कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुध्रिएन सिद्धिचरण लोकमार्ग

डिल्लीराम खतिवडा

उदयपुर — बर्षेनी खर्चे पनि सिद्धिचरण लोकमार्गको अवस्था सुधारिन सकेको छैन । बनेको डेढ दशक नबित्दै लोकमार्गको झन्डै ८५ प्रतिशत भाग जीर्ण बनेको छ । पटक/पटक निर्माण, पुननिर्माण र मर्मत गर्ने भनिए पनि अहिलेसम्म सडकको अवस्था सुधार हुन सकेको छैन ।

सडक बनेको दुई/चार वर्ष सहज भए पनि त्यसयता भत्कँदै गएको सडक अचेल धूलाम्य भएको छ । समयमै मर्मत नहुँदा बर्सेनि ठूला दुर्घटना हुने गरेका छन् । लोकमार्गको संवेदनशील क्षेत्र मानिने कटारी/घुर्मी खण्ड ठाउँठाउँमा भत्किएको छ ।

ठूलाठूला खाल्डो परेका कारण सवारी आवगमनमा समस्या छ । सामान्यतः १० टन भार क्षमताको सवारी साधन सञ्चालन हुनुपर्ने सडकमा क्षमताभन्दा बढी भार बोकेर सवारी साधन गुड्ने गरेका छन् । कटारी/घुर्मी ४६ किलोमिटर सडकमा एकतर्फी यात्रा गर्नसमेत समस्या छ । तर दोहोरो सवारी साधन सञ्चालन हुने ४६ किलोमिटर क्षेत्रको अधिकांश भाग भत्किएको स्थानीय बताउँछन् ।

त्यसैगरी कटारी/मिर्चैया २६ किलोमिटरको अवस्था उस्तै छ । दोहोरो यातायता सञ्चालन हुने कटारी/मिर्चैया खण्डमा १०/१२ चक्के सवारी साधनले ३० टन भार बोकेर आवगमन गर्दा सडकको अस्तित्व नै मेटिएको छ । ‘कटारीदेखि घुर्मीसम्म पूरै सडक भत्किएको छ’ स्थानीय नरमान नगरकोटीले भने, ‘सडक मर्मत र पुनर्निर्माण गर्ने भनेको धेरै वर्ष भयो , तर अहिलेसम्म भएको छैन ।’

सडक मर्मत मात्रैले सुधार हुने अवस्था छैन । त्यसैले पुनर्निर्माण गर्नु आवश्यकता रहेको उनले बताए । कटारी बजारदेखि घुर्मीसम्मको सडकमा वटासिल गरिएको थियो । तर डेढ दशक नपुग्दै अधिकांश स्थानमा वटासिल उकिएर धूले सडक बनेको छ । माथिल्लो सगरमाथाका सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङलाई तराईसँग जोडने छोटो मुख्य सडक जीर्ण बन्दै जादाँ समस्या हुने गरेको स्थानीयले बताए । सडक जीर्ण हुँदा मुलुको माथिल्लो सगरमाथा घुम्न आउने स्वादेशी तथा विदेशी पर्यटक समेत हिंडन छोडेको कटारीका होटल व्यवसायी प्रताप राईले बताए ।


‘तराईबाट सडकमार्ग हुदै माथील्लो सगरमाथा जाने पर्यटकको पहिलोका जस्तो चहल पहल छैन’ होटल व्यावसायी राईले भने, ‘सिद्धिचरणको अवस्था खस्किँदै जाँदा पर्यटक आवगमनसमेत प्रभावित भएको हो ।’

लोकर्माग लोकर्मागजस्तो पनि नहुँदा सर्वसाधारणसमेत समस्यामा परेकोउनले बताए ।सडकलाई नै विकारको मुख्य मेरुदण्ड मानेका स्थानीय सडकको स्तरउन्नति नहुँदा समस्यामा परेको उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर खड्काले बताए ।

‘सिद्धिचरणकै कारण कटारी बजारको व्यापार व्यवसाय चौपट भएको छ,’ अध्यक्ष खड्काले भने, ‘वर्षातको सुरुआतसँगै सिद्धिचरणको ठाउँठाउँमा सडक अवरुद्ध हुन थालेको छ ।’ सामन्य वर्षातमा समेत अवरोध हुने लोकर्माग वर्षातमा ठप्प हुँदा व्यावसायीले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था रहेका उनले बताए ।

सगरमाथाको प्रवेशद्वारको रूपमा परिचित कटारी बजार माथिल्लो क्षेत्रको मुख्य व्यापारिक केन्द्रसमेत हो । कटारी बजारबाटै तराईमा उत्पादन हुने दैनिक उपभोग्य वस्तुदेखि इन्धन र निर्माण सामग्रीसमेत माथिल्लो सगरमाथामा आपूर्ति गरिन्छ । सिद्धिचरण अवरुद्ध हुनासाथ माथिल्लो क्षेत्रमा कृत्रिम महँगी सृजना भई उपाभोक्तासमेत मारमा पर्ने गरेका छन् ।

जसले गर्दा माथिल्लो क्षेत्रका सर्वसाधारणले महगीको मार खेप्नुपर्छ भने कटारीका व्यापारीलाई बैंकको कर्जा तिर्न समस्या हुने गरेको वाणिज्य संघका महासचिव जमानसिंह बस्नेतले बताए । ‘सिद्धिचरण लोकर्मागका भनेको कटारी नगरपालिकाको मेरुदण्ड हो,’ कटारी नगरपालिकका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले भने, ‘विकासको मेरुदण्डको रूपमा रहेका लोकमार्ग जीर्ण हुँदा समग्र कटारी नगरपालिकाको विकार अवरुद्ध भएको छ ।’

कटारी नगरपालिकाको दक्षिण सिमाना सिरहा जिल्लादेखि उत्तरको ओखलढुंगाको हर्कपुरसम्म लोकर्मागले विस्तार भएकाले यसको स्तरउन्नति नहुँदा सर्वसाधारणले कठिनाइ भोग्नुपरेको उनले वताए ।


सिद्धिचरण लोकर्माग कटारी नगरपालिको मध्यभाग भएर उत्तर दक्षिण फैलिएको छ । तल्लो चुरे जंगलदेख माथिल्लो महाभारत पर्वत शृंखलासम्म फैलिएको लोकर्मागको चाँडै स्तरउन्नतिको काम नहुने हो भने बाजेको पालामा डोकोमा नुन बोकेर गुजारा गर्ने माथिल्लो क्षेत्रका सवसाधारण नातिको पालामा पनि उस्तै सास्ती खेप्नु नपर्ला भन्न सकिने अवस्था छैन ।

प्रकाशित : चैत्र २१, २०७५ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?