कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

बर्जुतालमा पाहुना चरा

प्रदीप मेन्याङ्बो

सुनसरी — पाहुना चराको जमघट हुने सिमसार क्षेत्र बर्जुताल प्रदेश १ को उत्कृष्ट गन्तव्य बनाउन बर्जु गाउँपालिका सरकारले बनाइदिने गुरु योजनाको पर्खाइमा छ । जैविक विविधता र चराको वितरणस्थल सिमसार क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न वर्जु गाउँपालिकाले विशेष प्राथमिकतामा राखेको छ । 

बर्जुतालमा पाहुना चरा

१ सय ५२ विगाह क्षेत्रफलमा फैलिएको बर्जुताल विराटनगरदेखि १० किलोमिटर पश्चिम र सुनसरीको इनरुवादेखि १५ किलोमिटर, धरानबाट करिब ४० किलोमिटरको दूरीमा रहेको छ । गाउँपालिका प्रमुख रघुनन्दन चौधरीका अनुसार बजुर्तताललाई थप व्यवस्थित गर्न गाउपालिकाले पहल गरिरहेको छ । उनले भने, ‘जैविक विविधताले भरिएको तालमा चराहरूको गतविधि हेर्न आउने पर्यटकहरूलाई आकर्षित गर्न व्यवस्थापन, संरक्षण र विकास गर्न सकेमा बार्षिक करोडौं रुपैया आर्जन गर्न सकिन्छ । स्थानीय समुदायले रोजगारी पाउन सक्छन् ।’


प्राकृतिकरुपमा बनेको उक्त ताल ०४५ सालअघि संरक्षण अभावले कतिपय भाग पुरेर स्थानीय जमिनदारले खेत बनाएर चर्चेका थिए । तर ०४६ को जनआन्दोलनपछि अदालतले सार्वजनिक तालको जग्गा छाड्नु पर्ने आदेश दिएपछि स्थानीय समुदायले संरक्षण गर्न थालेको चौधरीले बताए । बर्जुताल प्राकृतिक रुपमा आफैमा फराकिलो, सुन्दर भएपनि लामोसमयदेखि ओझेलमा पर्दै आएको थियो । प्रकृतिले दिएको ताललाई संरक्षण र व्यबस्थापन गरेर गाउपालिकाले आय आर्जन गर्न ध्यान दिएको छ । यसअघि ०७३ सालमा ताललाई प्राकृतिक स्वरुपमा फर्काउन नेपाली सेनाले तीन करोड ६३ लाख वजेटमा ताल सफाइ गर्दै चारै तर्फ बाँध निर्माण र घेरावेरालगायत काम सम्पन्न गरेको थियो ।


विभिन्न अवसरमा तालको अवलोकन गर्न हजारौं आन्तरिक पर्यटकहरू आउने र त्यहा रहेका आठवटा बोटमा शयर गर्ने गरेका छन् । ताल वरिपरि पिकिन स्पटहरू रहेका छन् । बजुतालबाट भएको आम्दानी कस्को खातामा जम्मा गर्ने भन्ने विषयमा भने बर्जु गाउपालिका र वर्जु ताल संरक्षण समितिवीच अझै समन्वय हुन सकेको छैन । गाउपालिका अध्यक्ष चौधरीले भने, ‘समितिले आफ्नो तरिकाले काम गरिरहे पनि हालसम्म के कति खर्च र आम्दानी भयो त्यो रेकर्ड गाउपालिकामा समावेश हुन सकेको छैन । त्यहाको व्यवस्थापन गाउँपालिका मातहत नै गर्नुपर्ने हो तर त्यसो भइरहेको छैन । समितिसंग समन्वय गर्ने प्रयास गरिरहेका छौं ।’


उनका अनुसार तालको संरक्षण र विकास गर्नकालागि नेपाली सेनाले ३ करोड ६३ लाख रुपैया सहित विभिन्न समयमा ताल संरक्षण र संरचना निर्माणका निम्ति हालसम्म प्रधानमन्त्री विकास कोषवाट ३५ लाख, जिल्ला विकास समिति सुनसरीबाट ४ लाख, पर्यटन मन्त्रालयवाट २५ लाख सांसद विकास कोषवाट विजयकुमार गच्छदारले १५ लाख र रामकुमार सुव्वाले ३ लाख, प्रदेश सांसद अगमलाल चौधरीले १६ लाख रुपैया गरी ४ करोड ६१ लाख रुपैयाँ खर्च भइसकेको छ ।


दशकअघि बर्जुतालको जैविक विविधतामाथि अध्ययन गरेका विराटनगरस्थित स्नातकोत्तर क्याम्पसका प्राणीशास्त्र विभागका सहप्राध्यापक कुलप्रसाद लिम्बुले भने, ‘कोशी टप्पु वन्यजन्तु आरक्षणको आफ्नै विषेशता भएपनि बर्जु ताल चराहरूको रोमान्स गर्ने नेपालकै उत्कृष्ट थलो हो । कोशी टप्पुमा चराहरू छरिएका अवस्थामा देख्न पाइन्छ भने बर्जुमा एकै ठाउँ ।’


कोशी टप्पुमा आउने साइवेरियन चरा नै बर्जुतालमा विचरणका लागि आउने गरेका छन् । उनका अनुसार बर्जुमा विषेश प्रजातिका चराहरूमध्ये कोम्ब डक, नर्दन पिन्टाइल, नर्दन शोभलर, युरेसियन विगन, कमन पोचार्ड, ग्रे हेडेड लापवीङ, माल्लार्ड कमन टिल, ग्याडवाल, लिटल ग्रेवे लगायत हुन् । उनले भने, ‘जैविक विविधता भरिउको बर्जुमा १ सय नौ प्रजातिका पंक्षीहरू एकसाथ बसेको, उडेको र रोमान्स गरेको हेर्न पाइन्छ । सिमसार भएकाले बर्जुताल जलचर, थलचर प्राणीको वासस्थानसमेत बनेकाले जैविक विविधताको अध्ययन गर्न चाहने जो कोहीका लागि यो खुला अनुसन्धान स्थल वा विश्वविद्यालय हुन सक्छ ।’


केही दिनअघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले तालको अवलोकन गर्दै पूर्वकै सवैभन्दा फराकिलो ताल बर्जुलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न विराटनगरदेखि वर्जुसम्मको वाटोको स्तरउन्नती गर्ने र जेठ १५ गते वजेट आउनुभन्दा अघि नै तालको संरक्षण र विकासका लागि गुरुयोजना निर्माण गर्ने बताएका थिए । वर्जु ताल संरक्षण समितिका अध्यक्ष वालिङ चौधरीले प्रधानमन्त्रीले नै विशेष चासो देखाएकाले ओझेलमा परेको तालको संरक्षण भएपछि स्थानीय समुदायको प्रतिव्यक्ति आय तीन गुणा बढ्ने बताए ।

प्रकाशित : चैत्र ९, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?