कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

अवकाशपछि लोकभाषा संरक्षणमा

जितेन्द्र साह

विराटनगर — लामो जागिरे जीवनबाट अवकाश पाएकाले केही समय परिवारसँग आराम र घुमफिर गर्छन् । त्रिभुवन विश्वविद्यालयमा विभिन्न पदमा ४१ वर्षसम्म सेवा गरेका सहप्राध्यापक धनुषाका परमेश्वर कापडी भने तराई–मधेसको लोकभाषाको शोधमा लागेका छन् । 

अवकाशपछि लोकभाषा संरक्षणमा

उनी मैथिली भाषा, बालसाहित्य र लोक लवजको शोध क्षेत्रमा स्थापित नाम हुन् । बाल नाटक संग्रह ‘चौआरी’ का लागि उनी १ लाख रुपैयाँको नेपाल विद्यापति पुरस्कारबाट सम्मानित भइसकेका छन् ।


उनले त्रिवि मैथिली केन्द्रीय विभाग प्रमुख पदबाट अवकाश पाएको सात महिना पनि भएको छैन । ६३ वर्षीय कापडीले कुल जागिर अवधिमा २७ वर्ष त मैथिली भाषाकै प्राध्यापन गरे । हालै विराटनगरमा भेटिएका उनले बाँकी जीवन समृद्ध लोक भाषाको विस्तारमा बिताउने कान्तिपुरलाई बताए । ‘डेढ सय वर्ष मात्र इतिहास भएको खरी (खर्रो) र उर्दु भाषा मिलेर बनेको हिन्दीभन्दा हाम्रा लोकभाषाहरू समृद्ध छन्,’ उनले भने, ‘भाषिक उपनिवेशबाट मधेसलाई जोगाउन संघीय एवं प्रदेश सरकारले लोकभाषाहरूलाई सर्वत्र स्वीकृत बनाउन जरुरी छ ।’


केहि राजनीति समूहले मधेसमा बलजफ्ती हिन्दी भाषालाई लाद्न खोजेकोमा उनी असन्तुष्ट छन् । ‘घरका सबै सदस्यहरूले हिन्दी बोल्ने मधेसमा एउटै परिवार भेटाउनुहुन्न,’ कापडीले भने, ‘बढीले आफ्नै लोकभाषा र नेपाली नै बोल्छन् ।’ उनको अनुसार उहिलेदेखि यहाँ बसेका पहाडी समुदायका पनि मैथिली, भोजपुरी र अवधि बोल्छन् । ‘तीमध्ये कति त मधेसी समुदायभन्दा राम्रो र धारा प्रवाह यहाँका लोक भाषाहरू बोल्छन्,’ उनले भने, ‘यो भाषाको विस्तारसँगै लोक लवजप्रति आदर पनि हो ।’


संवत् ३०० देखि अस्तित्वमा रहेका मैथिली बोली अंग्रेजीभन्दा पुरानो भएको कापडीले बताए । धनुषाको जनकपुर–१४, पुल्चोक बस्ने उनी डेढदेखि पाँच बिघा जग्गामा ‘मिथिला फोक ल्याब’ बनाउने प्रस्ताव तयार पारेका छन् । एकै थलोमा मिथिलाको भाषा, संस्कृति र भेषभूषा झल्काउने यो ल्याबको निर्माणमा ६ करोड रुपैयाँ खर्च हुने उनले बताए । ‘संघीय र प्रदेश दुवै सरकारसमक्ष प्र्रस्ताव पेस गर्छु,’ कापडीले भने, ‘यो पूरा गर्नु मेरो सपना हो ।’


यो दीर्घकालीन योजनामा सहयोग पुग्ने गरी कापडीले जानकी (सीता) मातामाथि एक सांस्कृतिक एवं धार्मिक उपन्यास लेख्न सुरु गरेका छन् । उनी यसकै शोधका क्रममा विभिन्न ठाउँ र व्यक्तिकोमा पुगिरहेका छन् । माता जानकीको फरक स्वरूप प्रस्तुत गरिने यो उपन्यासमा मिथिलाको समृद्ध लोकभाषाले प्राचीन समयमा पाएको गरिमाबारे समेत उल्लेख गरिने उनले बताए ।


यसमा अपार नारी शक्ति भएकी सीता मातासँगै मैथिलीको महत्त्व पनि झल्काइने कापडीले औंल्याए । ‘अहिलेसम्म सार्वजनिक भएका पौराणिक वर्णनभन्दा माता जानकी निकै शक्तिशाली थिइन्,’ उनले भने, ‘रावणले सौन्दर्यबाट मोहित भएर होइन, माता सीतासँग भएको अपार शक्ति हात पार्न अपहरण गरेका थिए, यो कमैलाई थाहा छ ।’ यो उपन्यासबाट हुने आम्दानी पनि मिथिला लोकभाषा र प्रयोगशालाको उत्थानमा खर्च गरिने कापडीले जनाए ।


छोराबुहारीलाई भेट्न विराटनगर आएको मौकामा साहित्यकार कापडीले यस संवाददातासँग अवकाशपछिको आफ्नो योजनाबारे खुलासा गरेका थिए । एमबीए उत्तीर्ण उनको जेठो छोरा कुमार पृथु सीमावर्ती रानीस्थित विराटनगर आँखा अस्पतालका प्रबन्धक र एमबीए एवं समाज शास्त्रमा स्नातकोत्तर बुहारी कुमारी श्रेया यहाँस्थित एक बैंकमा अधिकृत हुन् ।


