कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

फोहोर फाले जरिवाना

जितेन्द्र साह

विराटनगर — ‘सावधान १ फोहोर फालेमा पाँच सय रूपैयाँ जरिवाना गरिनेछ ।’ महानगर विराटनगरको सरकारी कार्यालयहरूको अघिल्तिर एवं वडा पिच्छैको टोलबस्तीमा यस्तो बोर्ड झुन्डयाइएको वा पर्खालमा ठोकिएको देख्छौं । हजार वा पाँच हजार जरिवाना उल्लेखित सार्वजनिक सूचना टाँस गरिएको भने कमै भेटिन्छ ।

फोहोर फाले जरिवाना

तर, यहाँका टोलबासी वा अन्यले अहिलेसम्म कसैलाई पनि सार्वजनिक थलोमा फोहोर फाल्दा वा दिसापिसाब गर्दा जरिवाना गरेका छैनन् । यस्ता चेतावनीबाट नागरिकको आनीबानीमा भने सुधार भइरहेको केही सरोकारवालाहरू बताउँछन् ।


महानगरपालिकाको देवकोटा चोकस्थित जिल्ला समन्वय समिति (जिसस) र प्रदेश सभा सचिवालय अघिल्तिरको पर्खालमा दुई महिना अगाडिदेखि दुई वटा यस्तै बोर्ड राखिएको छ । ‘अगाडिको पर्खाल र नालाले सुलभ सशैचालयको रूप लिएपछि स्पष्ट एवं कडा चेतावनी सहित सूचना बोर्ड ठोकिएको हो,’ सचिवालयका प्रहरी जवान उमेशकुमार महतो भन्छन् ।


सीमावर्ती विराटनगर रानी निवासी उनका अनुसार अहिलेसम्म कसैलाई जरिवाना नगरिए पनि बटुवाको आनीबानीमा बिस्तारै सुधार भइरहेको छ । ‘यो बोर्ड राख्नुअघि यहाँ दिनहुँ औषत १० जनाले सौच गर्थे भने अहिले यो संख्या ४ मा झरेको छ,’ महतोले भने, ‘यस्तो खुला सार्वजनिक थलोमा दिसापिसाब गर्न खोजेको देखेमा कार्यालयभित्र लगेर सम्झाउँछौं ।’ जिससको कार्यालय र सचिवालयमा नागरिक प्रयोगका लागि शौचालय छ ।


‘दिसापिसाबले निकै च्यापेमा सुरक्षाकर्मीको अनुमति लिएर बटुवाहरूले यी कार्यालयहरूको शौचालय प्रयोग गर्न सक्छन्,’ महतोले भने । प्रहरीको सचेतना प्रयासपछि पहिलेको तुलनामा यो चोक कम फोहोर हुन थालेको स्थानीय पान व्यवसायी ५५ वर्षीय ज्योति भट्टराई बताउँछन् ।


‘जनतामा धेरै सकारात्मक प्रभाव परेको छ,’ उनी भन्छन्, ‘पहिलापहिला त दुर्गन्धले पसलमा बसिनसक्नु हुन्थ्यो ।’ महानगरको धरमबाँध मार्गका स्थानीयले पनि सडक र नालालगायत वातावरणीय सरसफाइका लागि यस्तै बोर्डको सहारा लिएका छन् । ‘सडक छेउछाउ पिसाब फेर्ने क्रममा बटुवालाई फेला पारेमा कान समाउन लगाएर उठबस गराउने र कुनै टोलबासीले त्यस्तो गरेको फेला परेमा कुचो, फिनायल र हर्पिकले त्यो थलोमा सफा गर्न लगाउँछौं,’ स्थानीय युवा राजीव यादव भन्छन् ।


कार्यालय अघिल्तिरको खुला ठाउँमा आवागमनकर्ताद्वारा पिसाब गर्ने प्रवृत्तिले नेपाल राष्ट्र बैंकको विराटनगरका सुरक्षाकर्मी पनि हैरान छन् । उनीहरूले पनि ‘पिसाब फेर्न मनाही छ’ भन्दै ५ सय रूपैयाँ जरिवाना गर्ने चेतावनीसहित कुटमा लिखित सूचना टाँसेर बाँसको फट्टामा ठोकी त्यहाँ गाडेका छन् ।


