३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सडक निर्माणले महानगर अस्तव्यस्त

देवनारायण साह

मोरङ — बैकल्पिक बाटोको व्यवस्था नगरी यत्रतत्र सडक निर्माण गरिँदा विराटनगर महानगरमा समस्या भएको छ । स्थानीयले हिँडडुल गर्न सास्ती भोग्नु परेको छ । महानगरपालिका कार्यालय जाने तीनपैनी–ट्राफिक चोक सडकमा ढल र नाला निर्माणका लाागि सडक खनिएका छन् ।

सडक निर्माणले महानगर अस्तव्यस्त

महानगरको उत्तरतर्फको शनिहाट चोक जाने दक्षिणतर्फको गोल्छा चोकबाट जिल्ला प्रशासन कार्यालय जाने सडकमा पनि ढल, नाला निर्माणका लागि खनिएको हो । शनिहाट चोकदेखि कोशी अञ्चल अस्पताल जाने सडक पनि खनिएको छ । महानगरस्थित उत्तर दक्षिण कोशी राजमार्गमा ६ लेन सडक निर्माण काम पनि भइरहेको छ ।


महानगरस्थित उत्तर दक्षिण जोड्ने कोशी राजमार्ग, कलेज रोडदेखि पुष्पलाल चोक, रोडशेष चोकदेखि पुष्पलाल चोक र अस्पताल चोकबाट तीनपैनी चोक निस्किने सडक अस्तव्यस्त छन् । महानगरले अहिले मूल बजार क्षेत्रको सबै सडक खनेर ढल र नाला निर्माणको काम सुरु गरेकाले महानगरबासी सास्ती भोग्न बाध्य छन् ।


विराटनगर १४ का अरबिन्द मण्डलले महानगरस्थित मूल बजार क्षेत्रमा पैदल हिँडेर जान पनि अहिले समस्या रहेको गुनासो पोखे । ‘महानगरले एकपछि अर्को सडक बनाउनुको साटो एकै पटक चौतर्फी निर्माण थालेको छ,’ उनले भने, ‘यसरी अव्यवस्थित विकासले महानगरबासीलाई दुःख दिने काम भएको छ ।’


स्थानीय बिमल खडकाले महानगरले विकास निर्माणको काम गर्नु राम्रो हो तर विकास निर्माणको नाममा जनतालाई दुःख दिनु उचित नभएको बताए । ‘एकै पटक चौतर्फी सडक खनेर पैदल हिँड्न पनि समस्या बनाइदिनुपर्छ ?’ उनले भने, ‘यसलाई महानगरको अव्यवस्थित विकास भन्नै पर्छ ।’


स्थानीय सबिता राईले विराटनगरको मूल बजार क्षेत्रमा चौतर्फी एक्जाभेटरले नाला र ढलका लागि खनिएकाले साना नानीहरूलाई लिएर मार्केटिङ गर्न जान सकिने अबस्था नरहेको गुनासो पोखिन् । महानगरमा अहिले सघन सहरी विकास परियोजनाअन्तर्गत २ अर्ब ६१ करोड १० लाख ९२ हजार २ सय ९४ रुपैयाँ लागतमा सडक, ढल र नाला निर्माणको काम चाइनाका झोङहेङ कन्स्ट्रक्सन ग्रुप बेइजिङले गरिरहेको छ । २०७४ मंसिर ११ गतेबाट निर्माण काम सुरु गरेका निर्माण कम्पनीले २ वर्षभित्र ७४ किलोमिटर सडक, ४६ दशमलव ८३ किलोमिटर ढल र नाला निर्माण गर्ने सम्झौतामा उल्लेख छ ।


निर्माण कम्पनीले हालसम्ममा ४०/४५ प्रतिशत काम पूरा गरेको सहरी विकास परियोजना समन्वय एकाइका उपव्यवस्थापक प्रकाश नारायण चौधरीले बताए । फागुन २८ देखि सहिद रंगशालामा हुने साफ च्याम्पियन महिला फुटबल प्रतियोगितालाई लक्षित गरी महानगरस्थित मूल बजार क्षेत्रमा एक साथ निर्माण काम अघि बढाएको बताए । ‘महानगरस्थित जेनियल, इस्टर्न स्टार, रत्ना र बिग होटेलमा खेलाडीहरू बस्ने भएकाले ती होटेलहरूबाट सहिद रंगशालासम्मका सम्पूर्ण सडक निर्माण गरिरहेका छौं,’ उनले भने, ‘सडक निर्माणका लागि प्रदेश सरकार र महानगर दुबैको दबाब रहेकोले एक साथ निर्माण गरिरहेका छौं ।’


जसरी पनि फागुन २८ भित्र उक्त सडकहरू कालोपत्रे गरिसक्नुपर्ने भएकोले महानगरबासीको सुविधालाई ख्याल नगरी एकसाथ निर्माण काम अघि बढाएको स्विकारे । ‘निर्माण काम सुरु गर्नु अघि नै निर्माण कम्पनीले कामको सेडुल कन्सल्ट्यान्टलाई दिन्छ,’ उनले भने, ‘उक्त सेड्युल अनुसार कन्सल्ट्यान्टले काम गराइरहेको र हामी समन्वय गरिदिने काम मात्रै गरिरहेका छौं ।’


उनले फागुन २८ सम्ममा सबै सडक कालोपत्रे हुने कठिन रहेकोले निर्माण कम्पनीले तीव्र गतिमा महानगरबासीको सुविधालाई ख्याल नगरी काम गरिरहेको सुनाए । महानगर प्रमुख भीम पराजुलीले एकसाथ भइरहेको विकास निर्माणको कामले महानगरबासीमा पर्न गएको असुविधाका लागि सामाजिक सञ्जालमार्फत क्षमायाचना मागेका छन् ।

प्रकाशित : फाल्गुन २०, २०७५ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?