थोक बजार खुल्ने

देवनारायण साह

मोरङ — विराटनगर महानगरपालिकासँग जोडिएको कटहरी गाउँपालिका १ मा निर्माण गरिएको ६ महिनापछि एकीकृत तरकारी तथा फलफूल थोक बजार प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उद्घाटन गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि सञ्चालनको तयारी थालेको छ  ।

थोक बजार खुल्ने

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले थोक बजार सञ्चालनका लागि आवश्यक कार्यविधि र निर्देशिका निर्माण गरी व्यवस्थित रूपमा सञ्चालनको तयारी थालेको बताए ।

‘अब कृषकको ठगिने दिन समाप्त भयो,’ उनले भने, ‘यो बजारमा कृषकले आफ्नो उत्पादन आफैं ल्याएर बिक्री गर्ने वयवस्था छ ।’ उनले यस प्रदेशको अर्थतन्त्रको बलियो माध्यम कृषिलाई व्यवसायिकीकरण, आधुनिकीकरण, बजारीकरण र औद्योगिकीकरण गर्दै अघि बढ्ने बताए ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको तत्कालीन व्यावसायिक कृषि तथा व्यापार आयोजनाले स्थानीय जनप्रिय माध्यमिक विद्यालय कटहरीको ४ बिघा २ कट्ठा र कटहरी गाउँपालिकाको १८ कट्ठा २ धुर ऐलानी गरी ५ बिघा २ धुर जग्गामा १५ करोड ४९ लाख ३९ हजारको लागतमा थोक बजार निर्माण गरेको हो ।

उक्त जग्गा सरकारले ५० वर्षका लागि भाडामा लिएर थोक बजार निर्माण गरेको छ । रमन/लामा जेभी कन्स्ट्रक्सनले २०६८ सालमा १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रुपैयाँ लागतमा ठेक्का लिएर भदौ १५ गते निर्माण सम्पन्न गरेको थियो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले उक्त बजार पञ्चपक्षीय सम्झौता भएर विद्यालय र कटहरी गाउँपालिकाको जग्गामा निर्माण गरिएको बताए ।

‘जनप्रिय माध्यमिक विद्यालय कटहरीको ४ बिघा २ कट्ठा र कटहरी गाउँपालिकाको ऐलानी १८ कट्ठा २ धुर जग्गा ५० वर्षका लागि भाडामा लिएर पञ्चपक्षीय सम्झौता भएर थोक बजार निर्माण गरेका छौं,’ उनले भने, ‘थोक बजार प्रदेश सरकारले कार्यविधि बनाएर सञ्चालन गर्छ ।’

थोक बजारमा कृषकले आफ्नो उत्पादन आफैं बिक्री गर्न पाउने व्यवस्था गरिएको छ । कृषकका लागि आफ्नो उत्पादन आफैं बिक्री गर्न १ सय ३८ दशमलव ५ वर्ग मिटरको सेड निर्माण गरिएको सचिव जिसीले बताए ।

‘कुल १७ हजार ८ सय ८१ वर्गमिटर क्षेत्रफलमा बजार निर्माण गरिएको छ । थोक विक्रेताका लागि गोदामसहितको १४ सय ८८ वर्ग मिटरमा १७ वटा सटर, खुद्रा वित्रेताका लागि ३ सय ५१ दशमलव २ वर्ग मिटरको सेड निर्माण भएको छ,’ उनले भने, ‘बजारभित्र तीनतले प्रशासनिक भवनमा प्रशासन, म्यानेजर आवास, सुरक्षा गार्ड आवास, ६ बेडको कृषक अतिथि गृह, सार्वजनिक शौचालय, स्वास्थ्य क्लिनिक, चमेना गृह, बैंक शाखा रहने भौतिक संरचना निर्माण गरिएको छ ।’

तरकारी बोकेर आएको ट्रक तौल गर्ने मेसिन, फोहोर संकलन यार्ड, तरकारी लोड अनलोड गर्ने क्षेत्र, डिप ट्युबेल, जेनेरेटर, सोलारव्याट्री, सीसीटीभी, सुरक्षा गार्ड पोस्ट र साना तथा ठूला सवारीसाधन पार्किङको व्यवस्था तरकारी बजारभित्र भएको जिसीले बताए ।

‘बजारमा बर्सेनि ४४ हजार ९ सय ६६ दशमलव ३ मेट्रिक टन तरकारी र १० हजार मेट्रिक टन फलफूल बिक्री हुने लक्ष्य रहेको छ,’ उनले भने, ‘तरकारी बजारले यहाँ २ दशमलव ५ प्रतिशत बर्सेनि आर्थिक वृद्धि हुने लक्ष्य छ ।’ प्रदेश १ का १४ जिल्ला र प्रदेश २ का सिरहा र सप्तरीका कृषकहरूले आफ्नो उत्पादन आफैं ल्यार बिक्री गर्न सक्ने उनको भनाइ थियो ।

तरकारी बजारबाट भएको आम्दानी एकीकृत तरकारी थोक बजार समिति, विराटनगर महानगर, कटहरी गाउँपालिका र विद्यालयले प्रतिशतको आधारमा बाँडफाँट गर्ने सम्झौतामा उल्लेख छ ।

तरकारी बजारले विराटनगर महानगर र कटहरी गाउँपालिका लगायतका उपझोक्ता अब विषात्त तरकारी तथा फलफूल खानु नपर्ने सुविधा प्राप्त हुने भएको छ । तरकारी बजारमा द्रुततर विषादी अवशेष परीक्षण प्रयोगशाला स्थापनाका लागि प्रदेश सरकारले गत आर्थिक वर्षमा नै उपकरण खरिद गरेर ल्याइसकेको छ ।

प्रयोगशालामा महानगरले दुई जना प्राविधिक उपलब्ध गराउने सहमति प्रदेश १ को भूमि व्यवस्था तथा सहकारी मन्त्रालयसँग भइसकेको छ ।

बजार समितिले तरकारीको मूल्यसमेत निर्धारण गर्ने भएकाले कृषक र उपभोक्ता दुवै लाभान्वित हुने भएका छन् । समितिले बजार विश्लेषण गरेर प्रत्येक दिन तरकारीको मूल्य तोक्ने र त्यही मूल्यमा खरिद बिक्री हुन्छ ।

प्रकाशित : चैत्र ८, २०७५ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?