११० वर्षीयालाई सम्मान

महिला दिवस
कान्तिपुर संवाददाता

मोरङ — जहदा गाउँपालिका २ हरिनगरकी १ सय १० वर्षीया पार्वतीदेवी शर्मा शुक्रबार सम्मान गरियो । १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा उनीलगायत सात जना ज्येष्ठ महिलालाई गाउँपालिकाले सम्मान गरेको हो ।

११० वर्षीयालाई सम्मान

गाउँपालिका अध्यक्ष कैलाश मण्डल र उपाध्यक्ष शालो साहले दोसल्ला र एक हजार नगद संयुक्त रूपमा प्रदान गरेर शर्मालगायतलाई सम्मान गरे । शर्माको २ छोरा र १ छोरीमा १० नाति र २ नातिनी, ६ पनाति र ११ पनातिनी र ५ जना जनाति रहेको स्थानीय अजय सिंहले बताए । मध्यम वर्गीय परिवारकी शर्मा अहिले पनि आफ्नो काम आफैं गर्दै आइरहेको उनले बताए । १ सय १० वर्षको उमेरमा पनि हजुरआमाले नित्यकर्म, स्नान, खाना आफैं खाने गरेको उनका नाति महेन्द्र शर्माले बताए ।


‘घरमा हजुरआमालाई स्याहार गर्ने बुहारी, नाति बुहारीलगायत पानतिहरू छन्,’ उनले भने, ‘तर हजुरआमा अझै आफ्नो काम आफैं गरिरहनु भएको छ ।’ अहिलेसम्म खासै कुनै रोगलेसमेत नसमातेको तर कहिलेकाहीँ पखाला लाग्ने गरेको उनको भनाइ थियो । उनको पति कनकिर शर्माको ६८ वर्षको उमेरमा २०३६ सालमा निधन भएका थियो ।


हजुरआमाले बिहान दाल, भात, तरकारी र दूध,दही, बेलुका नास्तामा दही च्युरा र राति रोटी दूध नियमित खाने गरेको महेन्द्रले बताए । वडा ३ की अन्चदेवी राजबंशी पनि सम्मानित भएकी हुन् । उनी बुहारी दुर्गादेवी राजवंशीको सहारामा सम्मान थाप्न जहदा ५ लक्ष्मिनिया चौकमा रहेको गाउँपालिकासम्म आएकी थिइन् । कुप्रो परेर हिँडडुल गर्ने अन्चदेवीको १ छोरा र २ छोरी छन् ।


९२ वर्षीया पुर्णीदेवी मुखिया, ९० वर्षीया सुट्रीदेवी मण्डल, ८७ वर्षीया मक्कुदेवी सोरेन र ८५ वर्षीया संझादेवी साहलाई सम्मान गरियो । गाउँपाकिास्थित ७ वटै वडाबाट १/१ जना महिला ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । गाउँपालिकाले नारी दिवसको अवसर पारेर वृद्धाहरूलाई एकै ठाउँमा राखेर सम्मान गर्दा हर्षित देखिन्थें ।


‘ज्येष्ठ नागरिकको कदरस्वरूप उनीहरूलाई सम्मान गरिएको हो,’ अहध्यक्ष मण्डलले भने, ‘वृद्धाहरूको सम्मानमा गाउँपालिका यसरी नै लागिपर्नेछ ।’ कार्यक्रममा बोल्दै मण्डलले समाजमा महिलापुरुषबीचको असमानता हटाउनका लागि राज्यको हरेक निकायमा महिलाका लागि ५० प्रतिशत आरक्षणको व्यवस्था गरिनुपर्ने माग गरे ।


कार्यक्रममा जहदा गाउँपालिकाको उपप्रमुख सालो साहले गाउँपालिकाको हरेक वडामा महिलालाई संगठित गरिँदै आएको बताइन् । महिलाहरूको क्षमता र नेतृत्व विकास गर्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने अभियान सञ्चालन गरेको ऊनले बताइन् ।

प्रकाशित : फाल्गुन २५, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?