‘हामी सफाइ गर्छौं, स्थानीयले घरको कचरा फाली र यो मार्ग भएर ओहोरदोहोर गर्नेले पिसाब गरी फोहोर पार्छन्,’ सफाइ कर्मचारी ६० वर्षीया लक्ष्मीदेवी मरिक भन्छिन् । उनी राष्ट्र बैंकभित्र र बाहिरको परिसरमा सफाइ गर्छिन् । ‘नबुझ्नेलाई बुझाउने हो, बुझेर बुझ पचाउनेसँग केही लाग्दैन,’ उनी भन्छिन् ।


राष्ट्र बैंकको सुरक्षामा खटिएका भाइहरूले निकै कडाइ गरेकाले पहिलेको जस्तो अवस्था नरहेको मरिक बताउँछिन् । ‘बैंकको मुख्य द्वारमा चौविसै घण्टा पहरा दिने सुरक्षाकर्मीहरूले कसैलाई पनि सडक छेउमा दिसापिसाब गरेको वा फोहोर फालिरहेको देख्न बित्तिकै रोक्छन,’ उनी भन्छिन् । उल्लेखनीय के छ भने यो बैंकदेखि थोरै दूरीमा पूर्वपट्टिको हाटखोला चोकमा सुविधासम्पन्न सार्वजनिक शौचालय छ ।


हरेक क्षण सुरक्षाकर्मी रहने थलोको वरिपरि फोहोर फाल्न वा सौच गर्न नागरिक डराए पनि भित्री टोलबस्तीको अवस्था भने नाजुक छ । झिसेमिसेमा, साँझ वा अबेर राति घर अगाडि कुखुराको पखेटा, खसीको भुत्ला–हाड, माछाको कत्ला वा जुठो फाल्नेबाट स्थानीय दिक्क छन् ।


विराटनगर मिलन चोक मार्गका ३२ वर्षीय टेकबहादुर धिमालले लुकेर फोहोर फाल्नेबाट आजित भएर घर अघिल्तिरको बिजुलीको पोलमा जरिवानाको धम्की दिँंदै टाढैबाट देखिने गरी बोर्ड राखेका छन् । ‘सबै जना सुतिसकेको वा घरमा कोही नभएका बेला फोहोर फाल्ने असभ्यसँग कहाँ सकिन्छ र ?,’ उनी भन्छन्, ‘पाँच सय, एक हजार वा पाँच हजार रूपैयाँ जरिवाना गरिने भनेको त सांकेतिक चेतावनी न हो, आफूलाई भलादमी भन्नेले यति मात्र बुझे पुग्थ्यो ।’


धिमालका अनुसार बोर्ड राखिएकै ठाउँमा फोहोर फाल्नु भनेको त असम्भयताको पराकाष्ठा र अस्वस्थ मानसिकताको प्रदर्शन हो । आफूहरूले निरन्तर चेतनामूलक कार्यक्रमदेखि महानगर स्वच्छता अभियान सञ्चालन गरिरहेको महानगरपालिका सरसफाइ तथा वातावरण विभाग प्रमुख अनीता न्यौपाने कोइराला बताउँछिन् ।


‘सार्वजनिक आवागमनमा असर पर्ने गरी फोहोर फाल्नु हुन्न भन्ने शिक्षित र बुझक्कड महानगरबासीलाई हामीले सिकाइराख्नु नपर्ने हो,’ उनी भन्छिन्, ‘तर, महानगरपालिकाबाट फोहोर संकलन गर्न आउने बहानालाई जिम्मा लगाइनुपर्ने स्वास्थ्यका लागि अति हानिकारक रसायनजन्य सामग्री पनि स्थानीयले समग्र वातावरण प्रदूषण हुने गरी जलाउँन छाडेका छैनन् ।’

प्रकाशित : चैत्र २४, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?