कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दुई महिनामै ८० आवेदकको राहदानी फारम फिर्ता

जितेन्द्र साह

विराटनगर — राहदानी विभागले जिल्ला प्रशासन कार्यालय मोरङलाई पुस र माघमा गरी ८० आवेदकको राहदानी फारम फिर्ता पठाएको छ । फारम नमिलेको भन्दै विभागले सेवाग्राहीलाई मोबाइल एसएमएस पठाइ सम्बद्ध जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न भनेको छ ।

दुई महिनामै ८० आवेदकको राहदानी फारम फिर्ता

अधिकांशमा तोकेको मापदण्ड अनुरूप फोटो र फारमको आकार नमिलेको एवं विवरणको स्पेलिंगमा गल्ती भएकोले विभागले फर्काएको उक्त कार्यालयको राहदानी फाँटका प्रमुख कमलेश कोइरालाले बताए । उनका अनुसार सम्पर्कमा आइरहेकालाई पहिलेकै दस्तुरमा पुनः फाराम भर्न लगाइएको छ ।

'दुई महिनाभित्रै यति धेरै फारम फिर्ता भएको यो अहिलेसम्मकै सबैभन्दा बढी हो,'उनले भने । कोइरालाको अनुसार विभिन्न कारणले वार्षिक १ सय २० देखि १ सय ५० जना आवेदकको फाराम फिर्ता आएको पाएका छौँ । विभागले दुई महिनामा फर्काएको राहदानी फारम मध्ये आदिभन्दा बढी मोरङको रंगेली नगरपालिकाबाट आएको फाँटका खरदार जमुना सिग्देलले बताइन् ।

सेवाग्राहीले आफूले नागरिकता बनाएको थलोमा रुजु गराएपछि राहदानी विभागको अनलाइनमा राखिएको फारम भरेपछि दस्तुर तिरी जिल्ला प्रशासन कार्यालयमा बुझाउँछन् ।


इलाका र जिल्ला प्रशासन कार्यालय वरिपरिको फोटो स्टुडियो, फोटोकपी सेन्टर एवं स्टेसनरीमा सेवाग्राहीले पैसा खर्चेर राहदानी फारम भराउँछन् । सेवाग्राहीहरुले यसका लागि न्यूनतम दुई सयदेखि ५ सय रुपैयाँसम्म बुझाउँछन् । 'सबैका घरमा कम्प्युटर र प्रिन्टर हुँदैन,'सिग्देलले भनिन्,'अदक्ष व्यक्तिले अनलाइन फारम भर्दा एवं तस्बिर खिच्दा त्रुटि भएर सेवाग्राहीले दुःख पाउँछन् ।'


मोरङका सहायक प्रमुख जिल्ला अधिकारीले उमेश पाण्डेले इलाका प्रशासन कार्यालय रंगेलीका प्रशासकीय अधिकृत जयप्रकाश बस्नेतको तत्कालै ध्यानाकर्षण गराएका छन् । सेवाग्राहीले दुःख पाइरहेको हुनाले मापदण्ड नपुरयाइ फारम भरेर पठाउने पसलेहरूलाई बोलाएर सम्झाइरहेको उनले भनेका छन् ।


'मेरोमा रुजु गर्न आउनेलाई विराटनगरमा कुशल प्राविधिककोमा सम्पर्क गरी अनलाइन फारम भर्नलाई बारम्बार भन्छु,' बस्नेतले भने,'मान्दैनन्, सजिलो हुन्छ भनेर जथाभावी फारम भराएर दुःख पाउँछन् ।' इलाका प्रशासन कार्यालय छेउछेउमा राहदानीको अनलाइन फारम भर्ने दुई वटै पसलका सञ्चालकलाई बोलाएर मापदण्ड अनुरूप काम गर्न निर्देशन दिइसकेको उनले बताए ।


जिल्ला प्रशासन कार्यालयमा फारम सहित ५ हजार रुपैयाँ दस्तुर बुझाएपछि सेवाग्राहीले ३५ दिनभित्रमा राहदानी पाउँछन् । विभागमा भने १५ हजार रुपैयाँ दस्तुर बुझाएमा एकै दिनमा समेत पाइन्छ ।

जिल्ला प्रशासन कार्यालय मोरङमा दैनिक औसत ४० जनाले यहीबाट राहदानी पाउने गरी र २० जनाले काठमाडौँबाट निकाल्ने गरी द्रुत सिफारिस लिने गरेको फाँटका अधिकृत कोइरालाले बताए ।

प्रकाशित : फाल्गुन १२, २०७५ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?