कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

माछापालनमा युवा

डम्बरसिं राई

खोटाङ — मनग्ये आम्दानी हुने भएपछि युवाहरू रेन्बो ट्राउट माछा पालनमा लागेका छन् । अनुकूल वातावरण र राम्रो आम्दानीले उनीहरूलाई यो व्यवसायमा आकर्षित गरेको हो ।

माछापालनमा युवा

जिल्लामा करिब आधा दर्जन रेन्बोट्राउट माछा फार्म सञ्चालनमा छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ तालखर्कमा सगरमाथा एक्वा प्रालि र शुभम् फाउन्डेसनले पाँच वर्षअघिदेखि फार्म सञ्चालनमा आएको हो ।


यसले आम्दानी पनि राम्रो दिएको सञ्चालकमध्येका सूर्यबहादुर राईले बताए । सुरु–सुरुमा अध्ययनमै समय बितेको तर पछिल्लो समय भने राम्रो आम्दानी सुरु भएको राईले सुनाए । ‘यातायातको राम्रो व्यवस्था नहुँदा सुरुमा ढाकरमा दाना बोकेरै खुवाइयो ।’ राईले भने, ‘सुरुमा अध्ययन–अनुसन्धानमा समय गयो ।’ राईले थपे, ‘पछि भने राम्रो भइरहेको छ ।’


उक्त फार्मले रेन्बोट्राउट पालनबारे तालिम सञ्चालन गरेको छ । अहिलेसम्म करिब पाँच सय जनाले तालिम लिइसकेको राईले सुनाए । यहाँ रेन्बो ट्राउटको भुरा पनि पाइने भएकाले यो व्यवसाय फष्टाएर गएको राईले बताए । खोटाङका अन्य ठाउँहरूमा पनि माछा पालनको लहड चलेकाले आसलाग्दो पेसा बन्दै गएको राईको भनाइ छ । ‘प्रदेश नम्बर एकको एक मात्र रेन्बोट्राउट भुरा उत्पादन हुने हो यो ।’ राईले भने, ‘युवा पंती माछा पालनप्रति आकर्षित भएकाले यसको भविष्य राम्रै देखिन्छ ।’


यसबाहेक दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा पनि रेन्बोट्राउट फार्म सञ्चालन भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको करिब ३० लाख रूपैयाँ अनुदानमा युवा पंती यसमा संलग्न छन् । यसका लागि अहिले पूर्वाधार तयार भइरहेको नेर्पास्थित चिक्रकुमार राईले बताए ।


त्यस्तै दित्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका युवाले रेन्बोट्राउट फार्म सञ्चालनको तयारी गरेका छन् । जालपामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले दस लाख अनुदान दिएको छ । नगरपालिकाले नेर्पा र जालपालाई रेन्बोट्राउट पकेट क्षेत्र बनाएर युवालाई रोजगारी दिलाउने उद्देश्यका साथ काम भइरहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए ।


रावाबेसी गाउँपालिका–६ हौचुरमा पनि तीन वर्षदेखि रेन्बोट्राउट व्यवसाय सञ्चालन गरिएको छ । यसले राम्रो आम्दानी दिएको सञ्चालक मोहन गुरुङले बताए । साकेला गाउँपालिका–१ च्यानडाँडामा पनि रेन्बोट्राउट पालन सुरु भएको छ । यहाँ दुई वर्षदेखि माछापालन सुरु गरेको सञ्चालक संग्राम राईले बताए ।


त्यस्तै दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ सेम्मामा पनि रेन्बोट्राउट पालनको तयारी भइरहेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेका, केपिलासगढी गाउँपालिका–१ फेदी, ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्कमा पनि रेन्बोट्राउट पालन सुरु तयारी भइरहेको छ ।

प्रकाशित : चैत्र २५, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?