२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

एकै गाउँबाट २५ लाखको साग

रमेशचन्द्र अधिकारी

धनकुटा — वरिपरि हरियाली वातावरणसँगै बीचमा चिटिक्क परेको बस्ती । घर नजिकका बारीमा रहर लाग्दा सागलगायत तरकारी बाली देख्न सकिन्छ । छथर जोरपाटी गाउँपालिका १ स्थित फलाटे गाउँको दृश्य हो यो ।

एकै गाउँबाट २५ लाखको साग

फलाटे गाउँबाटै यस वर्ष हालसम्म कम्तिमा २५ लाख रुपैयाँको साग माक्रै बित्री भइसकेको छ । २५ घर रहेको उक्त गाउँका अधिकांश तरकारी खेतीमा निर्भर छन् । सागबाट मात्रै औसत प्रतिघर एक लाखभन्दा बढी आम्दानी हुने स्थानीय युवराज कार्कीले बताए ।


कार्कीले तीन रोपनी क्षेत्रफलमा रायोको साग उत्पादन गरेका छन्, जसबाट डेढ लाख बढी आम्दानी गरिसकेको उनले जनाए । सागको सुरुमै राम्रो मूल्य पाएकाले विगत वर्षभन्दा यस वर्ष आम्दानी बढ्ने उनको तर्क छ । प्रतिमुठा १८ देखि २० रुपैयाँमा साग घरैबाट बिक्री हुने कार्कीले जानकारी दिए । ‘बोकेर टाढा लैजानुपर्दैन’, उनले भने, ‘घरैमा गाडी लिएर खरिदे आउने र विगतको भन्दा राम्रो मूल्य पाएकाले सोचेभन्दा राम्रो आम्दानी भएको छ ।’ बाबु चन्द्रबहादुरले केही वर्ष अघिदेखि सुरु गरेको तरकारी खेतीलाई आफूले पनि निरन्तरता दिएको उनले बताए ।


गाउँघरमा आफुसहित अधिकांस युवाले रोजगारको लागि विदेश धाउनु पर्ने अथवा जागिरको खोजि गर्न वाध्य नभएको कार्की बताउँछन् । उनकी पत्नि टिका भण्डारीसहित परिवारका चारजना तरकारी खेतिमा खटिने गरेका छन् । गोठमा चार माउ गाई र बाख्रा रहेकाले तरकारीमा त्यसैको गोबर मल प्रयोग गरिने बताए ।


तरकारीको बोटमा किरा लागेमा गाईवस्तुको गहुँत प्रयोग गर्ने गरेका छन् । स्थानीय गजेन्द्र तामाङले १० रोपनी क्षेत्रफलमा तरकारी खेति गर्दै आएका छन्, जसमध्ये अधिकांसमा साग खेति गरिएको छ । रायोको साग खेतिबाटै उनले पनि अढाई लाख आम्दानी गरिसकेका छन् । बिक्रीका लागि बारीमा अझै साग बाँकी भएकाले सोचेभन्दा राम्रै आम्दानी हात पर्ने उनको भनाइ छ ।


उक्त गाउँका कृषकले सागसहित मौसमअनुसारका तरकारी आलु, बन्दा, काउली, धनियाँ लगायतको खेति गर्दै आएका छन् । गाईवस्तु प्रशस्तै पालेकोले कम्पोष्ट मल मात्र प्रयोग गरी तरकारी खेती गरिने स्थानीय कृषकको दाबी छ । तरकारी खेतीका अर्का अग्रज कृषक लोकबहादुर कार्की पनि हुन् । उनले सात रोपनी क्षेत्रफलमा लगाएको तरकारी खेतिबाट मनग्य आम्दानी गर्दै आएको बताए । यस्तै, वेकेन्द्र कार्कीले चार रोपनी जग्गामा तरकारी खेति गरेका छन् । तरकारी खेतिबाटै जीविकोपार्जन भएकाले पूर्ण सन्तुष्टि मिलेको उनीहरू बताउँछन् ।


गाउँमा सडक बाटो बनेपछि परम्परागत खेति छोडेर स्थानीयले तरकारी खेतीलाई प्राथमिकता दिँदै आएका छन् तर सिंचाइ अभावमा आकासे खेतीमा निर्भर बन्नुपरेको उनीहरूको गुनासो छ । यस वर्ष नियमित वर्षात् भएकाले पनि तरकारी खेती सप्रिएको छ ।


स्थानीयले गाउँबाट १५ मिनेट टाढाको भुल्के मुहानबाट खानेपानी ल्याउनुपर्ने बताए तर तरकारी खेती आम्दानीको मुख्य स्रोत बन्दै आए पनि सिंचाइ अभावले भनेजस्तो उत्पादन हुन नसकेको गुनासो छ ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?