१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

दुर्व्यसनी सुधार्न भर्ना

सुनसरी — धरान उपमहानगरपालिका–६ पानबारीस्थित मार्गेचौरीमा जनसहभागितामा निर्माण भएको आसरा सुधार केन्द्रले लागुपदार्थको लत बसेकालाई बुधबारदेखि आवासीय भर्ना लिन थालेको छ । प्रहरी निरीक्षकको कमान्डमा रहने २५ जनाको टोलीले आसराको सुरक्षा दिने उक्त केन्द्रमा सयजना लागूपदार्थ सेवनकर्तालाई एकसाथ आवासीय उपचार सेवा दिन सकिने व्यवस्था छ । 

लागूपदार्थको लत लागेका व्यक्तिलाई चारदेखि छ महिनासम्म उपचार गरिने छ । भवन निर्माणको कुल लागत २ करोड ३७ लाख रुपैयाँ रहेको छ । केन्द्र सञ्चालन र व्यवस्थापनका लागि प्रदेश प्रहरी एकाइ कार्यालय धरानका एसपी शरदकुमार खत्रीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन भएको छ । समितिमा भवन निर्माण समितिका तर्फबाट मनोजकुमार मेन्याङ्बोलाई मानार्थ सदस्यसहित ५ जनालाई राखिएको छ ।


भवन निर्माण समितिका अध्यक्ष तथा धरानका पूर्वनगरप्रमुख मनोजकुमार मेनयाङ्बोले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘लागूपदार्थ सेवनबाट युवालाई मुक्त गर्न यो केन्द्र मुलुककै नमुना हुनेछ । पूर्वका लागूपदार्थ सेवनकर्ताको स्तरीय उपचारका लागि चन्दा उठाएर यो भवन निर्माण गरिएको हो । अब प्रहरी र स्थानीय सरोकारवाला मिलेर बनेको सञ्चालक समितिले सञ्चालन गर्नेछ ।’ उनका अनुसार तीनतले भनवमा आवास कक्ष, बैठक कक्ष, टेलिभिजन कक्ष, जिम, योग तथा कक्षा सञ्चालनका लागि हल, पुस्तकालय, परामर्श कक्ष, उपचार कक्ष, कार्यक्रम हल, किचन डायनिङ हललगायत सुविधा छन् । सुधार केन्द्रले २५ हजार रुपैयाँ बढी आर्थिक सहयोग गर्ने ३ सय ३७ जनालाई संस्थापक आजीवन सदस्य प्रदान गरेको छ ।


प्रकाशित : चैत्र १, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?