बिदा सच्याउन माग

कान्तिपुर संवाददाता

दमक — प्रदेश सांसद ओम सरावगीले प्रदेश संसदको शून्य समयमा दुई दिनअघि होली बिदाप्रति आपत्ति जनाए । उनले झापा जिल्लालाई सरकारले तराईको दिन नभई पहाडको दिन होली बिदा दिएकाले सरकारी निर्णय सच्याउन माग गरे । 

उनले केन्द्रीय सरकारले झापामाथि विभेद गरेको आरोप लगाए । उनले झापा तराईको जिल्ला भएकाले होली पर्व तराई क्षेत्रले मनाउने दिन नै मनाउन पाउनुपर्नेमा जोड दिए । झापामा वर्षौंदेखि तराई क्षेत्रले मनाउँदै आएको दिन नै होली पर्व मनाउने गरिन्छ ।

Citizen


तर, तीन वर्षअघि सरकारले झापालाई पहाडी जिल्लाको सूचीमा राखेर पहाडमा बिदा दिने दिन होली बिदा दिँदै आएको छ । सरकारको उक्त निर्णय तीन वर्षदेखि आलोचित बन्दै आए पनि सरकार आफ्नो निर्णयबाट पछि हटेको छैन ।

सांसद सरावगीले प्रदेश सरकारले केन्द्रीय सरकारको निर्णय सच्याउँदै प्रदेशस्तरीय निर्णयबाट झापामा तराई क्षेत्रमा मनाइने होली पर्वकै दिन बिदा दिनुपर्ने माग राखे । यो वर्ष होली पर्वको बिदा पहाडी जिल्लामा चैत ६ तथा तराई क्षेत्रमा चैत ७ गते छ । झापा तराईको जिल्ला भए पनि होली पर्वको बिदा चैत ६ गते दिइएको छ ।

गृह मन्त्रालयले ०७४ चैत १४ गते राजपत्रमा प्रकाशित सार्वजनिक बिदाको सूचीमा चैत ६ गते बुधबार झापासहित पहाडका ५८ जिल्लामा सार्वजनिक बिदा दिने उल्लेख छ । झापा र चितवनबाहेक १९ जिल्लामा भने चैत ७ गते बिहीबार सार्वजनिक बिदा दिने उल्लेख छ ।

सरकारले तीन वर्ष अघिदेखि झापालाई पहाडको दिन सार्वजनिक बिदा दिए पनि जिल्लावासी भने तराई क्षेत्रमै मनाउने दिन होली पर्व मनाउँदै आएका छन् । सरकारको उक्त निर्णयको विरोध गर्दै राजवंशी समाज विकास समिति झापाले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

समाजले भौगोलिक रुपमा स्पष्ट रहेको तराईको जिल्लालाई पहाडको सूचीमा राख्नु एकलजातीय तन्त्रको पराकाष्ठा भएको टिप्पणी गरे । उनले होली पर्व तराईको पर्व भएकाले कुनै जाति, सम्पदाको संस्कृतिमाथि सरकारी विभेद अन्यायपूर्ण रहेको बताए ।

प्रजिअलाई बुझाइएको ज्ञापनपत्रमा समाजले होली पर्वको विदा विगतमा जस्तै तराई क्षेत्रले होली मनाउने दिनमा नै दिन आग्रह गरेको छ । उसले झापालाई पहाडको सूचीमा राखेर विदा दिदा तराईबासी आफ्नो सांस्कृतिक अधिकार प्रयोग गर्नबाट बञ्चित भएको बताए ।

दमक जेसिजका अध्यक्ष भीमराज केसीले सरकारले गरेको निर्णयबाट जिल्लाबासी प्रभावित बनेको बताए । उनले विगतमा सौहार्दपूर्ण रूपमा मनाउँदै आएको पर्वलाई सरकारको निर्णयले जिल्लावासीलाई अप्ठ्यारामा पारेको बताए । उनले केन्द्रीय सरकारको उक्त निर्णयमाथि स्थानीय सरकारहरूले दबाब दिनुपर्ने बताए ।

जिल्ला समन्वय समितिका सभापति सोमनाथ पोर्तेलले सरकारको निर्णय कागजी रुपमा मात्र सीमित हुन पुगेको बताए । उनले भने, ‘सरकारले जस्तो निर्णय गरे पनि झापामा होली पर्व मनाउने भनेको तराई क्षेत्रले मनाउने दिनमै हो ।’ जिल्लामा पहाडसँग जोडेर दिन थालिएको बिदा झापावासीका पक्षमा नरहेको उनले बताए ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:१८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बाहा पर्वमा रम्दै सन्थाल

सन्थाल समुदायले एकअर्कालाई सादा पानी छ्यापेर खुसीयाली साटासाट गर्ने चलन
कान्तिपुर संवाददाता

मोरङ — फागुपूर्णिमा अवसरमा बुधबार सन्थाल समुदायले बाहा पर्व मनाएका छन् । बाहा पर्वको अवसरमा सन्थाल समुदायले एकअर्कालाई सादा पानी छ्यापेर खुशीयाली साटासाट गरेका हुन् ।

