भीषण आगलागी गाउँ पस्यो, ६ परिवारको घर गोठ जले अझै नियन्त्रणमा आएन
ओखलढुंगा — यहाँको सिद्धिचरण नगरपालिका-२ चुहानछापमा नजिककै जंगलबाट सुरु भएको डढेलो गाउँ पसेपछि छ परिवारको घरगोठ जलेको छ । ठूलो हावाहुरी बढ्दै गएपछि गाउँमा आगो लाग्न थालेको हो । पानीको अभाव र बतासको कारण हालसम्म आगो नियन्त्रणमा आउन नसकेको प्रत्यक्षदर्शी गेजराज श्रेष्ठले बताए ।
सेना, प्रहरी र स्थानीय लगायतले निरन्तर प्रयास गरेपनि नियन्त्रणमा ल्याउन गाह्रो भएको हो । 'एकातिर निभाउन जाँदा अर्कोतिर घर जलिसकेको अवस्था छ,' प्रत्यक्षदर्शी श्रेष्ठले भने, 'केही गर्दा नियन्त्रण होला जस्तो छैन ।' गाईवस्तु र मानवीय क्षति नभएपनि घरभित्रको कुनै सामान निकाल्न नसकिएको गाउँलेको भनाइ छ ।
जिल्ला प्रहरीका प्रहरी निरिक्षक राजीव श्रेष्ठका अनुसार आगलागी केही नियन्त्रणमा आइसकेपनि पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन ।
प्रकाशित : फाल्गुन २८, २०७५ १५:१९