कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टेम्पोमा लैजाँदै गरेकाे २० किलो गाँजासहित चारजना पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — टेम्पो रिजर्भ गरेर धनकुटाबाट विराटनगरतर्फ गाँजा ओसारपसार गरेको आरोपमा प्रहरीले २० किलो गाँजासहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ । 

टेम्पोमा लैजाँदै गरेकाे २० किलो गाँजासहित चारजना पक्राउ

धनकुटाको पाखि्रबास नगरपालिका-६ बस्ने ३५ वर्षीय नरबहादुर राई, खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका-१ बस्ने २३ वर्षीय आइते भनिने मदन राई, सहिदभूमि-३ घर भई हाल धरान- १७ बस्ने २३ वर्षीय विजय राई र विराटनगर-१५ बस्ने ३६ वर्षीय सुरजकुमार साह पक्राउ परेका छन् ।


शनिबार दिउसो पक्राउ परेका चारैजनालाई थप अनुसन्धानकालागि सोमबार अदालतबाट पाँच दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ । उनीहरुसँगैका एकजना फरार रहेका छन् । प्रहरीले नरबहादुर, मदन र विजयलाई धरान-१३ शिवधाराबाट र सुरजलाई धरान-८ साम्पाङ चोकबाट पक्राउ गरेको हो । उनीरुको साथबाट नगद ५० हजारसहित को१ह ६२५० टेम्पो र को९प ५७२५ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।


गाँजा विक्री वितरण र ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ परेका चारैजनालाई सोमबार सार्वजनिक गर्दै धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले भने, 'धनकुटाबाट टेम्पोमा प्याकिङ गरेर २० केजी गाँजा धरान हुँदै विराटनगर लगिदैछ भन्ने सूचनाका आधारमा शिवधारामा प्रहरीले 'एम्बुस थापेर' पक्राउ गरिएको हो ।'


गाँजा लोड गरेको टेम्पोमा नरबहादुर र मदन चढेका थिए । टेम्पोलाई नाम नखुलेका अर्का एकजनासहित विजय राईले मोटरसाइकलले स्कर्टिङ गरेर ल्याइरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।


प्रहरीले मोटरसाइकल र टेम्पो रोकेर खानतलासी गर्दा मोटससाइकलको पछाडि बसेका युवा तत्कालै भागेका थिए । टेम्पोमा दुईवटा झोलाभित्र एक किलोका दरले प्लाष्टिकले प्याकिङ गरेको गाँजा लुकाएर राखिएको थियो ।


तीनजनालाई पक्राउ गरेको केही समयमा विजयको मोबाइलमा विराटनगरका सुरजले पटक पटक फोन गरेका थिए । प्रहरीले ती व्यक्तिबारे सोधपुछ गर्दा मुख्य कारोबारी भएको जानकारी पाएपछि प्रहरीले गाँजा उत्पादक विजय बनेर बोल्दै 'एकजनालाई प्रहरीले समातेको र प्रहरीसँग कुरा मिलेकाले छुटाउनकालागि १ लाख रुपैया लिएर धरान आउन' भनेका थिए ।


विजयको मोबाइलबाट आफूलाई फोन गर्ने व्यक्ति प्रहरी भएको भेउ पाउन नसकेका सुरज तत्कालै धरान आएका थिए । विराटनरबाट प्रहरीलाई घुस दिएर साथ छुटाउनकालागि पैसा बोकेर आएका सुरजलाई पनि साम्पाङ चोकबाट पक्राउ गरिएको प्रनाउ तिम्सिनाले बताए ।


प्रहरीका अनुसार धनकुटाको खाल्सा, छिन्ताङ, आहाले लगायतमा उत्पादित तयारी गाँजाको मुख्य खरिदकर्ता सुरज साह रहेको पनि अनुसन्धानबाट खुलेको छ । सुरजले ती गाँजा जोगबनी र पूर्वी नाका काकडभिट्टा पारी पानीट्याङ्कीका भारतीय बजारमा प्रतिकिलो २५ हजार रुपैया भन्दा बढिमा विक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।


प्रनाउ तिम्सिनाले धनकुटा प्रहरीसँग समन्वय गरेर गाँजा उत्पादन गर्ने क्षेत्रलाई पनि कारबाहीको दायरामा ल्याउने पहल भइरहेको बताए । उनले पक्राउ परेका सबैलाई लागूऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३ अनुसार लागुऔषध ओसारपसार तथा बिक्री वितरण गर्नेलाई कारबाही गर्ने बताए । उक्त ऐनको परिच्छेद ३ को दफा १४ अनुसार १० केजी बढी गाँजा ओसारपासर गर्नेलाई २ देखि १० वर्ष कैद र १५ हजारदेखि १ लाखसम्म जरिवानाको व्यवस्था छ ।

प्रकाशित : चैत्र २५, २०७५ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?