मोरङको जहदा ७ सितमटोलका सन्थाल समुदायले जाहेरथानमा फागुपूर्णिमाको अवसरमा बाहा पर्वको प्रसाद खाँदै ।तस्बिर : देवनारायण साह/कान्तिपुर

सन्थाल समुदायले होली पर्व रंग प्रयोग गरेर मनाउँदैनन् तर अरु समुदायले जस्तो होलीमा रंग खेल्न सुरु गर्नुअघि नै बाहा पर्व मनाइसक्नुपर्ने परम्परा छ ।

जहदा ७ सितमटोलका सन्थाल समुदायका नाइके भगवानलाल बेसराको घरमा बुधबार बिहानैदेखि बाहा पर्वको गीत र नाच सुरु भएको थियो । बाहा पर्व मनाउनका लागि गाउँभरका सन्थाल समुदायको बेसराको घरमा भेला भएका थिए । बेसराले बिहानै स्नान गरेर चोखो भई नयाँ लुगा लगाए र उनीसँगै सन्थाल समुदायका एक बालकलाई पनि स्नान गराएर नयाँ लुगा लगाइदिए ।

बेसराले एक हातमा बाँसको चोयाले बनाइएको हाडाअमा सजाएको पूजा सामग्री र अर्को हातमा पितलको लोटामा जल लिएर जाहेरथान हिंडे । उनीसँगै बालक सुरज हास्दाले घैंटोमा शुद्ध जल भरेको सगुन लिएर अघिअघि र नाइकेको पछिपछि टमाक र तुन्दाह बजाउँदै गाउँलेहरू जाहेरथान पुगे ।

निराहार ब्रत बसेका नाइकेसँगै मंझी हाडाम, प्राणिक, जगमंझी, जगप्राणिक, गुडित र कुडोम नाइके जाहेरथानमा पूजा गर्न बसे । जहदा ७ का वडाअध्यक्षसमेत रहेका नाइके बेसराले सुरुमा इष्ट देउता मराङ बुरु, जाहेर एरा र गोसाई एराको छापरोमा पानीले चोखो पारेर तीनवटातिर गाडे र कलस स्थापना गरेर काँचो धागोले बाँधे ।

त्यसपछि चामलको पिठोले ५ वटा कोठा बनाएर त्यसमा सालको पात, सुपारी लड्डु, सिन्दुर, भर्नीको फूल राखेर दुध र पानी चढाएर बिधिबत पूजा गरे । त्यसपछि अर्को छाप्रोमा इष्ट देउता पारगाना बोङगाको र दुबै छाप्रोको मध्यमा रहेको मोडेको, तुरुइको देउताको प्रतिक खुण्टीमा पनि बेसराले बिधिबत पूजा गरे ।

इष्ट देउताको पूजापछि कुडोम नाइके बडका सोरेनले खेतमा गएर जंगलको देउता बीरको बिधिबत पूजा गरे । सन्थाल समुदायले कुखुराको बली दिएर पूजा गर्ने परम्परा भएपनि बेसरा नाइके भएपछि बलीको साटो लड्डु चढाएर पूजा गर्न थालेको बताए । ‘पूजाको समाप्तीपछि पहिले बली दिएको कुखुराको माशुसँगै चामल हालेर पकाएको सोडे खाने परम्परा थियो,’ उनले भने, ‘नाइकेलाई नै बली दिनुपर्ने भएकोले बली प्रथा अन्त्य गरेँ ।’

बाहा पर्वको प्रसाद सोडे पकाउनका लागि छुट्टै कुखुरा खरिद गरेर जाहेरथानमा पकाइरहेको थियो । पूजा बिधिको समाप्तिपछि नाइके बेसरासँगै गाउँका बालबालिकादेखि वृद्धवृद्धासम्मले सोडे खाएका थिए । प्रासद ग्रहणपछि नाइकेले प्रत्येक घर घरमा गएर भर्नीको फूल बाँड्ने चल्न छ । नाइके बेसराले मंझी हाडाम मुन्सी मुर्मुको घरबाट फूल बाँड्न सुरु गरेका थिए ।

उनी जानु अघि नै घरका महिलाहरूले आगनमा पिरा, पानी र तेल तयार गरेर बसेका थिए । घरका मुख्य महिलाले नाइके र सगुन बोकेका बालकको खुट्टा धोएर तेल लगाइदिएर ढोगेपछि सबैले आशिर्बाद दिए । खुट्टा धोएकी महिलाले नाइकेलाई सादा पानी हाली दिइन् । त्यसपछि नाइके बेसराले ती महिलालाई दिएपछि घरका महिला सदस्यले चुल्ठोमा र पुरुषले कानमाथि राखेका थिए । त्यसपछि नाइकेसँगै सबैलाई जाँड खुवाएर बिदा गरेका थिए ।

