कृषि सडक परिवर्तनको विरोध

संखुवासभा — भोटखोला गाउँपालिका–४ को गोलाबाट स्याक्सिला जाने कृषि सडक योजनाको ठाउँ परिवर्तन गरिएपछि स्थानीय बासिन्दाले विरोध गरेका छन् । भोटखोला–४ का सामाजिक अगुवा डुक्पा थिकेपा भोटेले आफ्नो क्षेत्रमा परेको बजेट मिलेमतोमा स्थानान्तरण गरेको आरोप लगाए ।

उनले पहिले तोकिएकै स्थानमा बजेट खर्च गर्नुपर्ने माग गरेका छन् । भोटखोला ४ को गोलाबाट स्याक्सिला जाने कृषि सडकका लागि प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट अनुदानमा १ करोड ५० लाख बजेट विनियोजन भएको थियो ।


वडा ४ का अध्यक्ष र गाउँपालिका अध्यक्ष तेम्बा भोटेको स्वीकृतिमा यो योजना गोलाबाट लिङ्गाम मङखिमतर्फ लगिएको उनले बताए । यहाँबाट निर्वाचित प्रदेश सांसद पूर्णप्रसाद राईको प्रत्यक्ष संग्लनतामा वडाध्यक्ष र गाउँपालिका अध्यक्षको मिलेमतोमा योजनाको शीर्षक परिवर्तन गरिएको भोटेको आरोप छ ।


उनले आफ्नो क्षेत्रमा परेको योजना अन्यत्रै सारेको भन्ने सुन्नेबित्तिकै वडाध्यक्ष, गाउापालिका अध्यक्ष र प्रदेशका माननीय राईसमेतले योजना नसार्न अनुरोध गरेपनि आनाकानी गर्दै बजेट अर्को ठाउँमा हालेको आरोप लगाए । ‘४ नम्बर वडाको गोलबाट स्याक्सिला जाने कृषि सडकको योजना किन गोलाबाट लिङगाम मंखिम जाने सडकमा सारियो,’ उनले भने, ‘यो नै अनौठो छ । केही व्यक्तिको स्वार्थमा बजेट अन्यन्त्र सारिएको हो ।’


आफ्नो क्षेत्रमा परेको योजना अर्को ठाउँमा परिवर्तन गरिएको थाहा पाउनेबित्तिकै ४ नम्बर वडाका अगुवा ज्याम्बा भोटेको अगुवाइमा २३ जनाले हस्ताक्षर संकलन गरेर योजनाको ठाउँ परिवर्तन नगर्न जिल्ला समन्वय समिति संखुवासभामा निवेदन गरेका छन् । त्यसपछि तत्कालै जिल्ला समन्वय समितिले योजनाको ठाउँ परिवर्तन नगर्न अनुरोध गर्दै एक नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा पत्राचार गरेको थियो ।


प्रदेश आर्थिक मामिला मन्त्रालयमा सुनुवाइ नभएपछि ४ नम्बरका स्थानीयहरू विराटनगर नै पुगेर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई निवेदन दिए । तर मुख्यमन्त्रीले समेत आफूहरूको समस्यालाई बेवास्ता गरेको स्थानीय डुक्पाको गुनासो छ । ‘वडा र गाउँपालिकाले चासो नदेखाएपछि जिल्ला समन्वय समितिमा निवेदन गरियो, उनले भने, त्यसपछि मुख्यमन्त्रीलाई नै निवेदन गर्दासमेत कुनै चासो नै दिनुभएन ।’


‘सर्वसाधारण जनताको आँखामा छारो हाल्दै योजनाको परिवर्तन गरियो,’ उनले भने, ‘त्यति ठूला योजना सार्वजनिक ठेक्का सम्झौता अनुसार हुनुपर्ने थियो, आफूखुशी उपभोक्ता समिति गठन गरेर बजेट सक्ने मात्रै काम हुन लाग्यो ।’


गोला–लिङ्गाम मंङखिम सडकमा प्रदेश सरकारको डेढ करोड र प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमले समेत १५ लाख बजेट विनियोजन गरेको स्थानीयको भनाइ छ । गोला–स्याक्सिला सडक खण्डको सर्भे गर्ने क्रममा विवाद उत्पन्न भएपछि योजना परिवर्तन गरेर गोला–लिङ्गाम मंङखिम सडकमा बजेट हालिएको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले बताए ।


पटकपटक पहल गर्दा पनि स्थानीय गाउँलेहरूबीच सहमति नभएपछि बजेट अर्को सडकमा हाल्न बाध्य भएको उनको भनाइ छ । सदरमुकाम खाँदबारीबाट पैदल सात दिनमा पुगिने भोटखोला क्षेत्रमा भर्खरैमात्र सडक सञ्जालले छोएको छ ।

प्रकाशित : चैत्र ४, २०७५ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?