मातृ मृत्युदर घटाउने प्रयास
ताप्लेजुङ — सिरिजंगा गाउँपालिका ७ याम्फुदिनका अविरमान राईले प्रसूति व्यथाका कारण श्रीमती गुमाए । तेस्रो सन्तानलाई जन्म दिएपछि उनकी श्रीमती फूलमाया राईको निधन भयो । यसअघि घरमै दुई छोरालाई जन्म दिएकी उनले यो पटक भने प्रसूति व्यथाले च्यापेको तीन घण्टामै मृत्यु बरण गर्नुपर्यो ।
अन्तिम सन्तानका रूपमा जन्मिएकी छोरी हिमा राई अहिले भानुजन माविमा १२ कक्षामा पढ्दैछिन् । आफू धर्तीमा ओर्लदै आमा गुमाएकी उनलाई बावु र आफन्तले दूध पिलाएर बचाए ।
यहाँकी अर्मिला राइृको पनि यसरी नै ज्यान गयो । सन्तानलाई जन्मदिने क्रममै उनको इहलिला समाप्त भयो । सदरमुकाम फुङलिङबाट तीन दिनको पैदलमा रहेको याम्फदिनमा फूलमाया, अर्मिला मात्रै नभएर ११ महिलाले प्रसूति ब्यथाकै कारण ज्यान गुमाए ।
अविरमानका अनुसार यहाँका महिलाको सुत्केरी हुने एउटै विधि थियो, ‘प्रसूति व्यथा लागेपछि गाउँका महिला भेला हुन्थे । कसैले सुम्सुम्याउथे त कसैले सुत्केरी हुनका लागि कम्मरमा समाइदिने वल गर्न प्रोत्साहन गर्ने, तातो र झोलिलो खानेकुरा खान आग्रह, कर गर्ने गर्थे । बच्चा जन्माउन बल पुगोस् भनेर प्रसूति हुने ठाउँमा डोरी टाँने प्रचलन थियो । डोरीमा समाएर बल गर्दा बल लाग्छ भन्ने मान्यताले त्यसको प्रयोग गरिएको हो । अस्पताल, स्वास्थ्यकर्मी यहाँका बासिन्दाका लागि एकादेशको कथा जस्तै थियो ।’
एकपछि अर्को गर्दै आमाहरू गुमाउनु परेपछि स्वास्थ्य चौकी र स्वास्थ्यकर्मीका लागि यहाँका बासिन्दा निवेदन बोकेर जिल्ला जनस्वास्थ्य कार्यालयदेखि स्वास्थ्य मन्त्रालयसम्म पुगे । त्यसको अगुवाइ अविरमानले नै गरेका थिए । श्रीमती गुमाएको २० वर्षपछि उनको एउटा आशा पूर्ण भएको छ ।
बिदेसी दाताको मन पलाएपछि बर्थिङ सेन्टर सहितको भवन निर्माण भएको छ । यसका लागि आवश्यक उपकरण उपलब्ध गराइएको छ । तर, दक्ष स्वास्थ्यकर्मीको भने अझै अभाव छ । भवन निर्माण गरिदिएको बेलायतको सामाजिक संस्था हिमालयन ट्रस्ट यूकेका अध्यक्ष ग्राम रिग्ली आफूहरूको चाहना अब यसरी एक जना महिलाको पनि मृत्यु नहोस् भन्ने रहेको बताउँछन् । भवन हस्तान्तरणका लागि आएका उनले दुई जना स्थानीयलाई अहेव र अनमी पढाएकाले सरकारले उनीहरूलाई उपयोग गर्नुपर्ने बताए ।
यो संस्थासँग प्रस्ताव पुर्याएर निर्माणमा प्राविधिक सहयोग गरेको ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र रिड नेपालका प्रबन्धक राजेन्द्र पन्त सम्झौता अनुसार स्थानीय सरकारलाई हस्तान्तरण गरिसकेकाले अबको दायित्व सरकारको भएको बताउँछन् । पन्तका अनुसार ६७ लाखको लागतमा भवन निर्माण गरिएको हो र त्यत्तिकै लागतमा उपकरण राखिएको छ ।
यहाँ कार्यरत अहेव लोकेन्द्र स्वाँर आफूहरूसँग बर्थिङ सेन्टर चलाउने योग्यता नभएकाले तालिमप्राप्त स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने बताउँछन् । बर्थिङ सेन्टरमा २४ घण्टै प्रसूति शेवा प्रवाह गर्नुपर्छ । गाउँपालिका अध्यक्ष टिका गुरुङ भवन र उपकरण भएकाले बर्थिङ सेन्टरलाई अब गाउँपालिका र स्वास्थ्य मन्त्रालयमा दर्ता गराउने बताउँछन् ।
‘८ वटा वडा रहेको गाउँपालिकामा तीन वटामा मात्रै बर्थिङ सेन्टर सहितको सुविध छ, बाँकीमा विस्तारको प्रयासमा छौं,’ उनले थपे, ‘सबैभन्दा दुरदराज र विकटमा दातृ निकायले सहयोग पुर्याएकोमा आभारी छौं ।’ याम्फुदिन कञ्चनजंघा हिमालको आधार शिविरको गाउँ हो । यो दक्षिणमा भारतसँग सिमाना जोडिएको छ । यातायातको सुविधा नभएको यहाँबाट सदरमुकाम यात्रा पैदलै गर्नुपर्छ ।
प्रकाशित : चैत्र ३, २०७५ ०९:३२