कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

हिउँ खेल्नेको भीड

वसन्तपुर र तीनजुरेमा सुनसरी, धरानबाट आउनेको घुइँचो
पर्यटकले होटल र लज खचाखच
चन्द्र कार्की

तेह्रथुम — हिमपातपछि पूर्वबाट पर्यटक आएर वसन्तपुर र तीनजुरे क्षेत्रमा भीडभाड बढेको छ । जिल्लामा यो वर्ष पाँचौँ पटक हिमपात भएको छ । हिमपातपछि जिल्लाका डाँडाकाँडा सेताम्मे देखिएका छन् । सुनसरीको धरानबाट मात्र ३ घण्टाको दूरीमा रहेको पर्यटकीय क्षेत्र बसन्तपुरमा हिउँ खेल्न बिहीबार अपरान्हदेखि नै धेरै आन्तरिक पर्यटक आएका छन् ।

हिउँ खेल्नेको भीड

हिउँ हेर्न र हिउँमै खेल्न आएका आन्तरिक पर्यटकले पटेकडाँडादेखि मिल्के भञ्ज्याङसम्मका सडक र डाँडाकाँडा भरिभराउ भएको संखुवासभाको मादी नगरपालिकाका मेयर विदुर लिङथेपले बताए ।


वसन्तपुर क्षेत्रमा परेको बाल्लो हिउँमा खेल्न धरान ८ बाट एक युवाहरूको समूह बसन्तपुरसम्म आइपुगेको छ । उनीहरू दिनभर पटेकडाँडा क्षेत्रमा जमेको बाल्लो हिउँमा आपसमा खेलेर रमाइलो गरिरहेका थिए । उनीहरू बिहीबार बेलुकीसम्म पनि यतैतिर हिउँको विभिन्न आकृति बनाएर रमाइरहेका छन् ।


‘पहिलोपटक हिउँ देखेको साह्रै रमाइलो भयो,’ समूहमा हिउँ खेल्न आएका निमेस तामाङले भने । उनीहरू हिउँ देख्ने वित्तिकै सेल्फी तस्बिर खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका देखिन्थे । शनिबार बेलुकीसम्म अन्य दिनको तुलनामा १० गुणा बढी सवारी पूर्वी तराईबाट आएको जिल्ला ट्राफिक प्रमुख सुवास केसीले बताए ।


बाक्लो हिउँ परेपछि स्थानीय पर्यटन र होटल व्यवसायीहरू निकै उत्साहित देखिएका छन् । जिल्लामा एक्कासी बढेको हिउँ पर्यटनका कारण होटल व्यवसायमा अत्यधिक कारोबार भइरहेको छ । सडकदेखि डाँडापाखा र जंगलसम्म नै आन्तरिक पर्यटकको चहलपहललाई देखेर होटल व्यवसायमा केही उत्साह थपिएको होटल बसन्तपुर भ्युका सञ्चालक प्रकाश श्रेष्ठले बताए ।


पछिल्लो समय नेपालीहरूमा घुम्ने संस्कृतिको विकास भएकोमा उनी निकै खुसी देखिन्थे । तेह्रथुम आफैंमा सुन्दर र पर्यटकीय आकर्षण भएको जिल्ला हो । यहाँका उच्च क्षेत्रमा प्रत्येक वर्ष जसो हिउँ पर्ने गर्छ । बाक्लो हिउँ भने यो वर्ष परेको हो । यसअघि सामान्य मात्रामा हिउँ पर्ने गरेको थियो ।


पूर्वी तराई र भारतको विहारबाट नजिकको दूरीमा रहेको तीनजुरे मिल्के जलजले क्षेत्रमा हिउँ खेल्नका लागि बिहीबार मात्र १० हजारभन्दा बढीको संख्यामा आन्तरिक र भारतीय पर्यटक आएको पर्यटन विकास तथा प्रवर्द्धन समिति सदस्य समेत रहेका होटल व्यवसायी श्रेष्ठको भनाइ छ ।


हिउँमा खेल्न आन्तरिक पर्यटकहरू कोही जिप भाडामा लिएर, कोही मोटरसाइकल र कोही सोही रुटमा चल्ने बसमा यात्रा गरेर आएका छन् । हिउँ र प्रकृतिसँग रमाउन, तीनजुरे डाँडामा रहेको पाथीभरा मन्दिर दर्शन गर्न, तस्बिर खिच्न, फिल्मको सुटिङ गर्न र घुमफिर गरेर रमाउन हजारौं पर्यटक यहाँसम्म आउने गरेको प्रदेश सांसद लक्ष्मण तिवारीले बताए ।


यहाँसम्म आउने पर्यटकका लागि भने पर्याप्त होटल तथा लजहरू भने छैनन् । हिउँमा रमाउन ठूलो संख्यामा आएका पर्यटकहरू आफूले रोजे जस्तो होटल र खाना नास्ता नपाउँदा भने खिन्न देखिन्थे ।


पटेकडाँडादेखि मिल्के जलजले क्षेत्रको करिव ५ दिन पैदल दूरीको पर्यटकीय क्षेत्रमा स्तरीय र पर्याप्त होटलहरू नहुँदा भने यहाँ आउने पर्यटकले वर्षेनी समस्या भोग्दै आएको अर्का पर्यटन व्यवसायी धर्मराज खड्काले बताए । यहाँका गुफापोखरी, चौकी, मिल्के, जलजले, मुडेशनिश्चरे, लसुने तीनजुरे, पटेकडाँडा, मार्गापोखरी लगायतका पर्यटकीय स्थलहरू पर्यटकहरूको पर्खाइमा छन् ।


यहाँका तीनजुरे, पटेकडाँडा, मेन्छ्यायाम डाँडा लगायतका स्थानबाट सूर्योदय, सूर्यास्त र हिमालको सुन्दर दृश्य देखिन्छ । यहाँबाट कुम्भकर्ण, मकालु, कञ्चनजंघा, सगरमाथा लगायतका हिमशृंखला लगायतका हिमाली दृश्यको अवलोकन गर्न सकिन्छ ।


यहाँसम्म आउने पर्यटकले फर्किएर जाँदा चौंरीको छुर्पी, चिज, चौंरीको घ्यु, लेकाली फलफूलको वाइन, गुराँसको जुस, ढाका कपडा, खाँडीको कपडा, खुकुरी, लोकल कुखुरा, सुकुटी लगायतका कोसेली लैजान सक्छन् । हिउँ पर्यटन जिल्लाको आर्थिक समृद्धिसँग जोडिएको प्रदेश सांसद तिवारीको भनाइ छ ।


हिउँमा खेल्न र हेर्न आउनेहरूका कारण यहाँका होटल तथा लजहरू भरिभराउ भएको बसन्तपुरकै ठूलो याक होटलका सञ्चालक पेम्बाछिरिङ भोटीयाले बताए । पर्याप्त होटल नहुँदा आएका सवै पर्यटकलाई बास बसाउन र खुवाउन समस्या भएको होटल व्यवसायीको भनाइ छ ।


हिमपातले गर्दा धनुकटाको महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाउँपालिका, तेह्रथमुमको लालीगुराँस नगरपालिका, छथर गाउँपालिका, संखुवासभाको धर्मदेवी नगरपालिका, मादी नगरपालिका लगायतका स्थानमा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा भारी वृद्धि भएको छ ।


हिउँं खेल्नकै लागि पर्यटकको संख्यामा वृद्धि भएको र यहाँका होटलहरू व्यवस्थित नहुँदा अधिकांश पर्यटकहरू अलपत्र परेका छन् ।

प्रकाशित : फाल्गुन १७, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?