२४ विद्यार्थीलाई छात्रवृत्ति

कान्तिपुर संवाददाता

काँकडभिट्टा — झापा गाउँपालिका ६ को जनता माध्यमिक विद्यालयका २४ जेहेन्दार विद्यार्थीलाई बिहीबार छात्रवृत्ति प्रदान गरिएको छ । जनही ३ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको हो । 

विद्यालयमा स्थापित रमा–पद्मा स्मृति अक्षयकोषमार्फत २० जना तथा बैदेशिक रोजगार कोषमार्फत ४ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । झापाको कनकाई नगरपालिका वडा नं.–३ निवासी प्रतिमान उप्रेती र गंगादेवी उप्रेती परिवारद्वारा स्थापित ‘रमा–पद्म स्मृति’ छात्रवृत्ति समेत वितरण गरिएको थियो ।

Citizen


छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीर्हरूमा देविप्रसाद भट्टराई, विक्रम गणेश, नवराज पौडेल, मुर्सेद अली, राधिका राई, मञ्जु बुढाथोकी, रुपेश कटुवाल, सुमन खत्री, सविन कार्की, रमाकान्त पौडेल, प्रेम विश्वकर्मा, सुरज कार्की, रोशन विश्वकर्मा, पंकज कुमार राजवंशी, भिमप्रसाद प्रसाई, बविता बस्तेत, कल्पना दंगाल, नागेश कुमार केवरत, भगवती, राउत र गणेशप्रसाद पोखरेल छन् । पुरस्कार स्थापनाकर्तार् वरिष्ठ अधिवक्ता तथा स्व. रमा र पदम उप्रेतीका नाती हरिप्रसाद उप्रेतीले उक्त विद्यालयका विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै शिक्षामा सघाउ पुर्‍याउने उद्देश्यका साथ छात्रवृत्ति वितरण सुरु गरिएको बताए ।

त्यसैगरी बैदेशिक रोजगार छात्रवृत्ति पाउनेमा दिपिका दंगाल, रमेशकुमार गणेश, हरिचन्द्र विश्वकर्मा र धिरज प्रसाद गणेश रहेका छन् । प्रवासमा काम गर्ने शरणामती युवा समुहद्धारा २०६५ सालमा बैदेशिक रोजगार छात्रवृति कोषको स्थापना गरिएको हो । दुवै छात्रवृति विपन्न तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गरिँदै आएको युवा समूहका सचिव नेत्र प्रसाईले जानकारी दिए । कार्यक्रममा विद्यालयका शिक्षक लक्ष्मीप्रसाद अधिकारीलाई उत्कृष्ट शिक्षकका रूपमा नगद ३ हजारसहित सम्मान गरियो ।

प्रकाशित : चैत्र १, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्

जडिबुटी पकेट क्षेत्र

कान्तिपुर संवाददाता

भोजपुर — भोजपुरमा व्यावसायिक सम्भावना बढेसँगै विभिन्न जातका जडिबुटीको ‘पकेट क्षेत्र’ घोषणा गरी काम थालिएको छ । डिभिजन वन कार्यालयका अनुसार जडिबुटी खेतीका लागि राम्रो मानिएका पश्चिमी टेम्केमैयुङ–१ तिम्मा, सोही गाउँपालिकाको वडा ५ खावा र भोजपुर नगरपालिकाको वडा ३ गुप्तेश्वर र वडा ४ सिद्धेश्वरलाई चिराइतोको पकेट क्षेत्र बनाइने भएको छ ।

जिल्लाबाट चालु आर्थिक वर्षको यो अवधिसम्म ५७ हजार किलो चिराइतो बिक्रीका लागि तराईतिर निकासी भएको डिभिजन वन कार्यालय भोजपुरका वन अधिकृत हेमन्तप्रसाद शाहले बताए । त्यसबाहेक सतुवा एक हजार, पाँच सय केजी र अर्घेली १० हजार केजी निकासी भएको तथ्यांक पाइएको छ ।

चिराइतो खेतीको सम्भावना बढ्नुका साथै यहाँका कृषकहरू यस खेतीतर्फ आकर्षित भएका कारण स्थानीय तहहरूसँग समन्वय गरेर पकेट क्षेत्र घोषणा गरी थप कार्यक्रम अगाडि बढाउने निर्णय गरिएको छ । यससँगै चिराइतोको बिरुवा उत्पादन, भण्डारण र बजारीकरणमा कृषकको माग र आवश्यकताको आधारमा अनुदान दिने जिल्ला जडिबुटी फोकल समितिले निर्णय गरेको छ ।

लेकाली क्षेत्रमा हुने चिराइतो किसानहरूले वर्षौंदेखि गर्दै आएको आलु, मकै, फापर लगायतका खेती छाडेर व्यावसायिक रूपमै गर्न थालेका छन् । कृषकहरूले खेर गएको जमिन, खाली जग्गा तथा बारीका काँल्लामा समेत चिराइतो खेती सुरु गरेका हुन् । जिल्लामा २ सय ५० हेक्टर बढी क्षेत्र चिराइतो खेतीले ढाकेको छ । षडानन्द नगरपालिका तिनतलेका पासाङदोर्ची शेर्पाका अनुसार कृषकहरूले व्यक्तिगत रूपमा मात्र नभई विद्यालय, सामुदायिक वन समूह लगायतले संस्थागत रूपमा पनि यसको खेती गरेका छन् ।

बोखिमको धापखर्क प्राथमिक विद्यालयले स्रोत वृद्धिका लागि ६ रोपनी क्षेत्रफल जग्गामा व्यावसायिक रूपमा चिराइतो खेती लगाएको छ । व्यवस्थापन समिति तथा अभिभावकले खेतीको हेरचाह गरिरहेका छन् । चिराइतोको माग बढेपछि ठाउँठाउँमा नर्सरी पनि खुलेको छ । हाल जिल्लाका दोभाने, किमालुङ, खाटम्मा, भैसीपंखा, तिम्मा, छिनामखु, खावा, युँ, चौकीडाँडा, कुदाकाउले लगायतका ठाउँमा व्यावसायिक चिराइतो खेती देख्न सकिन्छ ।

चिराइतोको मूल्य स्थानीय बजारमै प्रतिमन २२ देखि २५ हजार पर्ने गरेको छ । तर कतिपय किसानले बिचौलियाका कारण उचित मूल्य नपाउने गरेको समेत गुनासो गरे ।

हावापानी तथा माटोको अनुकुलमा जिल्लामा उत्पादन हुने चिराइतो, सतुवा, तेजपत्ता, लौठसल्ला, खिरौला, टिम्मुर लगायतका जडिबुटीमा लगानी गर्ने योजना बनाएर काम थालिएको वन अधिकृत शाहले बताए । स्थानीय तहमा रहेका सामुदायिक, कबुलियती, साझेदारी वनलाई लक्षित गरेर खेती गर्न लागिएको उनको भनाइ छ । भोजपुरको दक्षिण आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिका क्षेत्रमा टिम्मुर खेतीका लागि पकेट क्षेत्र बनाइएको छ । त्यस्तै अन्य जडिबुटी खेतीका लागि कृषकलाई उत्प्रेरित गरी लगानी योजना बनाइने डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रकाशित : चैत्र १, २०७५ १०:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्