संरक्षणको पर्खाइमा ऐतिहासिक सम्पदा

अर्जुन राजवंशी

बिर्तामोड, झापा — राष्ट्रिय सम्पदामा सूचीकृत ऐतिहासिक बिराटपोखरी संरक्षणको पखाइमा छ । महाभारतकालीन इतिहास बोकेको उक्त पोखरी सरोकारवालाको प्राथमिकतामा पर्न सकेको छैन ।

संरक्षणको पर्खाइमा ऐतिहासिक सम्पदा

पोखरी बिर्तामोड नगरपालिका ३ स्थित करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको छ । धार्मिक पर्यटनको प्रचुर सम्भावना रहे पनि नगरपालिकाले चासोको विषय बनाएको छैन । पोखरी संरक्षणमा स्थानीयले कहिलेकाहीँ सरसफाइलगायत कार्य गर्ने गरेका छन् ।

स्थानीयकै पहलमा ०५१ मा ‘विराट सरोवर विकास समिति’ स्थापना भएको थियो । ऊक्त समितिले कहिलेकाहीँ सामान्य कार्यत्रमहरू गर्दै आएको छ । समितिले बाहेक विराटपोखरीमा कुनै पक्षले ठोस गतिविधि गरेको छैन ।


विराट राजाले आफ्ना गाईहरूलाई पानी खुवाउन विराटपोखरी खन्न लगाएको किम्बदन्ती छ । बालाचर्तुदशीका दिन विराटपोखरीमा सतबीज छर्नेको घुइँचो लाग्छ । पोखरीसम्मै सडक यातायातको सुविधा छ । बिर्तामोडको मुक्तिचोकदेखि मात्र ३ किलोमिटरको दूरीमा पोखरी छ । पोखरीमा परापूर्वकालदेखि पूजा गर्दै आएको ग्रामकालीको थान छ । शिवालयको मन्दिर तथा सभाहल छ । चारैतिरको डिलमा पुराना तथा सौन्दर्य झल्काउने बोटबिरुवा छन् ।


सरकारी निकायले देखेसुनेर पनि चासो नदिँदा विराटपोखरीको विकास गर्न नसकेको विराट सरोवर विकास समितिका अध्यक्ष इन्द्रप्रसाद प्रसाईंले बताए । उनले पोखरीको विकास तथा प्रवर्द्धनका लागि अहिलेसम्म राज्यको कुनै निकायबाट पहल नभएको गुनासो गरे ।


‘यो पोखरीको धार्मिक महत्त्व र ऐतिहासिकताको चर्चा गरेर धेरै ठाउँमा पहल गर्‍यौं । तर, कुनै निकायबाट बजेट ल्याएर पोखरीको विकास गर्न सकेका छैनौं,’ अध्यक्ष प्रसाईंले भने । उनले बिर्तामोड नगरपालिकाका लागि धार्मिक एवं पर्यटकीय स्थलका रूपमा विराटपोखर ऐतिहासिक र प्रमुखस्थल भए पनि नगरपालिकाले चासो नदिएको गुनासो गरे ।


‘यसको धार्मिक महत्त्व र ऐतिहासिकतालाई बेच्न सक्ने हो भने यो पोखरी बिर्तामोडको प्रमुख आकर्षणको केन्द्र बन्न सक्छ,’ उनले भने, ‘तर बिडम्बना, नगरपालिकाले यसतर्फ चासो नै देखाएको छैन ।’ उनले पोखरी संरक्षणका लागि वडा कार्यालयले चालु वर्ष ३ लाख विनियोजन गरेको जानकारी दिए ।


स्थानीय केशव पाठकले विराटपोखरीको विकास ३/४ लाख बजेटले सम्भव नरहेको बताए । उनले भने, ‘यो पोखरीको इतिहास र महत्त्व जति छ, त्यसका आधारमा बृहत् रूपमा गुरुयोजना बनाएर अघि बढ्नुपर्छ ।’ उनले पोखरीको विकासका लागि विभिन्न समयमा स्थानीय निकायदेखि मन्त्रालयसम्म धाए पनि कुनै योजना नपरेको बताए ।


उनले नगरको गहनका रूपमा विराटपोखरी भए पनि नगरपालिकाले अझैसम्म चासो नराख्नु थप दुखद् भएको बताए । स्थानीय मोहन उप्रेतीले पोखरीको विकास नहुँदा यसको धार्मिक तथा ऐतिहासिक महत्त्व मासिँदै गएको बताए । राज्य पक्षबाट ठोस विकासको कुनै योजना नपरेपछि समितिकै प्रयासमा केही वर्षअघि एउटा गुरुयोजना बनाउने काम भएको थियो । तर, आधुनिक एवं विस्तृत नहुँदा उक्त गुरुयोजना पनि अहिले अलपत्र बनेको छ । विराटपोखरीमा अहिले पनि दैनिक करिब एक सयको हाराहारीमा मानिसहरू घुम्न जाने गरेका छन् ।


शिवालय मन्दिरमा दैनिक पूजापाठ हुन्छ । स्थानीयकै पहलमा गत वर्ष पोखरीमा प्लम्बिङ गर्ने गरिएको थियो । दुई वर्षअघि पर्यटन कार्यालय काँकडभिट्टाको ५ लाख सहयोगमा प्रवेश द्वार र थोरै घेराबारा गरिएको छ । बजेट अभावमा पोखरीमा शौचालय छैन । स्वच्छ खानेपानीको व्यवस्था छैन । आगन्तुकहरूका लागि पर्याप्त फलैचा छैन ।


तीनै तहको सरकारले चासो नदेखाएपछि पोखरीको रेखदेख तथा संरक्षणमा स्थानीय आफैं जुटेका छन् । विराट सरोवरको नेतृत्वमा शनिबार विर्ता सामुदायिक प्रहरी सेवा केन्द्र, एमकेके ग्रुप, नेप्लिज टिन्स, विराट ज्योर्तिङ्ग समावेशी किर्तन मण्डली र अस्थायी प्रहरी चौकी विर्ताबजारले पोखरी सरसफाइ गर्‍यो ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?