कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

लोकप्रिय हातबुना कपडा

हाते तानबाट बनाइएका कपडा स्तरीय र आकर्षक हुने भएकाले माग बढेको छ
चन्द्र कार्की

तेह्रथुम — हातले घरेलु तानमा बुनेका तेह्रथुमे ढाका कपडाको माग बढेको छ । यस्ता कपडा स्वदेशका विभिन्न स्थानका साथै विदेशका बजारमा पनि पुग्न थालेको छ । हाते तानबाट बनाइएका कपडा स्तरीय र आकर्षक हुने भएकाले यसको माग बढेको व्यवसायीको भनाइ छ ।

लोकप्रिय हातबुना कपडा

यहाँ उत्पादित ढाकाका कपडा ‘तेह्रथुमे ढाका कपडा’ का नामले परिचित छ । अन्यत्रबाट तेह्रथुम आउनेहरूले फर्कँदा आफन्त र साथीभाइलाई कोसेलीका रूपमा लिएर जाने गरेका छन् । ‘उत्पादन बढाउन सके अब बजारको समस्या हुँदैन,’ पराजुली ढाका कपडा उद्योग म्याङलुङका सञ्चालक ढंगराज पराजुलीले भने ।


पछिल्लो समय जिल्लाको दुर्गम गाउँदेखि सदरमुकामसम्म फस्टाएको ढाका कपडा उद्योगले हजारौ स्थानीयलाई रोजगारी दिएको छ । ढाका कपडाको व्यवसायबाट निम्न आय भएकाहरूले घरमै बसेर लाखौं रुपैंया आर्जन गरिरहेका छन् । उद्योगी पराजुली ढाका कपडाको व्यवसायबाट जिल्लाका धेरैको जीवनस्तर सुधारीएको बताउँछन् ।


उत्पादित ढाकाका कपडा स्थानीय उद्योगीले नेपालका धरान, विराटनगर, झापा, पोखरा, काठमाडौलगायत प्रमुख सहर बजारका व्यापारीलाई बिक्री गर्दै आएका थिए । अहिले तिनै व्यापारीको माध्यमबाट उत्पादित ढाका कपडा अमेरिका, बेलायत, अस्ट्रेलिया, कोरिया, सिंगापुर, मलेसिया हङकङ लगायतका मुलुकतर्फ निर्यात हुन थालेको घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग अधिकृत नविन पौडेलले बताए ।


नेपाल बाहिरका मुलुकमा ढाकाको कपडाको माग बढेपछि सदरमुकाम म्याङलुङसहित जिल्लाभरका ग्रामीण क्षेत्रका घरघरमा हातेतान राखेर कपडा बुन्ने काम भइरहेको छ । हाते तानमा रुमाल, कुर्ता सुरुवाल, साडी, चोली, मजेत्रो, सल, टोपी, पर्स, झोला, थैलीलगायत दर्जनौं प्रकारका ढाकाका सामानहरू उत्पादन हुन्छन् ।


माग अत्यधिक आएपछि म्याङलुङ बजारमा रहेको श्रमजीवी ढाका कपडा उद्योगका सञ्चालक रामसिंह आले मगरले उद्योगमा कामदारको संख्या बढाएको बताए । गाउँदेखि सदरमुकाममा रहेको उद्योगमा समेत गरेर उनले ५ सयभन्दा बढी कामदारलाई रोजगारी दिएको बताए । उनको उद्योगबाट प्रतिमहिना २५ लाखभन्दा बढीको ढाका कपडाको कारोवार हुने गरेको छ । उद्योगी आलेका अनुसार उनको उद्योगमा काम गर्ने प्रत्येक कामदारले मासिक ७ देखि ३० हजारसम्म आम्दानी गर्दै आएका छन् ।


पछिल्लो समय ढाकाको कपडाले राम्रो बजार लिएका कारण तेह्रथुमसँग सीमा जोडिएका संखुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ लगायतका जिल्लामा समेत हाते तान राखेर ढाकाका कपडा उत्पादन गर्न थालिएको छ । हाते तानबाट तयार गरिएका ढाकाका कपडाको बजार राम्रो भएको भन्दै घरेलु तथा साना उद्योग विकास समितिले एक गाउँ एक उत्पादनको कार्यक्रम अघि सारेर ढाका कपडा उत्पादन गर्न चाहनेहरूलाई गाउँगाउँमा गएर तालिम दिइरहेको छ ।


तालिमपछि घरघरमा तान राखेर गाउँलेले ढाका कपडा उत्पादन गरिरहेका छन् । सदरमुकाममा श्रमजीवी, पराजुली, उज्वलता, फक्तालुङ लगायतका नाम चलेका उद्योग सञ्चालनमा छन् ।

प्रकाशित : चैत्र ५, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?