कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सुख्खा क्षेत्रमा खानेपानी योजना

चन्द्र कार्की

तेह्रथुम — सरकारले पाँचथरको सुख्खाग्रस्त क्षेत्रका स्थानीयलाई खानेपानीको सुविधा उपलब्ध गराउन तयारी थालेको छ । पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकाका सात वडाका २२ हजार ७० जनसंख्यालाई खानेपानीको सुविधा उपलब्ध गराउन सरकारले ९६ करोड ५० लाख २२ हजार रुपैयाँ बजेट छुट्याएर काम अघि बढाएको हो । 

सुख्खा क्षेत्रमा खानेपानी योजना

दुबै स्थानीय तहमा रहेका स्थायी पानीका मुहानसमेत सुकेर पिउने पानीको हाहाकार हुन थालेपछि सरकारले यति धेरै रकम खर्च गरेर खानोपानी आयोजना सञ्चालनको तयारी थालेको हो । सरकारले कुम्मायक र तुम्बेवा गाउँपालिकामा ठुला लिफटिङ र पम्पिङ आयोजना संचालन गरिरहेको छ ।


दुबै ठूला आयोजना अहिले निर्माणको चरणमा छन् । खानेपानीको संकट भोगिरहेका सात वडाका स्थानीयको जनसंख्या जिल्लाको कुल जनसंख्याको १० प्रतिशतभन्दा बढी रहेको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।


कुम्मायक गाउँपालिका केन्द्र यासोकमा निर्माण भैरहेको यासोक खानेपानी आयोजना निर्माणको चरणमा छ । ०७४ पुस १५ भित्रमा निर्माण कार्य सम्पन्न गरीसक्नु पर्ने आयोजनाको काम परामर्शदाताको ढिलाइका कारण योजनाको लागत अनुमानमा पहुँच सडक निर्माणको योजना समावेश नहुँदा र पानीको मुहान यकिन हुन नसक्दा उत्पन्न विवादले निर्माण कार्यमा ढिलाइ भएको अध्यक्ष चेम्जोङले बताए । ०७२ पुस १६ गते सुरु आयोजना निर्माण सम्पन्न गरिसक्नुपर्ने समय बितिसक्दा पनि निर्माणाधीन अवस्थामै छ ।


यो आयोजनाबाट कुम्मायक गाउँपालिकाका वडा १, ३, ४ र ५ का ३ हजार ४३ परिवारका १३ हजार ८ सय ४० जना लाभान्वित हुनेछन् । तमोर नदीको लोरिपा दोभानमा मुल ट्याङकी निर्माण गरी विद्युतीय पम्पिङ प्रविधिबाट माथि रहेका सात वटा लिफ्टिङ ट्याङकीमा पानी पठाइने आयोजनाका इन्जीनियर रविन्द्र रायले बताए । प्रेरा स्वामी नारायण जेभी ललितपुरले प्रसारण लाइन निर्माणको जिम्मा लिएको छ ।


वितरण लाइनको काम कन्काई(महादेव खिम्ती(स्वामी नारायण जेभी सुनसरीले लिएको छ । ०७३ फागुन ६ गते सम्झौता गरेको कम्पनीले आगामी फागुन ५ सम्ममा पाइप वितरण लाइनको काम सम्पन्न गर्नुपर्ने समयसीमा छ तर निर्धारित समयमा काम सम्पन्न गर्न नसकिने उपभोक्ता समितिका महासचिव अमरसिंह थापाले बताए । पाइप लाइन विस्तारको काम २० प्रतिशत बाँकी नै रहेको छ । आगामी वैशाख महिनासम्ममा निर्माण कार्य सम्पन्न गरिसक्ने गरी काम भइरहेको थापाले बताए ।


सरकारले २०६८ सालमा साविकका यासोक, स्याबरुम्बा र रानीगाउँ गाविसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । साविकका आङ्ना र मौवा गाविसमा खानेपानीको समस्या समाधानका लागि दुबै क्षेत्रमा अर्को खानेपानी आयोजनाको निर्माण भइरहेको छ । यो आयोजनाबाट तुम्बेवा गाउँपालिकाको वडा १, २ र ३ का १ हजार ६ सय ४ घरधुरीका ८ हजार २ सय ३० जनालाई स्वच्छ खानेपानी सुविधा पुग्ने गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए ।


