३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कुचोको मूल्य बढेपछि किसान उत्साही

कान्तिपुर संवाददाता

काँकडभिट्टा — अम्रिसो (कुचो) ले यो वर्ष सोचेभन्दा बढी मूल्य पाएपछि किसान र व्यवसायी उत्साही बनेका छन् । व्यवसायीका अनुसार केही वर्षयता भारतले भुटान, वर्मालगायत मुलुकबाट सस्तोमा कुचो किन्दा नेपाली कुचोले भाउ पाएको थिएन तर यसपटक ती मुलुकले मागअनुसार निर्यात गर्न सकेनन्, जसको प्रत्यक्ष फाइदा नेपाली कुचो व्यवसायीले लिए ।

कुचोको मूल्य बढेपछि किसान उत्साही

‘पहिला कुचो सस्तोमा बेच्न बाध्य थियौं,’ कुचो व्यवसायी संघ अध्यक्ष तेजु प्रसाइँले भने, ‘अहिले नसोचेको मूल्य पाएका छौं ।’ उनका अनुसार प्रतिकिलो ७० रुपैयाँसम्ममा कुचो भारत निर्यात भइरहेको छ ।

उनका अनुसार पूर्वोत्तर भारतको सिलोङको कुचो पनि आन्तरिक बजारमा व्यापक खपत हुँदै आएको थियो तर यसपटक निरन्तर वर्षाका कारण सिलोङले सोचे जति कुचो उत्पादन गर्न सकेन । उत्पादित कुचो पनि सबै चिसो र ओसिएको पाइएपछि नेपाली कुचोको माग बढेको व्यवसायीले बताए ।


कुचो व्यवसायी संघका अनुसार यो वर्ष करिब २० हजार मेट्रिक टन कुचो भारत निर्यात भइसकेको छ । केही हजार टन कुचो निर्यातको तयारीमा गोदाममा छ ।


व्यवसायीका अनुसार भारतबाहेक अन्य मुलुकमा समेत कुचोको निर्यात बढाउनुपर्ने अवस्था छ । नेपाल बंगलादेश चेम्बर अफ ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैनका अनुसार भारतपछि बंगलादेशमा कुचोको उच्च माग छ तर उच्च ड््युटीका कारण व्यवसायीले बंगलादेश निर्यात गर्ने साहसै गर्न सकेका छैनन् । ‘बंगलादेशमा कुचोको माग भारतमा भन्दा ज्यादा छ,’ जैनले भने, ‘निर्यात गर्न सक्दा प्रशस्तै विदेश मुद्रा आर्जन गर्न सकिन्छ ।’


झापाका धुलाबारी, चारआली, धाइजनलगायत स्थानमा व्यवसायीले कुचो प्रशोधन केन्द्र सञ्चालन गरेका छन् । ती केन्द्रमा करिब ३ हजारले रोजगारी पाएको व्यवसायीका दाबी छ । इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटालगायत पूर्वी पहाडी जिल्लाबाट अम्लिसो ल्याएर यहाँ प्रशोधन गरिन्छ ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?