सफल बनेन प्याराग्लाइडिङ

आनन्द गौतम

ताप्लेजुङ — २०७५ असोज ३१ गते । दसैंको महाअष्टमीको दिन थियो । हङकङलाई कर्मथलो बनाएका सन्तोष पाख्रिङको टोली प्याराग्लाइडिङ उडानका लागि ताप्लेजुङ आएका थिए । तीन जनाको टोलीले अष्टमीको दिन विहानदेखि दिनभरि उडानको प्रयास गरे तर सफल भएनन् ।

सफल बनेन प्याराग्लाइडिङ

उडान हेर्न र सम्भावित अध्ययनका लागि फुङलिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेल सुकेटार पुगेका थिए । प्याकुरेलको चाहना सम्भाव्यता अध्ययन गर्ने र सफल भए यो क्षेत्रमा लगानी गर्ने थियो । तर लगातार तीन दिनको प्रयास असफल भएपछि यसको अध्ययनको विषय नै ओझेलमा परेको छ ।


ताप्लेजुङवाट हङकङ गएर व्यवसाय गर्नेहरू पनि यो क्षेत्रमा लगानी गर्न इच्छुक रहेको सन्तोष बताउँछन् । उनीहरूको मन जित्न र व्यावसायिक विकासकै लागि उनी धरानदेखि टोली लिएर आएका थिए । ‘समय कम थियो, तीन दिनसम्म लगातार उडान गर्ने र ताप्लेजुङको सम्भावनाको विषयमा जानकार हुने इच्छा राखेका थियौं,’ पाख्रिनले भने, ‘तोकिएको अवधिमा मौसम नखुलेपछि योजना अधुरै रहयो ।’ उक्त टोली स्याङ्जा लगायत स्थानमा उडान गरेर ताप्लेजुङ आएको थियो ।


परीक्षणमै सफल नभएपछि तत्काललाई नगरपालिकाको योजना पनि स्थगित भएको प्याकुरेल बताउँछन् । नगरपालिकाले यो क्षेत्रमा लगानी गर्ने मनस्थिति बनाएको थियो,’ मेयर प्याकुरेलले भने, ‘प्रवासी साथीहरूले पनि मन गर्दा सहकार्य गर्ने र दिगो व्यवसाय बनाउने योजनामा थियौं, अहिले तत्कालका लागि हुन सकेन ।’ सन्तोष भने अर्को वर्षसम्ममा थप प्रयास गर्ने बताउँछन् ।

‘हामीलाई पाथीभरा क्षेत्रबाट पनि उडाउन सकिन्छ जस्तो लागेको छ,’ सन्तोषले भने, ‘यहाँबाट उडान गर्न सकिए कञ्चनजंघा, कुम्भकर्ण लगायतका हिमशृङखला विदेसिलाई देखाउन सकिन्छ, त्यसैले योजना केन्सिल गरिसकेका छैनौं,’ हङकङमा रहेका सन्तोषले टेलिफोन सम्पर्कमा भने, ‘छुट्टी मिलाएर फेरि आएर उडाउने प्रयास गर्छौं ।’


यसअघि पाथीभरा पर्यटन महोत्सवमा भने तीन वर्ष उडान गरिएको थियो । एउटा उडान नेपाली सेनाको ब्यारेक छेउको घरमा र अर्को भानु स्कुलमा अवतरणका क्रममा झरेका थिए । एक जना घाइते पनि भए । अरू उडान सफल पनि भएका थिए । तर दक्ष चालकहरूले आफ्नो अनुकुलताअनुसार मात्रै उडाएकाले यसलाई आधार मानेर व्यावसायिक योजना बनाउने मनस्थितिमा नगरपालिका देखिएको छैन । सफल उडान गरेका प्याराग्लाइजरहरू भने ताप्लेजुङ लगायत पूर्वी नेपालमै निकै राम्रो सम्भावना भएको दाबी गर्छन् ।


गत वर्ष फागुन १ देखि ३ गतेसम्म सुकेटारबाट उडाएका नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउत ताप्लेजुङको सुकेटार र ताप्लेजुङ, तेहथुम र संखुवासभाको संगमस्थल गुफाबजार उडानका लागि उपयुक्त स्थल रहेको बताउँछन् । उनीहरूका अनुसार अवतरणको स्थल भने अध्ययन गर्नुपर्छ । सदरमुकाम फुङलिङमा उडानका लागि सुकेटार र अवतरणका लागि भानुजन माविको मैदान प्रयोग गरिँदै आएको छ । व्यावसायिक उडानका लागि अर्को मैदान बनाउनुपर्छ ।


