कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चार पुस्ता एउटै पेसामा

होम्ताङ, भोजपुर — यहाँका चार पुस्ता एउटै व्यवसायमा छन् । पुस्तान्तर हुँदै सय वर्षभन्दा पहिलेदेखि उनीहरूको पेसा चलिरहेको छ । गाउँका सबै उमेर समूहका व्यक्तिसँग एउटै पेसा व्यवसाय गर्ने सीप छ । त्यसैले हतुवागढी गाउँपालिका ६ होम्ताङका झन्डै ६ सय ४२ परिवारमध्ये ९० प्रतिशतले नाङ्लो बुन्ने गरेका छन् ।

चार पुस्ता एउटै पेसामा

होम्ताङका २ हजारभन्दा बढीले नाङ्लो बुन्ने काम गरिरहेका छन् । नाङ्लो बन्ने सीप उनीहरूको पुस्तौनी हो । सय वर्षभन्दा पहिलेदेखि होम्ताङबासीले नाङ्लो बुन्दै आएको इतिहास छ । होम्ताङ विकट क्षेत्रको एउटा अत्यन्तै दुर्गम गाउँ हो । जहाँ सय वर्षअघिदेखि

जीविकोपार्जनका लागि नाङ्लो बुन्ने पेसा निरन्तर चलिरहेको छ । गाउँका सबैले एउटै पेसा गर्छन् ।


हजुरबा हजुरआमादेखि नाति नातिनी, पनातिपनातीनीसम्म सबैको हातमा नाङ्लो बुन्ने सीप छ । त्यसैले होम्ताङमा नाङ्लो उत्पादन गर्ने पेसा सय वर्षभन्दा पहिलेदेखि निरन्तर चलिरहेको छ । होम्ताङका बूढाबूढी, युवा युवती र विद्यालयमा पढ्दै गरेका बालबालिका सबैका हातमा नाङ्लो बताउने सीप छ । यही सीपबाटै वर्षौंदेखि उनीहरूको गुजारा चलिरहेको छ ।


हजरुबाजेको पुस्ताबाट नातिसम्म हस्तान्तरण हुँदै आएको नाङ्लो बनाउने सीप पनातिसम्म पुगेको छ । न्यूनतम मासिक २० हजारदेखि ५० हजार रुपैयाँसम्म कमाइ गर्ने यहाँका गाउँलेले केही वर्ष अघिसम्म नाङ्लो बिक्रीका लागि सुनसरीको चतरा र धरान लैजानु पर्ने बाध्यता भए पनि अहिले गाउँमै बिक्री हुने गरेको छ । प्रतिगोटा ७० देखि १ सय १० रुपैयाँसम्म नाङ्लो गाउँमै खरिद हुन्छ । यहाँको नाङ्लो नेपाल तथा भारतका विभिन्न बजार पुग्ने गरेको व्यवसायमा संलग्न व्यवसायी प्रकाश राईले बताए ।


‘होम्ताङबासीको आर्थिक उपार्जनको मुख्य स्रोंत नै नाङ्लो हो,’ ४८ वर्षीय सामाजसेवी अरुणलता राईले भनिन्, ‘यहाँ सातामा सय वटासम्म नाङ्लो बनाउने व्यक्ति छन् ।’ त्यसैले होम्ताङवासीको मुख्य व्यवसाय नै नाङ्लो भएको उनले बताइन् । होम्ताङमा वर्षभरीमा एक बाली कोदो र मकैमात्रै खेती गरिन्छ ।


खेतबारी थोरै, सिँचाइको सुविधा नभएकाले कोदो मकै बाहेक अन्य खेती नहुने किसान बताउँछन् । ‘पाखोबारीमा मकै कोदो बाहेक अन्य खेती हुँदैन,’ नाङ्लो बुन्ने समूहका अध्यक्ष समेत रहेका ५४ वर्षीय सुरजीत राईले भने, ‘अन्न उत्पादन नभएकाले नै होला बाउबाजेले गुजाराका लागि नाङ्लो बुन्ने पेसा गरेको ।’ त्यसैले आफूले पनि बाजेसँगै नाङ्लो बुन्ने र धनकुटा हिले, सुनसरीको चतराको बाजर पुर्‍याएर बिक्री गर्ने गरेको उनले बताए ।


खेतीबाट उत्पादन भएको अन्नले वर्षमा ३ महिना पनि नपुग्ने सुरजीतले बताए । बाउबाजे पनि अन्न उत्पादन नभएकाले नै नाङ्लो बुन्ने र त्यसैबाट गुजारा गर्ने गरेकाले अहिले छोरानातिले पनि त्यसैलाई निरन्तरता दिँदै आएको उनी बताउँछन् । पहिलेपहिले नाङ्लो बुन्नुभन्दा त्यसलाई बजार फुर्‍याएर बिक्री गर्न समस्या थियो । तर अहिले आएर बित्रीमा समस्या नभएको र बोकेर बजार पुर्‍याउनुपर्ने झन्झट नभएको स्थानीयले बताए । ५ वर्षदेखि नाङ्लो बिक्री गर्ने समस्या हटेको छ ।


