कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

आगलागी पीडितको बिचल्ली

इलाम — आगोले घरबास उठाएपछि सन्दकपुर गाउँपालिकास्थित माइपोखरी आसपासको बजारका बासिन्दा कष्टकर ढंगले दिन काट्न बाध्य भएका छन् । माईपोखरी अगाडिको बजारमा गएको फागुन ३० मा आगलागी हुँदा चार घर जलेका थिए । आगलागीपछि त्यहाँका सात परिवारको बिचल्ली भएको हो । 

आगलागीका कारण निम दोर्जे शेर्पा, लाक्पा शेर्पा, कमल मुखिया र गमबहादुर मुखियाको घर पूर्ण रूपले क्षति भएको थियो । त्यस्तै ती घरमा बसोबास गर्दै आएका निङ्मा दिक्की शेर्पा, चक्रदीप मुखिया र कमला मुखिया पनि विस्थापित छन् । कमल मुखियाको घरमा जेम्स तामाङ, गमबहादुरको घरमा चक्रबहादुर, योगबहादुर, जहरसिंह मुखिया बस्छन् ।


निम दोर्जे र लाक्पाको घरमा पर्यटन सूचना केन्द्रमा बसेका छन् । अरूले अस्थायी डेरा हालेर बसेका छन् । २१ सय मिटर उचाईमा रहेको यो क्षेत्रमा चिसो बढी हुने र मौसमसमेत प्रतिकुल रहेकाले पीडितलाई समस्या भएको स्थानीय राजबहादुर राईले बताए ।


माइपोखरी पुग्ने तिर्थालु र घुमघामकालागि आउनेहरूका कारण खचाखच हुने व्यवसायसहित जीवनभर कष्ट झेलेर जोडेका घर र सम्पत्ती सवै जलेपछि उनीहरू बेसाहारा जस्तै वनेका हुन् । पीडितकालागि विभिन्न क्षेत्रवाट राहत प्रदान गर्ने क्रम पनि निरन्तर रहेको छ ।


घटना लगत्तै सन्दकपुर गाउँपालिकाले राहत कोष स्थापना गरेको छ । कोषमा व्यक्तिगत र विभिन्न संघ संस्थावाट सहयोग रकम जम्मा हुने क्रम जारी छ । गाउँपालिकाले कोषमा १ लाख ४० हजार रुपैयाँ जम्मा गरेको हो । त्यस्तै माइभाली फुटवल क्लवले पनि पीडितका लागि ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।


पीडितहरूलाई इलाम नगरपालिका वडा नं. ५ बिब्ल्याँटे बजारबासीका तर्फबाट राहत सहयोग दिइएको छ । बजारबाट संकलन भएको ४६ हजार छ सय रुपैयाँ सोमबार पीडितहरूलाई वितरण गरिएको छ । पूर्वेली जिप तथा ट्याक्सी यातायात प्रालिको तर्फबाट पाँच हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो । त्यस्तै मानवधर्म सेवा समिति मेचीले २८ हजार रुपैयाँसहत खाद्यान्न, भाँडाकुडा लत्ताकपडालगायत प्रदान गरेको छ ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?