कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कुचोको गुणस्तरमा बेवास्ता

इलाम — खेतीबाली नहुने पाखा भित्तामा फस्टाउने अम्रिसो कुचोको गुणस्तरमा बेवास्ता गर्दा मूल्यमा असर पर्न थालेको छ । जिल्लाका अधिकांश स्थानमा उत्पादन हुने अम्रिसोको फूल थुत्ने समय, सुकाउने विधिमा ध्यान नपुग्दा कृषकले चाहेको मूल्य पाउन सकेका छैनन् । 

कुचोको गुणस्तरमा बेवास्ता

यता खरिद गर्ने व्यापारीले पनि गुणस्तरहीन कुचोका कारण बिक्रीमा समस्या पर्ने जनाएका छन् । ‘कृषकले काँचै कुचो लिएर आउने भएकाले चलेको मूल्यमा किन्नै पर्छ,’ विव्ल्याँटेका व्यापारी मनोज घिमिरेले भने, ‘तर हामीले बिक्री गर्दा त्यसको तौल घट्छ भने अरू गुणस्तरीय कुचालाई पनि नकारात्मक प्रभाव पर्ने गरेको छ ।’

कतिपयले समयमा कुचो नथुतेर फक्रिएपछि मात्र बजारमा निकाल्ने गर्छन् । फक्रिएको कुचोको पनि माग नहुँदा अरू गुणस्तरीय कुचोको पनि बदनाम हुने गरेको व्यापारी बताउँछन् । ‘गाउँमा खरिद गरिएको अधिकांश कुचो फक्रिएको भएकाले बजारमा बिक्री गर्न नै समस्या भयो,’ सन्दकपुर ५ स्थित जमुनाका व्यापारी ज्ञानु खनालले भने, ‘सानोतिनो कारोवार गरेर गाउँमा व्यवसाय गर्ने हामी जस्तालाई उक्सनै गाह्रो हुन थाल्यो ।

मंसिरदेखि नै ठाउँअनुसार कुचो थुत्ने क्रम सुरु हुन्छ । बेंसी र पारिलो क्षेत्रमा छिटै थुत्न योग्य हुने भए पनि लेकाली क्षेत्र र सेपिलो पाटोमा केही ढिलो मात्र हुन्छ । तर कृषकले धेरै रकम भित्र्याउने सोचमा कुचोको गुणस्तरलाई ख्याल नगरी एकै साथ थुत्ने गरेका छन् । धेरै उचाइ भएका क्षेत्र र सेपिलो पाटोमा कुचोको उत्पादन कम हुनेसँगै कम गुणस्तरको हुने गरेको छ ।

मुख्य सिजनमा भाउ नपाएको कुचोको पछिल्लो समयमा भने मूल्यमा सुधार आएको छ । सुरुवाती सिजनदेखि नै प्रतिकिलो ४० रुपैयाँमा माक्र वित्री भएको कुचो केही दिनयता ६५ रुपैयाँमा बिक्री भइरहेको छ । तर अधिकांश कृषकले कुचो बिक्री गरी सकेकाले यो मूल्यले कमैले मात्र राहत लिएका छन् ।

व्यापारीले पनि आउन साथ बिक्री गर्ने गरेकाले खासै नाफा लिन नसकेको जनाएका छन् । जिल्लाका मंगलबारे, विव्ल्याँटे, तिनघरे, फिक्कललगायत बजारमा क्षेत्रमा संकलित कुचो झापाको धुलाबारीमा संकलन गरिन्छ । यहाँ आवश्यक ग्रेडिङसहित बिक्री योग्य बनाएर अधिकांश उत्पादन भारत निर्यात हुन्छ ।

प्रतिमन १ सय २० रुपैयाँसम्ममा बिक्री भएको कुचोको मूल्य स्थिर नहुने भएकाले कृषकले मार खेप्ने गरेका छन् । भारतीय बजारमा निर्भर कुचोको मूल्य घट्नुमा भारतीय व्यापारीको एकाधिकार रहेको सरोकारवाला बताउँछन् । डाँठ दाउरा र फूल बिक्री हुने भएकाले कृषकले वर्षेनी अम्लिसो रोप्ने क्रम बढाउदै लगेका छन् ।

रोगले अलैंची मासिएपछि विकल्पमा ठूलो क्षेत्रफलमा कुचो उत्पादन गर्दै आएका कृषकलाई गुणस्तरीय कुचो उत्पादन गरेर बजारमा पुर्‍याउन आवश्यक प्राविधिक ज्ञानको समेत अभाव छ । परम्परागत तरिकाले मात्र उत्पादन हुँदै आएको कुचोको गुणस्तर सुधारमा सरोकारवालाले समेत ध्यान दिनुपर्ने देखिएको छ ।

प्रकाशित : चैत्र १०, २०७५ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?