बगानबाट पनि पत्ती टिपाइ सुरु भएको चिया किसान बालकुमारी मगरले बताइन् ।


कारखानामा अत्याधुनिक चिया सर्टिङ मेसिन समेत जडान गरिएको छ । हरियो पत्तीको मुख्य उत्पादन स्थलमै प्रशोधन कारखाना स्थापना भएपछि जिल्लाका ५ सयभन्दा बढी चिया किसान लाभान्वित भएको सहकारीका व्यवस्थापक खनालले बताए । उन्नती समाबेशी वृद्धि कार्यक्रमबाट प्राप्त १ करोड १३ लाख सहयोग बाँकी किसानले आफसमा संकलन गरेको पैसा समेत गरी ३ करोड लागतमा प्रशोधन कारखाना सञ्चालनमा ल्याएको खनालले बताए । नपुग रकम सहकारी संस्थाले सेयर रकम र ऋण खोजेर जुटाएको हो ।


कारखाना सञ्चालनमा आएपछि सोल्मा सहित जिल्लाभर उत्पादन भएको हरियो पत्ती कारखानामा ल्याएर प्रशोधन गर्न थालिएको छ । कारखानामा प्रशोधन गरिएको हरियो पत्तीलाई संस्थामार्फत नै ग्रेडिङ, प्याकेजिङ र बजारीकरण समेत भइरहेको छ ।

किसान एक्लैले यस्ता कारखाना स्थापना गरेर सञ्चालन गर्न नसक्ने भएकाले सहकारी संस्थाले सञ्चालनमा ल्याएको कारखाना साना चिया किसानका लागि बरदान सावित भएको व्यवस्थापक खनालको भनाइ छ । यो सहकारीमा १ सय ४४ जना साना चिया किसान आवद्ध छन् ।


जिल्लामै कारखाना नहुँदा सस्तो मूल्यमा जिल्ला बाहिरका कारखानालाई हरियो पक्ती बित्री गर्दै आएका किसानलाई जिल्लामै कारखाना खुलेपछि ठूलो राहत पुगेको चिया किसानको भनाइ छ । ‘अहिले हामीले आफ्नै जिल्लामा महँगो मूल्यमा हरियो पक्ती बित्री गर्न पाएका छौं,’ चिया किसान राम खनालले भने ।


कारखानामा हरियो पत्ती ओइलाउने वेदरिङ मेसिन, माझ्ने रोलिङ, सुकाउने ड्रायर मेसिन, ग्रेडिङका लागि सटिङ मेसिन र प्याकेजिङ मेसिन लगायतका उपकरण जडान गरिएको छ । कारखानाको दैनिक ३ सय केजी हरियो पत्ती प्रशोधन गर्ने क्षमता छ । सुरुमा वार्षिक ४० हजार केजी तयारी चिया प्रशोधन गर्ने लक्ष्यका साथ कारखाना स्थापना गरिएको सहकारी संस्थाले जनाएको छ ।


त्यसका लागि वार्षिक २ लाख हरियो पत्ती आवश्यक पर्ने कारखानाले जनाएको छ । १ लाख ५० हजार केजी हरियो पत्ती सोल्मामा उत्पादन हुने र बाँकी पत्ती जिल्लाका अन्य क्षेत्रबाट ल्याइने व्यवस्थापक खनालले जानकारी दिए । जिल्लाका साना चिया किसानले वार्षिक २ लाख केजी हरियो पत्ती उत्पादन गर्दै आएका छन् ।


जिल्लामै चिया प्रशोधन कारखाना खुलेपछि किसानका बगानदेखि कारखानासम्म दैनिक २ सय ५० जनाभन्दा बढीले रोजगारी पाएका छन् । कारखाना खुलेपछि किसानले चिया उत्पादन क्षेत्रफल बढाउने र साना चिया किसानको संख्या समेत बढ्ने आशा सहकारीले लिएको छ ।


कारखानामा प्रशोधन भएको अर्गानिक चिया केही स्थानीय बजारमा, ३० प्रतिशत नेपाली बजारमा, २५ देखि ३० प्रतिशत भारतीय बजार र ३० प्रतिशतसम्म तेस्रो मुलुक निर्यात गर्ने लक्ष्य रहेको सहकारीले जनाएको छ । कारखानाबाट ब्ल्याक, ग्रिन, ह्वाइट, गोल्डेन, रेड, अर्थोडक्स, स्मोक लगायत चिया तयार हुने प्राविधिक बस्नेतले जानकारी दिए ।


२०४० सालबाट सोल्मामा सुरु भएको चियाखेतीको क्षेत्रफल प्रत्येक वर्ष बढदो छ । जिल्लामा अहिले २ हजार ४ सय रोपनी क्षेत्रफल जमिनमा चिया खेती हुने गरेको चिया विस्तार आयोजना सोल्माले जनाएको छ । हरियो पक्ती बित्रीबाट जिल्लाका साना चिया किसानले वार्षिक १ करोड २ लाख ६० हजार आम्दानी गरिरहेका छन् । जिल्लामै काराखाना खुलेपछि किसानले गरिरहेको यो आम्दानी पनि वृद्धि हुनेछ ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?