कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नगरप्रमुखको कारबाही फिर्ता

ताप्लेजुङ — फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेललाई गरिएको कारबाही नेकपा प्रदेश कमिटीले फिर्ता गरेको छ । प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेका अनुसार मंगलबार सम्पन्न प्रदेश कमिटीले कारबाही फिर्ता गरेको हो ।

‘अब उहाँले नेकपाको मेयरको हैसियतले काम गर्नुहुन्छ, कारबाही फिर्ता गरिसकेका छौं,’ घिमिरेले भने, ‘उहाँ हाम्रो पार्टीबाट निर्वाचित जनप्रतिनिधि भएकाले पार्टीले अब त्यहीअनुसारको व्यवहार र सम्मान दिन्छ ।’ पार्टी समायोजन क्रममा रहेकाले पार्टीको जिम्मेवारी भने नतोकिएको घिमिरेले बताए । प्याकुरेल कारबाहीमा पर्नुअघि जिल्ला कमिटी सदस्य थिए । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा असहयोग गरेको भन्दै तत्कालीन एमाले पार्टीले प्याकुरेललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।


प्याकुरेलसँगै पूर्वसांसद तथा जिल्ला कमिटी सदस्य भूपेन्द्र थेबे, पत्नी उर्मिला थेबेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । ओली समर्थकलाई कारबाही गरेको भन्दै थेवेलगायतले विरोध गर्दै आएका थिए । एमाले प्रदेश कमिटीले भने दुई सदस्यीय छानबिन समिति गठन गरेको थियो । कारबाहीका बेला बैठकमै सहभागी केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्बोले छानबिन समितिको सिफारिसअनुसार कारबाही फिर्ता भएको बताए ।


उनले दुई पार्टी एकीकरणका क्रममा रहेकाले निर्णय केही ढिला भएको बताए । कारबाहीको निर्णय गरेका तत्कालीन जिल्ला कमिटी अध्यक्ष बलबहादुर साम्सोहाङले माथिल्लो निकायबाट फुकुवा भए फेरि कारबाही गर्नेसम्मको चेतावनी दिएका थिए । मेन्याङबोले भने प्रदेश कमिटीको निर्णयअनुसार हुने बताए ।


प्याकुरेलले ढिलै भए पनि न्याय पाएको प्रतिक्रिया छ । ‘ममाथि अन्याय गरिएको थियो, न्याय पाएको सुन्दा खुसी लागेको छ,’ प्याकुरेलले भने ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?