आयोजना निर्माणको जिम्मा कन्काई(प्रेरा जेभी काठमाडौंले पाएको छ । ०७३ असार २५ गते निर्माण सम्झौता गरेको कम्पनीले ०७६ पुस २५ सम्ममा निर्माण कार्य सम्पन्न गरिसक्ने समयसीमा पाएको छ । सात वटा लिफटिङ ट्याङकीमार्फत विद्युतीय पम्पिङ प्रविधिबाट एक ट्याङकीबाट अर्को ट्याङकीसम्म पानी पुर्‍याइने आयोजनाले जनाएको छ । यो आयोजनाको काम २५ प्रतिशत सम्पन्न भएको उपभोक्ता समिति अध्यक्ष देवेन्द्र खत्रीले बताए ।


पानी जम्मा हुने पाँच वटा लिफटिङ रिजर्भ ट्याङकीको निर्माण कार्य सम्पन्न भएको र अन्य सवै ट्याङकीसम्म पहुँच सडकसमेत पुर्‍याई सकिएको छ । यो क्षेत्रमा १ लाख २१ हजार ८ सय ९१ मिटर लामो पाइपलाइन बिछ्याइने आयोजनाले जनाएको छ । आगामी फागुन महिनाभित्र आ


योजना विस्तारका लागि चाहिने आवश्यक विद्युत् विस्तारको काम पनि सम्पन्न गरिसक्ने अध्यक्ष खत्रीले बताए । निर्माण भइरहेका दुबै आयोजनासँग गाउँबाट भैरहेको बसाई सराइलाई रोक्नुपर्ने जिम्मेवारी रहेको स्थानीयवासीसमेत रहेको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले बताए ।


आयोजना संचालन गर्नुको मुख्य लक्ष्य नै गाउँबाट भैरहेको बसाइँसराइ रोक्नु रहेको आङ्बोको भनाइ छ । यहाँका बस्तीबाट भइरहेको बढ्दो बसाइँसराइ दर रोक्नकै लागि प्रदेश सरकारसमेतको लगानीमा खानेपानीका योजना संचालन भैरहेका छन् ।


पानी आएपछि खुसी

कुम्मायक गाउँपालिकाको रानीगाउँका ८१ वर्षीय तिलकबहादुर सम्बाहाम्फे बुढेसकालमै भए पनि डिप बोरिङ प्रविधिबाट निकालिएको पानी पिउन पाएपछि दङग छन् । ढल्किँदो उमेरमै भए पनि घर आँगनमै आएको पानी पेटभरि खान पाएको उनले बताए । कुम्मायक–१ की सोममायाँ लावती पनि सुख्खा डाँडामा जमिन मुनिबाट निकालिएको पानी खान पाएपछि निकै खुसी छिन् ।


स्थानीय इन्द्रमाने बरछेउको मल्लिडेमा डिप बोरिङ प्रविधिबाट निकालिएको पानी उनको घरसम्म पुगेको छ । यो डाँडाबाट निकालिएको पानी गाउँका दुर्गम क्षेत्रका बासिन्दाका घर आंगनमै पुर्‍याइएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।


कुम्मायक–४ को उत्तिसेमा निकालिएको अर्को डिप बोरिङ प्रविधिको पानी यासोक बजारवासीले गत पुस २ देखि उपभोग गरिरहेका छन् । ‘जमिनमुनीबाट निकालिएको पानीले ठुलो राहत मिलेको छ,’ यासोक बजारमा झम्के गुलेली होटल सञ्चालन गर्दै आएकी पार्वती बिमलीले पानी पाएको खुसी व्यक्त गरिन् । कुम्मायक गाउँपालिकाको उत्तिसे, मल्लीडे र निगालेमा डिप बोरिङ प्रविधिमार्फत पानी निकालिएको छ ।


सुख्खा क्षेत्रका तिङदेन बजार, देवल क्षेत्र र गैरी कुवामा पनि पानी निकाल्न प्रदेश १ सरकारले अध्ययन गरिरहेको छ । पानी निकालिएको ठाउँमा २ सय देखि २ सय ४० मिटर गहिराइसम्ममा पानीको स्रोत भेटिएको छ । यी स्थानमा पानी निकाल्न प्रदेश १ सरकारले १ करोड रुपैयाँ बजेट उपलब्ध गराएको मन्त्री आङबोले बताए । यस्तै फाल्गुनन्द गाउँपालिकाको सुक्खाग्रस्त नवमी डाँडाको तल्लो क्षेत्रमा पनि पानी निकालिने तयारी भैरहेको छ ।

प्रकाशित : फाल्गुन २३, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?