१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गुराँस फुल्ने बेला...

चन्द्र कार्की

तेह्रथुम — म त लालीगुराँस भएँछु
बनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु...
स्वरसम्राट नारायण गोपालले गाएको यो गीतमा भनिएझैं पूर्वी पहाडको बसन्तपुरदेखि मिल्के भञ्ज्याङसम्मका लेकाली वन पाखाहरू यति बेला राताम्मै छन् ।

गुराँस फुल्ने बेला...

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्र थरीथरीका गुराँस फूलले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । तीन जिल्लाको संगमस्थल टिएमजे अर्थात् गुराँसको राजधानी । नेपालमा पाइने ३२ प्रजातीका गुराँसमध्ये यस क्षेत्रमा २८ प्रजातिका गुराँस फुल्छन् ।

गुराँस फूलले मात्र होइन, पोखरी, सुन्दर ग्रामीण पहाडी बस्ती, मकालु र कञ्चनजंघा हिमशृंखला, एउटै उचाइको रमणीय पदमार्ग लगायतले गर्दा यो क्षेत्र रमणीय बनेको छ । ‘अबको केही दिनमा पूरै जंगल गुराँस फूलले राताम्मै देखिन थाल्छ,’ संखुवासभाको मादी नगरपालिकाका प्रमुख विदुर लिङथेपले भने । मादी नगरपालिका गुराँसभूमि तीनजुरे मिल्के जलजले क्षेत्रको बीचमा पर्छ ।


बसन्तपुरबाट थोरै अगाडि बढेर टुटेदेउराली नपुग्दै मनोरम गुराँसको जंगलले स्वागत गर्छ । मकालु र कञ्चनजंघा हिमालको आधार शिविरलाई गन्तव्य बनाउने र अरुण र तमोर नदीको छालमा र्‍याफटिङ गरी आनन्द लिनेहरूलाई लोभ्याउन सक्ने प्राकृतिक सौन्दर्य पनि यो क्षेत्रमा छ ।


गुराँसको सौन्दर्यमा रमाउन आएका आन्तरिक तथा वाह्य पर्यटकले तेह्रथुमको बसन्तपुरदेखि संखुवासभाको गुफाबजारसम्मका होटल तथा लजहरू भरिन थालेका छन् । रंगीचंगी गुराँस, बाटोभरी भेटिने चौरी र खच्चडको लस्कर, ठटेउली पारामा गीत गाउदै पिठ्युभरी भारी बोकेर यहाँ आउनेहरू पदयात्राभर शुद्ध कोदोको तोङवा र सुकुटीको खान्कीमा रमाउँछन् ।

छुर्पी, गुराँसको जुस र ऐसेलु र चुथ्रोको वाइन यस क्षेत्रका विशेषता हुन् । गुराँस संरक्षण अभियानमा लागेका प्रदेश सभासद लक्षमण तिवारी यो क्षेत्र पर्यटकका लागि गुराँस अध्ययन अवलोकनका गन्तव्य बनेको बताउँछन् । पछिल्लो समय भने बसन्तपुर गुफा हुदै ताप्लेजुङको सांँघु हुँदै फुङलिङ बजारसम्म मोटर बाटो निर्माण भइरहेकाले पदयात्रा केही घटेको छ ।

गुराँस क्षेत्रमा २ सयभन्दा बढी प्रजातिका वनस्पतीहरू पाइने गरेको बनस्पतिविद कमल मादेनले बताए । तेह्रथुम, संखुवासभा र ताप्लेजुङका १९ स्थानीय तहमा फैलिएको अरुण र तमोर जलाधार क्षेत्रमा पर्ने टिएमजेमा गुराँसको सबै भन्दा अग्लो र होचो प्रजाति समेत फुल्न थालेका छन् । ‘धेरै प्रजातिका गुराँस एकै स्थानमा फुल्ने भएकाले यस क्षेत्रलाई हामीले गुराँसको राजधानी भनेका छौं,’ ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने संघीय सांसद योगेश भट्टराईले भने ।

पर्यटन बिकास तथा प्रवर्द्धन समिति अध्यक्ष गोविन्द ढुंगाना यहाँको गुराँस वन संरक्षण गर्न सके पर्यापर्यटनको राम्रो सम्भावना रहेको बताउँछन् । यहाँका जीवजन्तु, चराचुरुङ्गी, बनस्पती, पुतली, फूललगायत थुप्रै विशेषताको संरक्षण गरी विकास गर्नु आवश्यक रहेको ढुंगानाले बताए ।

फूलबाट जुस र वाइन


गुराँसको फूलबाट जुस बनाउन थालेपछि यस क्षेत्रका बासिन्दाको आम्दानीको अर्को श्रोत थपिएको छ । जंगलभरी फूलेर खेर जाने गुराँसको फूल संकलन गरेर स्थानीय वासिन्दाले टुटेदेउरालीमा जुस उद्योग सञ्चालन गरेका छन् । फरक फरक प्रजातिका गुराँसका फूललाई छुट्टाछुट्टै संकलन गरेर प्रजाति अनुसारकै स्वादिलो जुस बनाउने गरिएको उद्योग सञ्चालक समितिले जनाएको छ । ओख्रे, टुटेदेउराली, पाँचपोखरी, चौकी, गुफा लगायतका स्थानमा गुराँसको फूलबाट जुस उत्पादन हुँदै आएको छ ।

गुराँसको फूललाई संकलन गरेर पिसेर लेदो बनाएपछि आवश्यकता अनुसार पानि हालेर त्यसमा बीस प्रतिशत चिनीको मात्रा मिलाएर केही समय उमालेर सेलाएपछि जुस तयार हुन्छ । यसरी बनाएको जुस प्रतिलिटर २ सयले बिक्री भइरहेको यसको व्यवसायमा लागेकाहरूको भनाइ छ ।

प्रकाशित : चैत्र २५, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?