रोचक के छ भने, एमफिलपछि पीचएडीको तयारीका रहेका कापडीका छोराबुहारीले लेखन एवं उद्घोषणमार्फत सञ्चार क्षेत्रमा समेत राम्रै पहिचान बनाइसकेका छन् । कापडीको कान्छो छोरा कुमार भाष्कर पनि काठमाडौंमा प्रकाशन एवं सञ्चार पेसामा आबद्ध छन् ।

‘हामी सबै छोरा विद्यावारिधि गर्न लागेका छौं,’ छोरा पृथुले भने, ‘यो हाम्रो तर्फबाट बुबालाई सबैभन्दा ठूलो उपहार हुनेछ ।’ मधेसमा केवट (मण्डल) भनेर चिनिने जातिका भए पनि कापडीले आफू एवं आफ्नो परिवारको नाम पछाडि थरभन्दा पनि उपनाम राख्छन् ।


‘बुहारीको उपनाम पनि मैले नै राखेको हुँ,’ छोराबुहारीको थरबारे स्पष्ट पार्दै उनले भने, ‘पृथु एक पुरुषार्थी पौराणिक राजाको नाम हो, भास्करको अर्थ सूर्य हुन्छ र श्रेयबाट श्रेया बनेको हो ।’ त्यहि भएर आफ्नो जेठो र कान्छो छोराको सुरुको नाम एउटै भए पनि थर फरक भएको उनले प्रस्टयाए । ‘कुनै जाति विशेषका रूपमा आफूलाई चिनाउनेभन्दा हरेक व्यक्तिले आफ्नो फरक पहिचान राख्नुपर्छ, त्यहि भएर हामी नाम पछाडि जातीय थर लेख्दैनौं,’ कापडीले भने ।


मैथिलि एवं अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनी हरपल भाषाको अध्ययन गरिरहेका हुन्छन् । छोरा पृथुको विराटनगरस्थित कर्मचारी क्वार्टरमा कापडीसँग भेट्न जाँदा उनी प्रा.डा. सोमप्रसाद खतिवडाद्वारा लिखित ‘नेपाली संस्कृति विश्वकोष’ पढिरहेका थिए । ‘निकै राम्रो पुस्तक रहेछ, समग्र नेपाली संस्कृतिकै उत्थानमा लोक भाषाको भविष्य निर्भर गर्छ,’ उनले भने ।


महापर्व छठको दिन २०१२ सालमा धनुषाको बघचौडा–५ मा जन्मिएका कापडीले लोक भाषाकै श्रीवृद्धिमा जीवन उत्सर्ग गर्दै आएका छन् । उनी नेपाल विद्यापति पाण्डुलिपि पुरस्कार २०६८ बाट सम्मानित भइसकेका छन् । उनको प्रकाशित कृतिमा मैथिली बालगीत साहित्य, नेपालीय मैथिली साहित्यिक इतिहास, मैथिली बालनाटक एवं रंगमञ्च, गहन उगरास (मैथिली बालनाटक), कथा पुराण (लोक कथा संग्रह), कबछुआ–कसार (व्यंग्य संग्रह), घुटुक (बालगीत संग्रह) र टटकाल दर्शन (मैथिली नाटक) छन् ।


उनी अहिले मैथिली बाल नाटकको ऐतिहासिक विश्लेषण र संकलन एवं मिथिला कला संस्कृतिको अनुसन्धान सम्बन्धी पुस्तकको लेखन पनि आरम्भ गरिसकेका छन् । कापडीले अहिलेसम्म ४० वटा मैथिली लोक साहित्यिकको आयोजनको संयोजन गरिसकेका छन् । उनले लगातार तीन वर्षसम्म मैथिली बाल संसदको आयोजना गरे ।


कापडीले स्थानीय रेडियोहरूमा मैथिली भाषा र साहित्यसम्बन्धी विभिन्न कार्यक्रमको सञ्चालन गरिसकेका छन् । सांस्कृतिक समिति युनेस्कोको निमित्त नेपाल राष्ट्र आयोगका सदस्य रहेका कापडी त्रिवि मैथिली समिति, मैथिली विषय स्थायी समिति, नेपाल मैथिली साहित्य परिषद र विश्व बालसमाज–विश्वासका अध्यक्ष हुन् ।


साथै मैथिली विकास कोषका सदस्य सचिव एवं मैथिली अकादमीका सदस्य र मैथिली विषय समिति, उच्च शिक्षा माध्यमिक परिषदका पूर्वसदस्य पनि हुन् । जनकपुरबाट प्रकाशित हुने भूमिजा (मैथिली अर्धवार्षिक पत्रिका), विद्यापति टाइम्स/धुवा धजा (मैथिली साप्ताहिक), मिथि (अनियतकालीन पत्रिका), आहट (मैथिलि त्रैमासिक), मैथिली काव्य चौपाडी (मासिक) का सम्पादक र सीमाञ्चल दैनिकका पूर्वसम्पादक हुन् ।

प्रकाशित : चैत्र १२, २०७५ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?