२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कटारी बजारमा खानेपानी अभाव

डिल्लीराम खतिवडा

उदयपुर — कटारी नगरपालिकाको मुख्य व्यापारिक केन्द्र कटारी बजारमा दुई सातायता खानेपानी अभाव चुलिएको छ । बजार क्षेत्रमा खानेपानी आपूर्ति गर्ने आयोजना बिग्रिएपछि अभाव भएको हो । १० किलोमिटरभन्दा टाढा पर्ने सिन्कौलेबाट कटारी बजारमा पानी आपूर्ती गरिदै आएको छ ।

कटारी बजार क्षेत्रका २ हजार ८ सय ५० भन्दा बढी परिवारलाई सिन्कौले खानेपानी आयोजनाबाट पानी आपूर्ती गरिँदै आएको छ । योजनाबाट दुई सातायता पानी आउन छाडेको स्थानीयले बताए ।


‘पिउनयोग्य नभए पनि धारामा पानी आउँदै थियो,’ स्थानीय रन्जुकुमारी कार्कीले भनिन्, ‘तर १५ दिन भइसक्यो, धारामा पानी आउन छाडेको ।’ धारामा पानी आउन छाडेपछि खोलाबाट ल्याउनुपर्ने बाध्यता भएको उनले बताइन् । धारामा आउने पानी पनि मुहानबाट सोझै घरघरमा वितरण गरिएको छ । मुहानबाट रिजर्भ ट्यांकीमा जम्मा गरेको पानी सोझै घरघरमा पठाइएको छ ।


यसरी आउने पानी कहिले धमिलो फोहोर आउने गरेको थियो । तर अहिले त्यो पनि आउन छाडेपछि डोकोमा बोकेर गुजारा गर्नुपर्ने बाध्यता रहेको स्थानीयले बताए । ‘धारामा पानी नआउँदा बोतलको पानी किनेर खानु परेको छ,’ कटारी बजारकी यशोधा कुमालले भनिन, ‘पिउन किनेर चलाउन सकिन्छ, तर अरू कामका लागि पानी किन्नु पर्दा समस्या छ ।’ धारामा पानी आउन छाडेपछि लुगा धुन र नुहाउन तावा खोला जानुपर्ने बाध्यता भएको उनले बताइन् ।


कटारी नगरपालिको मुख्य बजार क्षेत्र भनेको ३ र ४ नम्बर वडा हो । मुख्य क्षेत्रमै खानेपानीको हाहाकर हुँदा सर्वसाधारण समस्यामा परेका छन । बजार क्षेत्रका लागि सञ्चालित खानेपानी आयोजना पुरानो र थोरै क्षमताका भएकाले पनि समस्या भएको हो । पुरानो र क्षमता थोरै भएकाले पर्याप्त पानी वितरण गर्न नसकिएको खानेपानी उपभोक्ता समितिले जनाएको छ ।


तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माणाधीन अवस्थामा रहेको छ । आयोजना सम्पन्नपछि २० वर्षका लागि खानेपानीको समस्या समाधान हुनेमा स्थानीय ढुक्क छन । तर तेस्रो खानेपानी योजना सञ्चालन हुने अवधिसम्म सर्वसाधारणले सास्ती खेप्नु परेको स्थानीय ज्ञानेन्द्र खड्काले बताए ।


‘तेस्रो सहरी खानेपानी योजना सचालन हुनु आगावै कटारी बजारबासीले काकाकुलको अवस्था जिउनु परेको छ,’ खड्काले भने, ‘कटारी बजारमा सधैं माघ फागुनदेखि जेठसम्म खानेपानीको समस्या हुने गरेको छ ।’ दीर्घकालीन रूपमा योजना नबन्दा सधैं समस्या हुने गरेको उनले बताए ।


‘बजार क्षेत्रमा वर्षेनी खानेपानीको समस्या हुने गरेको छ’ वडा ४ का वडाध्यक्ष कृष्णबहादुर दनुवारले भने, ‘दुई सातायता सिन्कौले खोला खानेपानी योजना बिग्रिएर राम्रोसँग सञ्चालन हुन सकेको छैन ।’ त्यसैले पनि समस्या भएको उनले बताए ।


कटारी बजारको खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोग, नगर विकास कोषको ऋण सहयोग र उपभोक्ताको लगानीबाट साना सहरी खानेपानी आयोजना निर्माणधीन अवस्थामा छ । आयोजना एसियाली विकास बैंकको ७० प्रतिशत, नगरविकास कोषको उपभोक्तालाई ऋण २५ प्रतिशत र खानेपानीको उपभोक्ताले ५ प्रतिशत रकमबाट लागानीमा निर्माण हुनेछ ।


०७३ असारमा सम्झौता भएको साना सहरी ०७५ साउन २ मा निर्माण सम्पन्न हुने भनिएको थियो । २० वर्षको लागि लक्षित गरेर निर्माण गरिएको उक्त आयोजनाबाट प्रतिसेकेन्ड ६० लिटर पानी प्रशोधन गर्ने क्षमता छ । ५१ करोड ६१ लाख रुपैयाँ लागत स्टिमेट रहेको आयोजना सम्पन्नपछि २ हजार ८ सय ५० परिवारलाई २४ सैं घण्टा खानेपानी उपलब्ध हुने लक्ष्य राखिएको छ ।


स्थानीय तावा खोलामा डिप बोरिङ गरी कटारी डाँडामा फिल्टर गरेर पानी वितरण गरिने आयोजनाले जनाएको छ । आयोजना सम्पन्न भएसगै कटारी बजारको खानेपानीको समस्या समाधान हुने कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । ‘तर अहिले तत्तकालका लागि समस्या भएको छ’ प्रमुख श्रेष्ठले भने, ‘त्यसका लागि खानेपानी उपभोक्ता समितिलाई चाँडोभन्दा चाँडो बिग्रिएको पाइप लाइन मर्मत गरेर पानी सञ्चालन गर्न भनिएको छ ।’ चाँडै पानी आपूर्ती हुने उनले बताए ।

प्रकाशित : चैत्र ५, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?