१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सोलार सिँचाइको माग

अर्जुन राजवंशी

दमक — सिँचाइ प्रणालीको व्यवस्था नहुँदा धान सुपर जोन क्षेत्रमा सौर्य सिँचाइ प्रणाली (सोलार पम्प) को माग बढेको छ । सुपर जोन क्षेत्रमा किसानले तीन बालीसम्म खेती गर्न थालेपछि सौर्य सिँचाइको माग पनि बढेको हो ।

सोलार सिँचाइको माग

सुपर जोन क्षेत्रमा सिँचाइको कुनै व्यवस्था छैन । यसअघि किसान आकाशे पानीको भरमा खेती गर्दै आएका थिए । सौर्य सिँचाइको व्यवस्था भएपछि किसान हिउँदमा पनि खेती गर्न व्यस्त छन् ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनअन्तर्गत धान सुपर जोन कार्यान्वयन इकाइ कार्यालय बनियानीले सौर्य सिंचाइको व्यवस्था गरेको हो । सौर्य सिँचाइबाट किसानलाई खेती गर्न पुग्नेगरी पानीको उपलब्धता भएपछि सुपर जोन क्षेत्रमा यो बर्षदेखि तीन बाली धान खेती गरिदैछ । सुपर जोन कार्यान्वयन रहेको कचनकवल गाउँपालिकाका किसानले यो बर्ष २ सय बिघाभन्दा बढीमा बोरो धान लगाएका छन् ।


अहिले फेरि किसान चैत धान रोपाइँमा जुटेका छन् । यो बर्ष ७ सय हेक्टरभन्दा बढी जमिनमा चैते धान लगाउने कार्यालयको अनुमान छ । कार्यालयले ८५ प्रतिशत अनुदानमा यो बर्ष कचनकवल क्षेत्रका १३ वटा कृषि समूह तथा सहकारीलाई सौर्य सिंचाइ (सोलार पम्प) वितरण गरेको छ । कार्यालयले तयार गरेको मापदण्डमा रही १३ वटा समूह, सहकारीलाई २० वटा सोलार पम्प वितरण गरेको कार्यालयका कृषि विकास अधिकृत सागर विष्टले जानकारी दिए ।


धान सुपर जोन कार्यान्वयनमा रहेको कचनकवल क्षेत्रको साना किसान कृषि सहकारी संस्था, अमरावती कृषि सहकारी संस्था र नौलो भविष्य साना किसान कृषि सहकारी संस्थालाई ३/३ वटा, लालीगुराँस कृषि समूहलाई २ वटा तथा हरित कृषि समूह, धनलक्ष्मी कृषि समूह, आदर्श कृषक समूह, गरिब नवाज कृषक समूह, नुरी इस्लाम कृषक समूह, जुनेली कृषि सहकारी संस्था र बनियानी कृषि सहकारी संस्थालाई एकएक वटा गरी २० वटा सोलार पम्प भर्खरै जडान गरिसकेको विष्टले जानकारी दिए ।


सिँचाइको उपलब्धताका कारण कृषक खेती गर्न इच्छुक देखिएकाले सौर्य सिंचाइ जडानलाई प्राथमिकताका अघि बढाएको कार्यालय प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत धनबहादुर थापाले बताए । सोलार पम्प जडानका लागि कार्यालयले यो वर्ष एक करोड रुपैयाँ खर्च गरेको छ । कार्यालयले गत बर्ष सोलार पम्पमा २५ लाख रुपैयाँ खर्चिएको थियो ।


‘सौर्य सिँचाइमा गत बर्ष थोरै बजेट थियो । पहिलो पटक भएकाले पनि गत बर्ष हाम्रोतर्फबाट ५ वटा मात्र सोलार पम्प जडान गर्‍यौं’ विष्टले भने,‘तर, ती सोलार पम्पबाट किसानलाई खेती गर्न निकै सहज भएपछि यो बर्ष सोलार पम्प जडान गरिदिन भन्दै किसानको माग पनि बढ्यो । त्यसैले हामीले सुपर जोन क्षेत्रको अधिकांश जमिनमा सिंचाइ पुग्नेगरी थप २० वटा सोलार पम्प जडान गर्‍यौं ।’ एउटा सौर्य सोलार पम्पले करीब १० बिघासम्म जमिनमा सिँचाइ सुविधा पुग्ने गरेको किसानको भनाई छ ।

प्रकाशित : फाल्गुन २१, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?