१० वर्षमा पनि बनेन पुल

त्रियुगा नदीमा निर्माणाधीन ३ सय ७ मिटर लामो पुल ठेकेदारको लापरबाहीका कारण अधुरै
डिल्लीराम खतिवडा

उदयपुर — सुरु गरेको एक दशक बितिसक्दा पनि त्रियुगा नदीको सिवाईमा पक्की पुलको काम सकिएको छैन । ठेकेदारको लापरबाहीका कारण पुल  अलपत्र परेको हो ।

१० वर्षमा पनि बनेन पुल

पुल नबन्दा यस क्षेत्रका बासिन्दालाई आउजाउमा समस्या छ । हिउँदमा अस्थायी रूपमा बनाइएको बालुवाको पुलले राहत भए पनि वर्षामा समस्या भोग्नु परेको स्थानीयको भनाइ छ । १ नम्बर प्रदेशका ठूला नदीमध्ये त्रियुगा पनि एक हो । सप्तरीको फत्तेपुर, उदयपुरको सिवाई–बेलटार हुँदै खोटाङको चिसापानी बजार जोड्ने गरी चौडण्डिगढी नगरपालिका–५ त्रियुगा नदीको सिवाईमा २०६७ सालबाट पुल निर्माण सुरु गरिएको थियो ।


‘विभिन्न बहानामा काममा गर्ने ठेकेदारले निर्माण कार्यालाई तीव्रता दिन सकेको छैन,’ चौडण्डिगढी ५ सिवाईका राजेश राईले भने, ‘ठेक्कदारको लापरबाही गर्दा काम ढिलाइ भएको हो ।’ सडक विभागले वास्ता नगर्दा पनि पुल निर्माणमा समस्या भएको उनले बताए । पुल निर्माणको ठेक्का महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सनले लिएको हो । तर ठेक्का लिएको महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सनले आफूले काम नगरेर अन्यलाई जिम्मा दिएकाले पनि ढिलाइ भएको स्थानीयले बताए ।


पुल निर्माण सुरु गर्दा महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सनको मालिक आफैं भएको भन्दै रामेछापका कमलबिक्रम कार्की काम गरेका थिए । तर उनले महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सनसँग सबकन्टाक्टर भएर काम गरेको र घाटा भएपछि काम अलपत्र पारेर भागेकाले पनि निर्माण कार्यमा ढिलाइ भएको चौडण्डिगढी नगरपालिका ५ वडाध्यक्ष देवनारायण चौधरीले बताए ।

तर महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सनले पनि पुलको निर्माण कार्य विभिन्न बहानामा कछुवा गतिमा अगाडि बढाइरहेको वडाध्यक्ष चौधरी बताउँछन् । पुल निर्माण स्थलमा अहिले महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सनका प्राविधिक, कर्मचरी कोही पनि छैन । जिल्लाको दोस्रो व्यापारिक केन्द्र बेल्टार बजारसँग खोटाङको चिसापानी बजारलाई राष्टिय सडक सञ्जालमा जोड्न सरकारले यो पुल निर्माण गर्ने निर्णय गरेको हो ।


पुलको निर्माण आर्थीक बर्ष ०७०/७१ सम्पन गर्ने गरी काम सुरु गरिएको थियो । तर विभिन्न बहानामा निर्माणको समय सीमा लम्बिदै गएको छ । ९ करोड ७६ लाखको लागत इस्टिमेट गरिए पनि मूल्य समायोजनका कारण १३ करोडभन्दा माथि पुगिसकेको सम्बद्ध प्राविधिक बताउँछन् ।


पहिलेको डिजाइन परिवर्तन गरेर नयाँअनुसार गर्दा काम ढिलाइ भएको निर्माण कम्पनी महालक्ष्मी/लोकप्रिय कन्स्ट्रक्सन जेभीले जनाएको छ । कन्स्ट्रक्सन कम्पनीका अनुसार पुल निर्माणका लागि तीन वटा पिलर बनाउने स्थानमा नदीभित्र रूखको ठूलो ठुटा भेटिएपछि निर्माण कार्य प्रभावित भएको हो ।


यता पुल निर्माणको काम झन्डै ८० प्रतिशत सकिएको पुल हेर्ने गाईघाट दिक्तेल सडक आयोजन कार्यालय गाईघाटले जनाएको छ । ‘पुल निर्माणको काम ८० प्रतिशत सकिएको छ,’ अयोजनाका सूचना अधिकारी इन्जिनियर निर्जल श्रेष्ठले भने, ‘पिलर बनाउने स्थानमा भेटिएको रूखको ठुटा काट्ने काम भइसकेको छ, त्यसलाई निकाल्न ड्रयगलाइन मेसिन आवश्यक पर्दछ ।’ त्यसो मेसिन पनि ल्याउन लागिएको र दुई चार दिनभित्रै मेसिन आउने र रूखको ठुटा झिकेर काम अगाडि बढाइने उनले बताए ।


पुल निर्माण सुरुदेखि नै सुस्त गतिमा भइरहेको चौडण्डिगढी नगरपालिका प्रमुख खग्रेन्द राईले बताए । ‘पुल छिटो सक्न र कामलाई तीव्रता दिन कन्स्ट्रक्सन कम्पनी र सडक विभागलाई पटकपटक अनुरोध गरिएको छ,’ नगर प्रमुख राईले भने, ‘नगरपालिकाले पनि पुल चाँडै सकियोस् भनेर कन्स्ट्रक्सन कम्पनीलाई सहयोग गरिरहेकै छ ।’ सम्भवतः आगामी आर्थिक वर्षमा पुल निर्माण भइसक्ने उनले बताए ।


३ सय ७ मिटर लामो डव्बल लेन्थको पुल निर्माण सम्पन्न भई सञ्चालनमा आए दोस्रो ठूलो व्यापारिक केन्द्र बेल्टार बजारसँगै सप्तरीको पूर्व उत्तर र खोटाङको दक्षिण भेगका बासिन्दाले ठूलो राहत पाउने थिए ।

प्रकाशित : चैत्र १२, २०७५ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?