२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

आङ खस्ने समस्यामा महिला

सुनसरी — सुनसरीका दक्षिणी भेगमा पर्ने गढी गाउँपालिकाका महिलामा आङ खस्ने समस्या अत्यधिक पाइएको छ । गढिगाउँको छिटाहा र औरावनी स्वास्थ्यचौकीमा स्त्रीरोग विशेषज्ञ चिकित्सकसहित बागमती सेवा समाज नेपालले सञ्चालन गरेको शिविरमा यस्तो पाइएको हो ।

शिविर सञ्चालन आयोजक समाजका कार्यकारी निर्देशक निरज भण्डारीका अनुसार बुधबार सम्पन्न शिविरमा १ सय ८८ जना महिला उपचारका लागि आएकामध्ये २७ जना (१४ दशमलव ३६) मा कुनै न कुनै तहको आङ खस्ने समस्या देखा परेको थियो ।


करिब ६ प्रतिशत महिलामा जटिल तथा अति जटिल किसिमका आङ् खस्ने समस्या देखिएको भण्डारीले बताए । उनले भने, ‘जटिल प्रकृतिको पाठेघर खस्ने विरामीहरूलाई आवश्यकता अनुसार निःशुल्क रुपमा शल्यक्रिया गरिने व्यवस्था वागमती सेवा समाजले मिलाइदिने भएको छ ।


मध्यम किसिमका आङ् खस्ने समस्या रहेको बिरामीहरूलाई शिविरमा नै सिलिकन रिङ्ग पेसरी हालिदिएर आवश्यकताअनुसार औषधि तथा परामर्श सेवा दिइएको छ ।’ समाजले महिलाको स्वास्थ्य र प्रणाली सुदृढीकरण परियोजनाअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।


बाल विवाह, बढी सन्तान जन्माउनु, जन्मान्तर थोरै राखिनु, कुपोषण, सुत्केरी अवस्थामा उचित हेरचाहको कमी तथा स्वास्थ्य जनचेतना कमीका कारणले पिछडिएका ग्रामीण महिलामा आङ खस्ने समस्या बढी देखिएको चिकित्सकहरूले बताउँदै आएका छन् ।


आङ खस्ने रोगबारे खुलेर कुरा गर्न नसक्ने र व्याप्त सामाजिक अपहेलनाको भय तथा लाजका कारण रोग लुकाएर बस्ने वानीले गर्दा समस्याको पहिचान र निदानमा समस्या भएको शिविरमा सहभागी चिकित्सकहरूले बताए ।


तराईका गाउका महिलाहरूमा आङ खस्ने समस्या विकराल रुपमा देखापरेकाले केहि हदसम्म टेवा दिन र उचित उपचार र व्यवस्थापन गर्न गैर सरकारीसंस्था आड्रा नेपालसंगको साझेदारीमा वागमती सेवा समाज नेपालले स्थानिय तह र स्वास्थ्य कार्यालयहरूसंग समन्वय गर्दै शिविर संचालन गरेको हो ।


शिविरको सुनसरी जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख पुण्य प्रसाद सिगदेल, गढी गााउ पालिकाका कार्यकारी प्रमुख फनिन्द्र भट्टराईले पनि अनुगमन निरिक्षण गरेका थिए । यसअघि समाजले सर्लाही, रौतहट तथा उदयपुरमा संचालन गरिएको आङ खस्ने समस्याको निःशुल्क स्वास्थ्य शिविरमा ७ सय ८४ जना महिलाहरूको स्वास्थ्य परीक्षण गर्दा २५ प्रतिशत महिलामा कुनै न कुनै तहको पाठेघर खस्ने समस्या देखा परेको थियो ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?