कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

राजमार्ग र खोलामै क्रसर

पर्वत पोर्तेल

काँकडभिट्टा — झापामा सञ्चालित क्रसर उद्योग मापदन्ड विपरीत राजमार्ग र खोलामै निर्वाध रूपमा सञ्चालन भइरहेका छन् । खोलाको किनारभन्दा ५ सय मिटर टाढा, हाइटेन्सन लाइनभन्दा सय मिटर बाहिर, राजमार्गबाट ५ सय मिटर टाढा, शिक्षण संस्था, सुरक्षा कार्यालय लगायतका क्षेक्रबाट २ किलोमिटर बाहिर मात्रै त्रसर उद्योग सञ्चालन गर्न पाइने व्यवस्था छ । 

राजमार्ग र खोलामै क्रसर

तर, केही उद्योगहरू राजमार्गसँगै सटाएर सञ्चालित छन् । बिर्तामोड नगरपालिका क्षेत्रमा पर्ने कन्चनजंगा क्रसर उद्योग राजमार्गमै जोडिएर वर्षौंदेखि सञ्चालित छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार झापामा हाल १२ वटा क्रसर दर्ता भई सञ्चालित थिए । जसमध्ये ५ उद्योग केही समयअघि बन्द भइसकेका छन् । बाँकी ७ मात्रै सञ्चालित छन् ।


सञ्चालितमध्ये पनि अधिकांशले मापदण्ड मिचेको पाइएको छ । कार्यालयका अनुसार अर्जुनधारा २ मा संगीता विष्टको नाममा जय धराल रोडा उद्योग सञ्चालित छन् । त्यही स्थानमा शेरबहादुर थापाको नामको जयकाली भगवती रोडा उद्योग सञ्चालित छ । विन्द्या श्रेष्ठको नाममा मंगलश्री क्रसर उद्योग सञ्चालित छ । तीनै उद्योग विरिड खोलाभित्र छन् ।


त्यस्तै दुर्गा प्रसाईको पाथिभरा एग्रिकेट पनि विरिड आसपासमै छ । भुपेन्द्र वरालको कन्काई क्रसर उद्योग बुद्धशान्तिमा छ । सुवास लामाको राजधानी क्रसर इन्ड्रष्ट्रिज, मेचीनगरको चारआली माथितिर छ । यी त भए दर्ता गरेर सञ्चालित क्रसर उद्योग हुन् । ‘नवीकरण भने नगरेको वर्षौं भइसक्यो’, घरेलु कार्यालयका प्रमुख चन्द्र प्रसाद मिश्रले भने ।


उनका अनुसार स्थानीय सरकारले नगर क्षेक्रमै केही त्रसर उद्योग सञ्चालनको इजाजत पनि धमाधम दिइरहेको छ । दर्ता नभएका उद्योग त कति छन् कति । त्यसको लेखाजोखा न घरेलु उद्योगसँग छ न त नियमनकारी निकाय जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयसँगै छ । विकास निर्माणका नाममा ठेकेदारले आफू खुसी खोलामै मिनी क्रसर उद्योग सञ्चालन गरिरहेका छन् ।


‘सवै क्रसर उद्योग मापदण्ड मिचेर सञ्चालित छन्’, जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले भने, ‘मापदन्ड मिचेर निर्वाध सञ्चालित क्रसरलाई नियमनकारी निकायले केही गर्न सकेको छैन ।’ यसअघि मापदण्ड मिचेर सञ्चालित उद्योगलाई जिल्ला प्रशासन कार्यालय झापाले पटकपटक वन्द गर्न निर्देशन दिएको थियो । तर, कसैले नटेरेको ती कर्मचारीको भनाइ छ ।


जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले अवैध रूपमा सञ्चालित र वर्षौंदेखि नवीकरण नगरिएका क्रसर उद्योगलाई कागजातसहित उपस्थित हुन निर्देशन दिएका छन् । समन्वय समितिको टोलीले बिहीबार ५ वटा क्रसरको अनुगमन गरेको थियो । पोर्तेलले प्रक्रिया नपुगेका उद्योगलाई प्रक्रिया पुर्‍याउन केही समय दिइने र त्यसो गर्न पनि आनाकानी गरे बन्द गराउन सम्बद्ध निकायलाई पत्राचार गरिने बताए ।

प्रकाशित : फाल्गुन २५, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?