कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सुक्खा बस्तीमा खानेपानी

विप्लव भट्टराई

इलाम — माङसेवुङ चतुरेकी कविता राई अचेल फुर्सदिली छिन्  । दिनरात खानेपानी जोहो गर्दा अरू काम नै भ्याउन मुस्किल हुने उनलाई घर नजिकै धारामा नियमित पानी झर्न थालेपछि हैरानी घटेको मात्र होइन नियमितको हापझाप पनि टुङगिएको छ  ।

सुक्खा बस्तीमा खानेपानी

गाउँकै पाका ८० वर्षीय टीकाराम वार्ताम राईको पनि खुसीको सीमा छैन । बच्चादेखि नै पानीको संकट खेपेका उनी आफैं निर्माण उपभोक्ता समितिको अध्यक्ष भएर गाउँलेलाई पानी खुवाउन पाएको सन्तुष्ट भएका हुन् । एक गाग्री पानीकै लागि घण्टौ खर्चने यो गाउँका अधिकांश यतिबेला घरघरमा पानी पुगेपछि दंग छन् ।

‘पिउने पानी नभएकै कारण घरायशी समस्यादेखि दिक्क भएर बसाइ सर्ने पनि छन् यो गाउँमा,’ स्थानीय डेबिड सुनुवारले भने, ‘अब पानी पिउनसँगै सुक्खायाममा हरियो परियो खान पनि पाइने भो ।’ माङ्सेबुङ गाउँपालिकाको ३ नम्वर वडाको चुतरे आसपास नजिक पानीको स्रोत नहुँदा वर्षौंदेखि स्थानीयले सास्ती झेल्नुपरेको थियो । तर ब्रिटिस गोर्खाहरूको संस्था कादुरी एग्रिकल्चर एड एसोसिएसन र स्थानीय उपभोक्ताको पहलमा खानेपानी योजना सम्पन्न भएको हो ।


कादुरीले यो खानेपानी आयोजनाका लागि ४० लाख ३१ हजार रुपैयाँ खर्च गर्यो । त्यस्तै उपभोक्ताले १९ लाख ३४ हजार रुपैयाँबराबरको योगदान गरे । गाउँ टाढाको सिमसारे मुहानबाट खानेपानी ल्याइएको हो । ‘पानी नभएकैले होटल व्यवसाय सञ्चालनमा ठूलो कष्ट झेल्नुपरेको थियो,’ उपभोक्ता समितिका सचिवसमेत रहेका फोमी भ्यू रेस्टुरेन्टका सञ्चालक पूर्णबहादुर राई (रोशन) ले भने, ‘२ सय मिटर तलबाट मोटरले तानेर काम चलाउनुपरेको थियो ।’

आफ्नो उपभोगसँगै घरपालुवा पशुलाई समेत पानी खुवाउन समस्या झेलेका स्थानीयले पानी आउने पक्का भएपछि मन फुकाएर नगद र श्रमदान खर्चिर्एका थिए । पानीकै अभावमा गाउँपालिका भवन निर्माण हुन नसकेको जनाउँदै अब भवन बनाउन कठिन नभएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए । पिउने पानी आएपछि ७० घरधुरी प्रत्यक्ष लाभान्वित भएका हुन् ।

९ हजार १ सय ६३ मिटर पाइपलाइन बिछ्याइएको आयोजना अन्तर्गत १/१ वटा इन्टेक, फिल्टर टेंक, ३ वटा रिर्जभ टेंक, २ वटा डिस्टिब्युसन टेंक निर्माण भएका छन् । ३० वटा स्थायी धारामार्फत नियमित पानी आउने व्यवस्था मिलाइएको छ । एक कार्यक्रमबीच कादुरीका डेपुटी डाइरेक्टर कृष्ण गुरुङ र गाउँपालिका अध्यक्ष इदिङ्गोले योजना उद्घाटन गर्दै समुदायलाई हस्तान्तरण गरे ।

‘त्यसै पनि विकट मानिने यो क्षेत्रमा पानीको पनि संकट भएपछि स्थानीयलाई बसोबास गर्नै कठिन थियो,’ वडाध्यक्ष मैतराज राईले भने, ‘मुख्य समस्याको रूपमा रहेको खानेपानी व्यवस्थापन भएपछि अब अरू काम गर्न सहज भएको छ ।’ धेरै रकम खर्च हुने भएपछि स्थानीय प्रयास मात्रै सम्भव नभएको अवस्थामा कादुरीले सहयोग गरेपछि कठिन मानिएको काम सकिएको उनले बताए ।


यो खानेपानी जडान भएपछि स्थानीय जीवन ज्योति माविका विद्यार्थीलाई पिउने पानीको कष्ट हटेको छ । त्यस्तै यो विद्यालयमा ३ कोठे चर्पी पनि कादुरीको ८ लाख १० हजार र उपभोक्ताले १२ हजार बराबरको श्रमदान गरेर निर्माण गरेका छन् ।

प्रकाशित : फाल्गुन २२, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?