गाउँ सडक आएपछि घर घरमै व्यापारीले आएर खरिद गर्ने गरेको नाङ्लो उत्पादन गर्नेहरू बताउँछन् । पुस्तौनी सीप हस्तारन्तरण हुँदै आएकाले नाङ्लो बुन्ने पेसा होम्ताङका सर्वसाधारणका लागि सजिलो लाग्ने गरेको छ । परिवारका सवै सदस्यको सीप भएकाले समूहमा नांलो बुन्ने गरिन्छ । कसैले नाङ्लो बुन्न आवश्यक पर्ने चोया काड्ने, कसैले बाँस किनेर ल्याउने, कसैले फेरो लगाउने, विट बनाउने र बाँध्ने काम गर्ने गरेका छन् ।


समूहमा नाङ्लो बुने पनि घर खर्च गरेर बचेको पैसा संलग्न सदस्यको पेवा (निजी) पनि हुने गरेको छ । नाङ्लो बुन्ने पेसामा विद्यालय, कलेज पढ्ने विद्यार्थीदेखि ८० वर्ष पुगेका बृद्धबृद्धासम्म संलग्न रहेको स्थानीयले बताए । ‘विद्यालय समयमा विद्यालय जान्छु, फुर्सद भएपछि नाङ्लो बुन्छु,’ स्थानीय प्रजातन्त्र माध्यमिक विद्यायलमा कक्षा ९ पढ्दै गरेकी कौसीला राईले भनिन्, ‘आफूले लगाउने लुगा कपडा, पढाइ खर्च र गरगहना लगाउने पैसा नांलो बुनेर नै कामउँछु ।’


बिहान बेलुका पढाइसँगै नाङ्लो बुन्ने र दिउँसो स्कुल जाने गरेको उनले बताइन् । एउटा सग्लो बाँसबाट १५ वटा नाग्लो बुन्ने कौसीलाले बताइन् । ५० रुपैयाँमा खरिद गरेको एउटा बाँसबाट १५ नाङ्लो बुन्ने र त्यसबाट न्यूनतम हजार रुपैयाँ आम्दानी हुने गरेका उनले बताइन् । औसतमा एउटा व्यक्तिले सातामा सय वटासम्म नाङ्लो बुन्ने गरेको कौसीला बताउँछिन् ।


विद्यालय जाने विद्यार्थीदेखि बूढाबूढीले समेत नाङ्लो बुन्ने गरेको स्थानीय ८५ वर्षीय इन्दमाय राइले बताइन् । ‘होम्ताङमा जन्मिने बच्चाले जन्मिदै नांलो बुन्ने सीप सिक्छ भन्दा फरक पर्दैन,’ इन्द्रमायाले भनिन्, ‘नाङ्लो बुन्ने सीप पुस्ता हस्तान्तरण भए जस्तै हस्तान्तरण भएर आउने हो ।’ यहाँका हरेक परिवारका हरेका सदस्य नाङ्लो बुन्छन् र त्यसबाट आउने आम्दानीले आफ्ना लागि आवश्यक पर्ने वस्तु र सेवाको खरिद गर्ने गरेको उनले बताइन् ।


इन्द्रमायाले ३ रुपैयाँ गोटादेखि नाङ्लो बिक्री गरेको बताइन् । ‘सुरुमा ३ रुपैयाँ गोटाका दरले चतरा बजारमा पुर्‍याएर नाङ्लो बिक्री गरेको मलाई थाहा छ,’ उनले भनिन्, ‘अहिले घरमै सय रुपैयाँमा नांलो बिक्री हुने गरेको छ ।’ पेसा नै नाङ्लो बुन्न भएपछि पैसाभन्दा पनि गुजाराका लागि काम गरिरहेको उनले बताइन् ।


यसरी पूरै गाउँ लामो समयदेखि निरन्तर एउटै पेसामा संलग्न भइरहदा र पछिल्लो पुस्तासम्म सीपको हस्तान्तरण भइरहदा पनि सरकारी स्तरबाट भने कुनै चासो, खोजी र सहयोग हुन सकेको छैन । यस वर्ष मात्रै वडा कार्यालयले नाङ्लो उत्पादन कार्यलाई सामूहिक रूपमा अगाडि बढाउन केही रकम विनियोजन गरेको वडाध्यक्ष सागर राईले बताए ।

प्रकाशित : चैत्र १७, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?