कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालीले धानेको विहारको धार्मिक पर्यटन

जितेन्द्र साह

कुर्साकाँटा, भारत — दर्शनार्थी एवं व्यवसायीमा आधीभन्दा बढी सीमावर्ती नेपाली । स्थानीय मठमन्दिरको निर्माणमा सघाउनेमा पनि बढी नेपाली । नेपाली जनताको सहयोग र सुरक्षाका लागि सीमामा संयुक्त सुरक्षा बल तैनाथ । मोरङको दक्षिणपूर्वी सीमासँग जोडिएको भारतको विहारको अररिया जिल्लामा पर्ने कुर्साकाँटास्थित महादेवको नगरी प्राचीन सुन्दरनाथ धाम पुग्दा दुई देशका नागरिकलाई जोड्ने यस्तै सुन्दर दृश्य देखिन्छ ।

नेपालीले धानेको विहारको धार्मिक पर्यटन

यो धामको सुन्दरी मठ उहिलेदेखि दुवै देशका सीमावर्ती जनताको श्रद्धाको प्रतीक रहँदै आएको छ ।


‘मेला भर्न आउनेमा आधीभन्दा बढी नेपाली हुन्छन्,’ स्थानीय किसान ४७ वर्षीय विकास चौधरीले भने, ‘नेपाली दाजुभाइको आगमनले यो धामको शोभा र मान बढ्छ ।’ आफूहरू पनि दसैं र महाशिवरात्रिमा नेपालका चर्चित धार्मिक थलो पुग्ने गरेको उनले बताए ।


‘पुर्खौंदेखि वारिपारिका बीच आत्मीय सम्बन्ध छ, त्यसलाई दुवै मुलुकको सरकारले कायम राखेको बोर्डर लाइन वा पिलरले छेक्दैन,’ स्थानीय शिक्षित महिला आभूषीकुमारीले भनिन्, ‘त्यसो हुनु पनि भएन, नेपालीसँग रोटीबेटीसँगै धार्मिक र सांस्कृतिक सम्बन्ध पनि छ ।’


हुन त यहाँ महाशिवरात्रिदेखि पूर्णिमासम्म भव्य मेला लाग्छ । यति बेला यो धाम परिसरमा सीमावर्ती नेपालीले विभिन्न धार्मिक अनुष्ठानका साथ होलीका गीत गाउँछन् । तराई–मधेसमा शिवरात्रिदेखि होली आरम्भ भएको मानिन्छ । तर अरु बेला पनि यहाँ पूजा, भाकल, विशेष अनुष्ठान र मुण्डन गराउन आउनेको कमी हुन्न । मेला वरिपरिको बिसौनीमा नेपाली वाहानको लाम हुन्छ । मेलाको मिठाई र खाजा पसलका सञ्चालकमा समेत आधी जति नेपाली हुन्छन् ।


‘सुन्दरी मठ व्यवस्थापन समितिले अनुरोध गरेर बोलाउँछन्,’ महानगर विराटनगरका मिठाई व्यवसायी राम विश्वासले भने । विराटनगरदेखि मात्र १७ किमि टाढा यो धार्मिक थलो छ । उनको अनुसार स्वाद र स्वच्छताका कारणले भारतीयले समेत नेपाली कालीगढले बनाएको परिकार मन पराउँछन् । भाँडाकुँडा, लुगाफाटा, सौन्दर्य प्रसाधन र प्याकेजका प्रसादलगायतका सामग्रीको व्यवसायीमा भारतीय बढी हुन्छन् ।


‘नेपालतिरको तुलनामा भाँडावर्तन र कस्मेटिक सामग्री यहाँ धेरै सस्तो हुन्छ,’ विराटनगर संगमचोककी गृहिणी हिमकुमारीले भनिन्, ‘दर्शनसँगै किनमेल पनि गर्छौं, सामान लिएर वा किनेर जानेलाई भारतीय पक्षले पनि दुःख दिँदैनन् ।’ भारत र नेपाल सीमामा कडा सुरक्षा प्रबन्ध भए पनि दुवैतिरका सुरक्षाकर्मीले दुवैतिरबाट अति आवश्यक घरायशी सामान बोकेर आउनेजाउनेलाई रोक्दैनन् ।


‘हामी दुवै देशका जनताको सहयोग गर्न बसेका हौं, दुःख दिन होइन नि,’ सीमा सुरक्षा बलका जवान कुलबहादुर राईले भने । गोर्खा रेजिमेन्टमा कार्यरत उनी भारतको आसाम राज्यका नागरिक हुन् । भारतीय सेनाका जवानले क्याम्प अघिल्तिरको मुख्य बाटोमा प्रशिक्षित कुकुरसहित तैनाथ भएर ओहोरदोहोर गर्ने बाहान र व्यक्तिको भने नियमित चेकजाँच गरिरहेका हुन्छन् ।


‘अन्यथा नलिनु होला, दर्शन गर्न आउने यात्रुको सुरक्षाका लागि यो सब गरिरहेका छौं,’ सीमा सुरक्षा बलका एक उच्च अधिकारीले भने, ‘कुनै पनि आपराधिक समूहले धार्मिक सदभावको माहोललाई नबिगारुन् भन्नेतर्फ सतर्क र सचेत छौं ।’


आवागमनलाई सुरक्षित बनाउने अभियानमा नेपालतर्फका सशस्त्र प्रहरी बलको भरपुर सहयोग रहेको तिनले बताए । यहाँको व्यवस्थापन निकै उत्कृष्ट लागेको सुन्दरनाथ धाम परिसरमा फूल एवं विविध पुजन सामग्री बेचिरहेका मोरङको जहदा गाउँपालिका–४ का आकाश मालाकारले बताए । ‘भारतको भूमिमा कारोबार गरिरहेको छु भन्ने अनुभुति नै हुन्न,’ उनले भने ।


उक्त मेलामा नेपालका सबै भेकका र भारतको विहार भागलपुरसम्मका नागरिक आउने गरेको सुन्दरी मठ व्यवस्थापन समितिका पदाधिकारीले जनाए । ‘नेपालीजस्तो भारतीय दर्शनार्थीमा सहयोगी भावना हुन्न,’ नाम उल्लेख नगर्ने सर्तमा समितिका एक सदस्यले भने, ‘यहाँको मठमन्दिरको जीर्णोद्धार एवं विस्तारका लागि आर्थिक सहयोग गर्नेमा नेपाली बढी छन् ।’

प्रकाशित : फाल्गुन २८, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?