फेरिँदै कटारी बजार
उदयपुर — सशस्त्र द्वन्द्वका बेलादेखि ओझेलमा परेको सगरमाथाको द्वारका नामले परिचित पुरानो कटारी बजारमा अचेल चहलपहल बढेको छ । राज्य पुनर्संरचनापछि स्थानीय तहको गठनसँगै चारैतिरबाट सडक सञ्जालले जोडिएपछि कटारीमा चहलपहल बढेको हो ।
कटारी बजार कुनै समय माथिल्लो सगरमाथाका सोलु, ओखलढुंगा र खोटाङको मुख्य व्यापारिक केन्द्र थियो । कटारी बजारबाटै ती ३ जिल्लामा दैनिक उपभोग्य खाद्यान्नलगायत कपडा, औषधि, फलामे सामग्री, स्टिलका भाँडाकुँडा, मटितेल, जस्ता वस्तु आपूर्ति गरिन्थ्यो ।
सशस्त्र द्वन्द्वबाट प्रभावित भएको कटारी माथिल्लो सगरमाथाका ३ जिल्ला मध्यपहाडी लोकर्मागसँगै सडक सञ्जालले जोडिएपछि ओझेलमा परेको थियो । त्यसपछि यहाँको व्यापार व्यवसाय पनि ओझेलमा पर्दै गएको थियो ।
कटारी बजारलाई जोड्दै वैकल्पिक लोकमार्ग (धरान–चतरा–बेल्टारबजार–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक) निर्माणसँगै यो परिवर्तन हुन थालेको हो । सिद्धिचरण लोकर्मागले मात्रै छोएको कटारी वैकल्पिक लोकर्मागसँगै पूर्वको धरान र पश्चिममा हेटौंडासँग जोडिँदा गुलजार बन्दै गएको छ । मुख्य दुई लोकमार्गसँग जोडिएपछि पछिल्लो समय व्यापार व्यवसाय बढेको छ । ठूलो लगानीमा होटल, अस्पताल, खाद्य उद्योग, निर्माण सामग्रीको थोक बिक्री केन्द्र खुलेका छन ।
बजार व्यवस्थित बजार बन्दै गएको छ । द्वन्द्वका कारण पलायन भएका व्यापारी फर्किएर ठूलो लगानी भित्र्याएका छन् । ‘पहिले व्यापारी पलायन रोक्न प्रयास गर्दा पनि सकिएन,’ वाणिज्य संघका अध्यक्ष पुष्कर खडकाले भने, ‘पहिलेकै अवस्था रहदै गएको भए अहिले कटारीको नामसमेत हराउने थियो ।’ तर बैकल्पिक लोकमार्गलगायत अन्य सडकले जोडेपछि कटारी बजारको मुहार फेरिएको उनले बताए ।
कटारीसँग जोडिने सडकको स्तरोन्नति नहुँदा पनि समस्या थियो । त्यसैगरी बैकल्पिक लोकर्मागको निर्माणसँगै सिद्धिचरण मार्ग जीर्ण हुँदा पनि व्यापार खस्किएको थियो । २०५४/५४ मै ट्र्याक खुलेको सिद्धिचरण मार्गको स्तर उन्नती हुन नसक्दा व्यापार खस्किएको स्थानीयले वताए ।
‘सिद्धिचरण मार्गको स्तरोन्नति नहुँदा सोलु, ओखलढुंगा र खोटाङबाट आउने सर्वसाधारण, व्यापारी काठमाडौंतर्फ मोडिएका थिए,’ होटल व्यवसायी प्रताप राईले भने, ‘टाढा भए पनि कटारीभन्दा काठमाडौं पुग्न सजिलो भएकाले त्यसतर्फ जाने गरे ।’ तर काठमाडौंको तुलनामा कटारी बजारमा तराईमा उत्पादित वस्तु धेरै सस्तो भएको र यातायतले जोडेपछि पुनः ती कटारी आउन थालेका उनले बताए ।
कटारीमा जिल्लाकै अन्य बजारको तुलनामा १० देखि ३० प्रतिशतसम्म सस्तोमा दैनिक उपभोग्य वस्तु पाइन्छ । कपडा, कस्मेटिक, फलाम र तामा, पित्तल र स्टिलका भाँडा पनि सस्तो रहेको व्यापारीले बताए । धरानबाट, विराटनगर, राजविराज, जनकपुर र वीरगन्जका अधिकृत बिक्रेताले थोरै नाफा लिएर सोझै कटारीमा बिक्री गर्ने गरेको व्यवसायी बताउँछन् ।
‘पछिल्लो समयम धेरै किसिमका वस्तुको आधिकारिक विक्रेता कटारीमै छन्,’ उदयपुर उद्योग वाणिज्य संघ कटारीका महासचिव जमानसिंह बस्नेतले भने, ‘त्यसैले सडक सञ्जालले छोएपछि पुनः माथिल्लो क्षेत्रका व्यापारी कटारी बजार आउन थालेका छन् ।’
पछिल्लो समय व्यापार व्यवसायको बृद्धिसँगै बजारको मुहार पनि फेरिँदै गएको उनले बताए ।
कटारी बजारको विकासलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । ‘अहिले कटारी बजारको व्यापार व्यवसाय बढ्दै गएको छ’, श्रेष्ठले भने, ‘त्यसलाई अझै बढाउँदै लैजान र ठूलो लगानीका व्यवसाय भित्र्याउन नगरले विशेष योजना बनाएको छ ।’ नगरपालिकाले कटारी बजारको सरसफाइदेखि सुन्दरता र ठूलो लगानीका व्यवसायीलाई प्रोत्साहन गर्ने उनले बताए ।
प्रकाशित : फाल्गुन १२, २०७५ ०९:५६