१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मेची–महाकाली यात्रा

कान्तिपुर संवाददाता

ताप्लेजुङ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले माओवादी आन्दोलन फेरि उठ्ने आशंका व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी ओलीलाई बुझाएको २२ बुँदे ज्ञापन पत्र कार्यान्वयनमा दबाब दिने उद्देश्यले सुरु भएको मेची–महाकाली यात्रा शुभारम्भ गर्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन् ।

मेची–महाकाली यात्रा

आफ्नो पार्टीका केन्द्रीय नेतालाई लिएर आएका अध्यक्ष थापाले मुलुकलाई विखण्डनबाट जोगाउन सम्भावित द्वन्द्वबाट मुक्त गराउन र समृद्ध मुलुक बनाउन फरक ढंगले लाग्नुपर्नेमा जोड दिए । सरकारले आफूहरूको मागलाई बेवास्ता गरे चैतदेखि संघर्ष गर्ने थापाको चेतावनी छ । उनले यो यात्रा कुनै जाति, भाषाभाषी वा पार्टीको विरुद्धमा नभएको बताए ।


अब नेपाली परिवेश सुहाउँदो नेपाली राजनीतिको मध्यमार्गी बाटो अवलम्बन गर्नुपर्ने उनको जोड छ । गाई, स्वयम्भूको प्रतीक समेत गाडीमा लिएर आएका थापाले नेपालको नक्सामा पूजा गरेर यात्रा सुरु भएको घोषणा गरेका थिए ।


घुमीफिरी रुम्जाटार भनेजस्तो फेरि माओवादी द्वन्द्व सुरु हुन लागेको उनले दाबी गरे । केही दिनअघि एनसेलको टावरमा भएको आक्रमण यस्सको संकेत भएको उनको बुझाइ छ । देश टुक्र्याउने विरुद्ध प्रशासन मौन रहेको उनले आरोप लगाए ।


‘राजनीतिक दलको अदूरदर्शिता अकर्मण्यताका कारण पहिलोपटक राष्ट्र विखण्डनको आवाज उठेको छ,’ थापाले थपे, ‘म प्रधानमन्त्रीलाई प्रश्न गर्छु, तपाईंले हिजोको दिनमा कहिल्यै नझुक्ने दृढता व्यक्त गर्नुभयो, त्यही भएर जनताले दुई तिहाइ बहुमत दिए । तर कुन शक्तिको दबाब र प्रभावले गर्दा केपी ओली निरीह र लाचार बन्नुभएको छ ?’


तराईलाइ स्वतन्त्र भन्दा सरकारको प्रशासन यन्त्र किन मौन बस्यो भन्दै उनले प्रश्न गरे । इतिहासमा विभिन्न राजनीतिक परिवर्तन भएर व्यवस्था फेरिए पनि देश टुक्र्याउने आभाष कहिल्यै नभएको उनले दाबी गरे ।


राष्ट्र विखण्डन, माओवादीको पुनरावृद्धि धार्मिक आक्रमणका कारण मुलुकमा समस्या पैदा भएको राप्रपाको बुझाइ छ । जनताका झुपडीमा बसेर परिवर्तनका नाममा मकै भटमास खाएका नेताहरू रातारात करोड/अरबपति भएको भन्दै थापाले २०४७ सालपछिको सम्पत्ति छानबिन गर्न आफ्नो पार्टीले माग गरेको बताए । त्यसअघिका नेता तथा प्रशासन यन्क्रका व्यत्तिहरू दिवंगत भइसकेका र बाँकी रहेकाहरू पनि राजनीतिक रूपमा दोहोरिएकाले ४७ सालपछिको मात्रै कुरा उठाइएको सांसद राजेन्द्र लिङदेनले प्रस्टीकरण दिए ।


नेताहरू औषधोपचारका लागि सिंगापुर, जापान अमेरिका जाने तर जनता भने सिटामोल खान नपाएर र सुत्केरी महिलाले उपचार नपाएर मृत्युवरण गर्नुपर्ने क्रमको अन्त्य हुनुपर्नेमा थापाको जोड थियो ।

प्रकाशित : फाल्गुन १६, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?