विद्यालयलको पढाइमा असर पर्ने भएकाले बिकल्प खोज्नुपर्ने व्यवसायीहरू बताउँछन् । उडान र अवतरण गर्ने क्षेत्र आसपास खुला हुनुपर्छ । बिजुलीको लाइन र रूखहरू हुनुहुँदैन । भानुजन माविको मैदानको एकापट्टि जंगल छ भने विद्युतका लाइन पनि । मैदान भए दोभान बजार छेउको तमोर नदी आसपासको क्षेत्र अवतरणका लागि उपयुक्त हुने राउतले बताए । ‘दुई/तीन ठाउँमा मैदान भए राम्रो हुन्छ,’ राउतले भने, ‘वेदरका कारण कहिलेकाहीँ आकस्मिक अवतरण गर्नुपर्छ, त्यसका लागि विकल्प चाहिन्छ ।’


उडानका लागि सुकेटार विमानस्थलको माथिल्लो क्षेत्र उपयुक्त छ । विहान १२ बजेसम्म सबैभन्दा उक्तम हुने अर्का पाइलट सुरेन गुरुङले बताए । २ बजेपछि भने हावाको चाप बढी नै हुन्छ । थप अध्ययन गरे सुकेटार मुनिको भाग हावाको गतिका लागि अझै अनुकूल हुनसक्ने पाख्रिङ बताउँछन् ।


उडानका लागि एकै ठाउँ भए पनि मौसमअनुसार चल्नुपर्ने भएकाले अवतरणका लागि दुई/तीन ठाउँ भए राम्रो हुने पाइलटहरूको सुझाव छ । चार वर्षअघि आएका सानुबावु सुनुवारले पनि ताप्लेजुङलाई सम्भावित क्षेत्र घोषणा गरेका थिए । उनले पाथीभरा मन्दिर परिसरबाटै उडान गर्न सकिने दाबी गरेका थिए ।


ताप्लेजुङको सुकेटार र तीनजुरे मिल्केको गुफा पोखरी क्षेत्रबाट उडाएर दोभानमा अवतरण गर्ने वातावरण बनाए पर्यटकको चाप बढ्ने मेवाखोला हिल रिसोर्टका सञ्चालक सुरेश लिम्बू बताउँछन् । यस्ले प्याराग्लाइडिङ मात्रै नभएर र्‍याफटङको सम्भावनालाई बढाउँछ । पाथीभरा दर्शनका लागि आउने आन्तरिक पर्यटक, कञ्चनजंघा क्षेत्रको भ्रमणमा आउने विदेसी पर्यटक र छिमेकी चीन र भारतसँग सहकार्य गरे सबैभन्दा उत्तम हुने बुझाइ उनको छ ।


चीनसँग सडक जोडिएपछि चिनियाँ पर्यटक प्याराग्लाइडिङ उडानका लागि अधिक आउने प्याराग्लाइडरहरू बताउँछन् । राउतका अनुसार नेपालमा प्याराग्लाइडिङ उडानका लागि अहिलेसम्म बढी चिनियाँहरू आउने गरेका छन् । पोखरामा उड्ने ६० प्रतिशत चिनियाँहरू भएको उनले बताए । ताप्लेजुङको ओलाङचुङगोला र संखुवासभाको किमाथांका सडक जोडिएपछि त चिनियाँहरूलाई यही मार्ग भएर नेपाल ल्याउन सकिन्छ । त्यसले पूर्वी क्षेत्रमा सम्भावना बढ्ने राउतको बुझाइ छ । यी दुवै जिल्लाका सडक सञ्जालमा जोडिन लागेका छन् ।


पाइलट अभाव

प्याराग्लाइडिङ उडाउने एक जना पाइलटको कमाइ मासिक डेढ लाखसम्म हुन्छ । महासचिव राउतका अनुसार उसले पाउने पारिश्रमिक भक्ता जोड्दा यो सामान्य पारिश्रमिक हो । उडानका आधारमा योभन्दा बढी पनि हुन्छ । तर पनि नेपालमा एक सय जना पाइलटको अपुग रहेको उनले बताए । ३५ जना त विदेशीले काम गरिरहेका छन् । जर्मन, अमेरिकन नागरिकले नेपालमा रोजगारी पाइरहेका छन् । नेपाली उत्पादन भए त्यो अभाव पूर्ति गर्न सकिने राउत बताउँछन् ।

प्रकाशित : चैत्र २८, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?