कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अनुगमन प्रतिवेदन : झापामा चरम नदी दोहन

(काँकडभिट्टा) — जिल्ला समन्वय समिति झापाले दुई सातायता झापाका नदीको  अनुगमन तीव्र पारेको छ । त्यस क्रममा जिल्लाका मेची, हडिया, निन्दा, विरिङ, कनकाई, रतुवा र मावा नदीमा चरम दोहन भइरहेको भेट्यो ।

अनुगमन प्रतिवेदन : झापामा चरम नदी दोहन

अनुगमनपछि तयार प्रतिवेदन बिहीबार सार्वजनिक गर्दै समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले भने, ‘झापामा नदी दोहन चरम रहेछ, चाँडै नियन्त्रण नगरिए स्थिति गम्भीर बन्न सक्छ ।’


समन्वय समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कतिपय जनप्रतिनिधिहरू आफैं नदी दोहनमा प्रत्यक्ष संलग्न पाइएको छ । अर्जुनधारा नगरपालिका १ सिस्ने शान्तिचोक क्षेत्रको उत्खनन निषेधित बिरिड नदी क्षेत्रमा वडा कार्यालयको मौखिक निर्देशनमा उत्खनन भइरहेको भेटियो । वडा १ का सदस्य माधव आचार्यको आफ्नै डोजर रहेको पाइयो ।


कानुनतः पुलको ५ सय मिटर आसपास नदी उत्खनन गर्न पाइँदैन । तर, झापाका सवैजसो नदीका पुल आसपासमै व्यापार उत्खनन भइरहेको छ । ‘भद्रपुर नगरपालिकास्थित मेचीपुल, निर्माणाधीन निन्दा पुलको दायाँबायाँ ५ सय मिटर क्षेत्रभित्रको निषेधित क्षेत्रमा निर्वाध रूपमा उत्खनन भइरहेको पाइयो’, प्रतिवेदनमा भनिएको छ । मेचीनगरस्थित निन्दा नदी क्षेत्रमा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनले तोकेको क्षेत्र बाहेक जथाभावी र तोकिएभन्दा गहिरो रूपमा उत्खनन गरेको पाइएको प्राविधिक टोलीका संयोजक इन्जिनियर हरिकृष्ण आचार्यले जनाएका छन् । समन्वय समितिले आचार्यको संयोजकत्वमा सहायक वन अधिकृत ओमनाथ भट्टराई र मेचीनगरका सवइन्ज्ििनयर कमल शर्मा सदस्य रहेको प्राविधिक टोली बनाएको थियो ।


प्राविधिक टोलीका अनुसार मेचीनगरको भृकुटी क्षेत्रको निन्दा नदीमा मापदण्ड विपरीत उत्खनन भइरहेको पाइयो । ४५ मिटर चौडाइ र ७ सय मिटर लम्बाइसम्म उत्खनन गर्न कानुन त वैधानिक मानिन्छ । तर, त्यहाँ भेटियो करिब ८० मिटर चौडाइ र करिव ९ सय मिटर लम्बाइ १ मिटरभन्दा गहिराइ बनाएर उत्खनन गरेको । त्यस्तै मेचीनगर १४ स्थित हडिया नदीमा करिब ७ सय मिटर लम्बाइ र करिब ३ मिटरसम्म गहिराइ उत्खनन गरेको पाइयो ।


निन्दा र हडिया नदीमा स्काभेटर प्रयोग गरी उत्खनन भइरहेको पाइयो । जबकि स्काभेटरको प्रयोगका लागि जिल्ला अनुगमन तथा समन्वय समितिको अनिवार्य रूपमा अनुमति लिनुपर्ने हुन्छ ।


बुद्धशान्ति १ भोटेटारको विरिड नदी किनारको निषेधित क्षेक्रमा निर्माणाधीन सिँचाइ आयोजनाको नाममा त्रसर उद्योग स्थापना हुँदै गरेको पाइयो । अनुगमन समितिले क्रसर उद्योग निर्माणको कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ । मेचीनगरको निन्दा र हडिया नदीमा मेसिनको प्रयोग गरी उत्खनन कार्य तत्काल बन्द गर्न मेचीनगर नगरपालिकालाई निर्देशन दिइएको प्राविधिक टोलीका एक सदस्यले बताए । शिवसताक्षी नगरमा पर्ने कनकाई नदीको पुल उत्तरतर्फको क्षेत्रमा स्वीकृत नलिइ सादरेखोला दोभान वरिपरि ट्रयाक्टरबाट नदीजन्य पदार्थ संकलन तथा उत्खनन गरिरहेको पाइएको र उक्त कार्य तत्काल रोक्न नगरपालिकालाई समितिले निर्देशन दिएको छ ।


दमक नगरको रतुवा खोलाको खरायो कटेज (निर्माणाधीन पुल) को उत्तर ५ सय मिटरदेखि बेलडाँगी खण्ड–२ भुटानी शरणार्थी शिविर पूर्वसम्म खण्ड खण्ड गरी निरन्तर १ मिटरभन्दा गहिरो उत्खनन भइरहेको पाइएको छ । साथै उत्खनन कार्यमा बिनाअनुमति बिनानम्बरको स्काभेटरको प्रयोग भएको भेटिएको थियो । रतुवा र मावा नदीमा गरिएको उत्खननको परिमाण नापजाँच गरी प्रतिवेदन ७ दिनभित्र जिल्ला अनुगमन तथा समन्वय समितिमा पठाउन दमक नगरपालिकालाई समितिले निर्देशन दिएको छ । झापा जिल्लामा नदीजन्य पदार्थ तथा ढुंगा, गिट्टी र बालुवा खानीजन्य पदार्थको उत्खनन/संकलन र बिक्रीसम्बन्धी प्रक्रिया तथा जिल्लामा सञ्चालित विभिन्न क्रसर उद्योगहरूको अनुगमन गर्न विभिन्न निकायका प्रतिनिधि सम्मिलित समिति छ ।


यसमा जिल्ला समन्वय समितिका प्रमुखको संयोजककत्वमा जिल्ला समन्वय समितिका उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, संघीय सरकार वा प्रदेश सरकारअन्तर्गत जिल्लामा कार्यरत वन, वातावरण तथा भूसंरक्षणसँगसम्बन्धी समितिले तोकेको कार्यालय प्रमुख, संघीय सरकार वा प्रदेशअन्तर्गत जिल्लामा कार्यरतमध्येबाट समितिले तोकेको इन्जिनियर सदस्य तथा तथा जिल्ला समन्वय अधिकारी सदस्य सचिव रहने व्यवस्था छ ।


प्रकाशित : चैत्र १, २०७५ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?