२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

बराहक्षेत्रमा अर्धकुम्भ मेला

धार्मिक सर्किट बनाउने प्रदेश सरकारको गुरूयोजना
प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको चतराधाममा आयोजित अर्धकुम्भ मेलामा श्रद्धालु भक्तजनको भीड बढेको छ । धरानस्थित पिण्डेश्वर बाबाधामबाट रुद्राभिषेक तथा स्तोत्र पाठसहित कुम्भ घडा कलशयात्रा गर्दै शनिबार अर्धकुम्भ मेलाको सुरुवात गरियो ।

बराहक्षेत्रमा अर्धकुम्भ मेला

कुम्भ मेलालाई हिन्दु धर्मावलम्बीले महान् स्नान पर्वका रूपमा लिन्छन् । सप्तकोसीको किनारमा रहेको चतराधाममा कुम्भस्नान गर्न नेपालका विभिन्न स्थानका साथै र भारतबाट हिन्दु धर्मावलम्बी आउन थालेका छन् ।


भारतमा मात्रै कुम्भ मेला लाग्दै आएकोमा प्राचीन हरिद्वार मानिने बराहक्षेत्रको चतरामा प्रथम पिण्डेश्वर महाकुम्भ मेला ०५९ वैशाख १ गतेदेखि जेठ १ गतेसम्म पहिलो पटक नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले सुरु गरेका थिए । यसैको निरन्तरता दि“दै बराहक्षेत्र चतरालाई पूर्वको धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न फेरि अर्धकुम्भ मेला आयोजना गरिएको हो ।


अर्धकुम्भ मेला वैशाख २६ गतेसम्म जारी रहने छ । मेला अवधिभरि स्वदेश र विदेशबाट करिब १ करोड भक्तजन आउने दाबी गरिएको छ । प्रदेश सरकारले मेला व्यवस्थापनका लागि अस्थायी रूपमा सम्पर्क कार्यालय नै राखेको छ । मेला संयोजकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की छन् । कुम्भका लागि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ ।


हरेक १२ वर्षमा महाकुम्भ मेला लाग्छ । प्रत्येक ६ वर्षमा लाग्ने मेलालाई अर्धकुम्भ मेलाका रूपमा चिनिन्छ । चतराको कुम्भस्थानमा ५९ फुट अग्लो कुम्भस्तम्भ समेत निर्माण गरिएको छ । पौराणिक ग्रन्थअनुसार समुद्र मन्थनपछि उत्पन्न अमृतमय कुम्भघडा आफ्नो बनाउन देवता र दैत्यका बीच विवाद हुँदा जहाँ–जहाँ अमृत खस्यो, त्यहाँ–त्यहाँ कुम्भ लाग्ने भनेर बताइएको छ । भारतको हरिद्वार, तीर्थराज प्रयाग, अवन्तिकापुरी साथै गोदावरी तट गरी चार स्थानमा अमृतका विन्दुहरू झरेका हु“दा यी चार स्थानमा पहिलादेखि नै कुम्भ भनेर विख्यात भएको छ ।


प्राचीन हरिद्वार चतराधाम–धरानको पिण्डेश्वरमा भने अमृतिको थोपा नभएर पिण्ड नै खसेको श्रीमद् स्कन्ध महापुराणको हिमादिखण्ड अध्याय १२ को ३५ देखि ३८ सम्मका श्लोकहरूमा स्पष्टसँग बताइएकाले हिन्दु धर्मावलम्बीको मुख्य कुम्भ चतरा–पिण्डेश्वरधाम भएको जगदगुरु बालसन्तले बताए । धार्मिक पर्यटकीय सर्किट बनाइने प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्राकृतिक रूपमा रमणीय रहेको कोसीको किनारस्थित बराहक्षेत्र चतराधामलाई विशेष धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न अलग्गै गुरुयोजना बनाउने तयारी भइरहेको बताएका छन् ।


उनले सुनसरीका धार्मिक पर्यटकीय स्थलहरू पिण्डेश्वर बाबाधाम, दन्तकाली शक्तिपीठ, बुढासुब्बा, विष्णुपादुका, सूर्यकुण्ड, रामधुनी, छिन्नमस्तालगायत धार्मिक तीर्थस्थललाई जोडेर धार्मिक सर्किट बनाउने गुरुयोजनाको तयारी भइरहेको बताए । उनले भने, ‘पूर्वको धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न बराहक्षेत्रलाई केन्द्रबिन्दु बनाएर प्रदेश सरकारले गुरुयोजना तयार गर्नेछ ।’


उनले महाभारतमा समेत बराहक्षेत्रको महिमा गाएको र कोसी सभ्यताको विकास भएको नेपालको सबैभन्दा पुरानो पवित्र देवस्थल भएकाले विकास गर्न जरुरी रहेको बताए । बराहक्षेत्रको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारको चासो रहेको उल्लेख गर्दै उनले तिनै तहका सरकार यसको विकासमा लागेको बताए । उनले भने, ‘बराहक्षेत्रबाट सिन्धुपाल्चोकको दोलालघाटसम्म जल पर्यटनको सम्भाव्यता अध्ययनको तयारी भइरहेको छ ।’

प्रकाशित : चैत्र २६, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?