जडिबुटी पकेट क्षेत्र

भोजपुर — भोजपुरमा व्यावसायिक सम्भावना बढेसँगै विभिन्न जातका जडिबुटीको ‘पकेट क्षेत्र’ घोषणा गरी काम थालिएको छ । डिभिजन वन कार्यालयका अनुसार जडिबुटी खेतीका लागि राम्रो मानिएका पश्चिमी टेम्केमैयुङ–१ तिम्मा, सोही गाउँपालिकाको वडा ५ खावा र भोजपुर नगरपालिकाको वडा ३ गुप्तेश्वर र वडा ४ सिद्धेश्वरलाई चिराइतोको पकेट क्षेत्र बनाइने भएको छ ।

जिल्लाबाट चालु आर्थिक वर्षको यो अवधिसम्म ५७ हजार किलो चिराइतो बिक्रीका लागि तराईतिर निकासी भएको डिभिजन वन कार्यालय भोजपुरका वन अधिकृत हेमन्तप्रसाद शाहले बताए । त्यसबाहेक सतुवा एक हजार, पाँच सय केजी र अर्घेली १० हजार केजी निकासी भएको तथ्यांक पाइएको छ ।


चिराइतो खेतीको सम्भावना बढ्नुका साथै यहाँका कृषकहरू यस खेतीतर्फ आकर्षित भएका कारण स्थानीय तहहरूसँग समन्वय गरेर पकेट क्षेत्र घोषणा गरी थप कार्यक्रम अगाडि बढाउने निर्णय गरिएको छ । यससँगै चिराइतोको बिरुवा उत्पादन, भण्डारण र बजारीकरणमा कृषकको माग र आवश्यकताको आधारमा अनुदान दिने जिल्ला जडिबुटी फोकल समितिले निर्णय गरेको छ ।


लेकाली क्षेत्रमा हुने चिराइतो किसानहरूले वर्षौंदेखि गर्दै आएको आलु, मकै, फापर लगायतका खेती छाडेर व्यावसायिक रूपमै गर्न थालेका छन् । कृषकहरूले खेर गएको जमिन, खाली जग्गा तथा बारीका काँल्लामा समेत चिराइतो खेती सुरु गरेका हुन् । जिल्लामा २ सय ५० हेक्टर बढी क्षेत्र चिराइतो खेतीले ढाकेको छ । षडानन्द नगरपालिका तिनतलेका पासाङदोर्ची शेर्पाका अनुसार कृषकहरूले व्यक्तिगत रूपमा मात्र नभई विद्यालय, सामुदायिक वन समूह लगायतले संस्थागत रूपमा पनि यसको खेती गरेका छन् ।


बोखिमको धापखर्क प्राथमिक विद्यालयले स्रोत वृद्धिका लागि ६ रोपनी क्षेत्रफल जग्गामा व्यावसायिक रूपमा चिराइतो खेती लगाएको छ । व्यवस्थापन समिति तथा अभिभावकले खेतीको हेरचाह गरिरहेका छन् । चिराइतोको माग बढेपछि ठाउँठाउँमा नर्सरी पनि खुलेको छ । हाल जिल्लाका दोभाने, किमालुङ, खाटम्मा, भैसीपंखा, तिम्मा, छिनामखु, खावा, युँ, चौकीडाँडा, कुदाकाउले लगायतका ठाउँमा व्यावसायिक चिराइतो खेती देख्न सकिन्छ ।


चिराइतोको मूल्य स्थानीय बजारमै प्रतिमन २२ देखि २५ हजार पर्ने गरेको छ । तर कतिपय किसानले बिचौलियाका कारण उचित मूल्य नपाउने गरेको समेत गुनासो गरे ।


हावापानी तथा माटोको अनुकुलमा जिल्लामा उत्पादन हुने चिराइतो, सतुवा, तेजपत्ता, लौठसल्ला, खिरौला, टिम्मुर लगायतका जडिबुटीमा लगानी गर्ने योजना बनाएर काम थालिएको वन अधिकृत शाहले बताए । स्थानीय तहमा रहेका सामुदायिक, कबुलियती, साझेदारी वनलाई लक्षित गरेर खेती गर्न लागिएको उनको भनाइ छ । भोजपुरको दक्षिण आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिका क्षेत्रमा टिम्मुर खेतीका लागि पकेट क्षेत्र बनाइएको छ । त्यस्तै अन्य जडिबुटी खेतीका लागि कृषकलाई उत्प्रेरित गरी लगानी योजना बनाइने डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रकाशित : चैत्र १, २०७५ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?