सन्थाल समुदायमा बाहा पर्व फागुन महिनाको शुक्ल पक्षकै दिनदेखि सुरु हुन्छ । कुडोम नाइके सोरेनका अनुसार सन्थाल समुदायका गाउँ नाइकेले फागुन महिनाको शुक्ल पक्षकै दिनदेखि चोखो भएर बाहा पर्व मनाउन सुरु हुने गरेको बताए । ‘नाइकेले शुक्ल पक्षको दिनदेखि फागु पूर्णिमाका दिनसम्म प्रत्येक दिन बिहान स्नान गरेर कुल देउताको पूजा गर्नुपर्छ,’ उनले भने, ‘बाहा पर्व अबधीभर नाइकेले सादा जीवन व्यतित गर्नुपर्छ ।’ नाइकेले आफ्नै घरमा सादा खानेकुरा खाने, स्त्रीगमन नगर्ने, भुईंमा गुन्द्री ओछ्याएर सुत्ने परम्परा रहेको सोरेनको भनाइ छ ।

नाइके बेसराले शुक्लपक्ष सुरु भएको दिनदेखि बाहिर अन्नपानी नखाने र घरमा सादा जीवन बिताउँदै आएको बताए । उनले फागुपूर्णिमाको दुई दिनअघि सोमबार गाउँका स्त्रीगमन नगरेका युवाहरूले ग्रामथान जाहेरथानमा सरसफाइ गरेको बताए ।

‘जाहेरथानको सफाइपछि इष्ट देउता मराङ बुरु, जाहेर एरा र गोसाई एराको लागि सानो छाप्रो बनाएका थियौं,’ उनले भने, ‘नजिकै छुट्टै अर्को इष्ट देउता पारगाना बोङगाको लागि पनि छाप्रो बनायौं ।’ दुबै छाप्रोको बीचमा मोडेको, तुरुइको देउताका लागि खुण्टी गाडेर काजल र मेथी चढाई पूजा गरेर घर फर्किएको उनले सुनाए ।

जाहेरथानको सफाइपछि युवाहरू नाइकेको घरमा गएर जाँडरक्सी, मासु खाने परम्परा रहेको सन्थालका मंझी हडाम मुन्सी मुर्मुले बताए । ‘युवाहरू त्यहाँबाट सिकार खेल्न जंगल जाने परम्परा थियो,’ उनले भने, ‘तर अहिले जंगल नजिक नभएको र सरकारले सिकार खेल्न प्रतिबन्ध लगाएकोले त्यो परम्परा हराउँदै गएको छ ।’

गाउँको गुडितले सन्थाल समुदायको प्रत्येक घरबाट बाहा पर्व मनाउनका लागि मंगलबार चामल र पैसा संकलन गरेको उनले सुनाए । ‘पैसाले कुखुरा किनेर ल्याइ गाउँमा संकलन भएको चामलसँगै कुखुराको माशु हालेर सोडे (खिचडी) पकाउने परम्परा छ,’ उनले भने, ‘जाहेरथानमा पूजा भएपछि प्रसादको रुपमा सोडे खाने चलन छ ।’
स्थानीय बिष्णु मुर्मुले सन्थाल समुदाय प्रकृतिको पूजारी भएकोले बसन्त ऋतुको अबसरमा नयाँ कोपिला आउने र त्यसमा लागेको फूललाई बाहा पर्वको अबसरमा पूजा गर्ने र पूजा गरेको फूल नाइकेबाट ग्रहण गरी सुख, शान्ति र समृद्धिको आशीर्वाद थाप्ने परम्परा रहेको बताए ।

‘वसन्त ऋतुको अवसरमा नव पालुवासँगै नयाँ जीवनको सुरुवात हुन्छ,’ उनले भने, ‘नयाँ जीवनको स्वागतमा सन्थाल समुदायले बाहा पर्व मनाउदै आएका छन् ।’ यो पर्व मनाएपछि मात्रै सन्थाल समुदायमा घर निर्माणलगायतको कार्य सुरु गर्ने परम्परा रहेको उनले बताए ।

बाहा पर्व अन्य हिन्दु धर्माबलम्बिले रंग खेल्न सुरु गर्नु अगावै मनाइसक्नुपर्ने परम्परा रहेको स्थानीय लखिराम हेम्रमले बताए । ‘फागुपूर्णिमाको अवसरमा अन्य हिन्दु धर्मावलम्बीहरूले रंग छ्यापेर रंगको पर्व होली मनाउँछन् तर सन्थाल समुदायले रंग नलगाई प्राकृतिक रुपमा बस्दै आएका छन्,’ उनले भने, ‘कृत्रिम रंगभन्दा सन्थाल समुदाय प्राकृतिक रंगमा रम्ने चल्न छ त्यसैले हामी सादा पानी छ्यापेर खुशी साटासाट गर्छौं ।’ उनले बाहा पर्वले सन्थाल समुदायमा प्राकृतिक प्रकोप, रोग ब्याधि लाग्नबाट जोगाउने जनविश्वास रहेको बताए ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT