२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

एकै वडामा ५ क्रसर उद्योग

मापदण्डविपरीत सञ्चालित क्रसर हटाउन अनशन, उद्योगले उडाएको धूलोले बस्ने अवस्थै छैन ।
देवनारायण साह

मोरङ — उर्लाबारी नगरपालिकाको एउटै वडामा ५ क्रसर उद्योग सञ्चालनको स्थानीय बासिन्दाले विरोध गरेका छन् । उर्लाबारी १ मा २ क्रसर सञ्चालनमा, २ सञ्चालनको तयारीमा र अर्को एउटा स्थापनाको तयारीमा छ ।

एकै वडामा ५ क्रसर उद्योग

यसको विरोधमा स्थानीयले अभियान घोषणा गरी आन्दोलन सुरु गरेका छन् । उनीहरूले मापदण्डविपरित स्थापना गरिएको र स्थापना गर्न लागेको क्रसर उद्योग हटाउन चैत १५ गतेदेखि रिले अन्सन सुरु गरेका छन् । अभियानका अध्यक्ष सम्बरबहादुर राईले गाउँमा एकै ठाउँ अहिले एउटा सञ्चालनमा रहेको, २ वटा स्थापना गर्न लागेको र एउटा स्थापनाको तयारीमा रहेकोले आन्दोलनमा

उत्रिन बाध्य भएको बताए ।


‘अहिले सञ्चालनमा रहेको पञ्चेश्वर क्रेसर उद्योगले गाउँमा बस्न सक्ने अबस्था छैन,’ उनले भने, ‘थप तीनवटा उद्योग स्थापना भएपछि हामी गाउँबासीलाई बिस्थापित हुनुको बिकल्प रहँदैन ।’ स्थापना भएका र स्थापना हुन लागेका कुनै पनि क्रसर उद्योग सरकारले तोकेको मापदण्ड पूरा नगरेकाले गाउँबासीलाई समस्या भएको उनले बताए ।


सचिन शाक्यको माँ पाथिभारा क्रसर उद्योग निर्माणको अन्तिम चरणमा पुगेको, मिक्लाजुङ गाउँपालिकाका बबीकुमार राईको देवीस्थान मिनरल्स क्रेसर उद्योग निर्माण सुरू गरेको र पंकज शाक्यले सिद्धार्थ एग्रोगेट क्रसर उद्योग स्थापनाको तयारी गरेकोले गाउँबासी आतंकित भएको अध्यक्ष राईको भनाइ थियो । सचिन उर्लाबारी १ का निर्वाचित वडा सदस्यसमेत हुन् ।


स्थानीय इन्दिरा दाहालले अहिले सञ्चालनमा रहेको एउटा क्रसर उद्योगले उडाएको धुलोले गाउँमा बस्न सक्ने अवस्था रहेको बताइन् । ‘क्रसर उद्योगको र उद्योगमा आउने जाने टिपरले उडाएको धुलोले गाउँ नै अन्धकार हुने गरेको छ,’ उनले भनिन्, ‘क्रसरको आबाजले गाउँमा बालबालिकालाई पढ्नसमेत समस्या छ ।’


स्थानीय कुमार खक्रीका अनुसार त्रसर उद्योगले बोरिङ्गबाट पानी तानेर बालुवा र गिट्टी धुने गरेकोले गाउँमा जमिनमुनीको पानीको सतह तल भासिदै गएको बताए । ‘क्रसर उद्योगले उडाएको बालुवा खेतसम्म पुग्ने गरेकाले बालीसमेत राम्ररी फष्टाउन छाडेको छ,’ उनले भने, ‘गाउँमा पानीको स्रोतसमेत मासिन थालेको छ ।’


गाउँका सडकमा तिब्र गतिमा टिपर हुइकाएर कुदाउने गरेकोले बालबालिका, बृद्धबृद्धालाई बाटो हिड्न समेत समस्या भएको उनले बताए । उनले गाउँका ४ सय बढी घरधुरी क्रसर उद्योगले बिस्थापित हुने अवस्था निर्माण भएकोले मापदण्ड पूरा गर्न आफूहरूले आग्रह गरेको तर बेवास्ता गरिएकाले हटाउन आन्दोलन सुरू गरेको सुनाए ।


यस्तै, उर्लाबारी १ तीन खोप्रेका मातृकाप्रसाद लुइँटेलको आँगनमै पूर्वेली क्रसर उद्योग सञ्चालन भइरहेको छ । उद्योगबाट उडेको धुलोले उनको घरमा बस्ने अबस्था नभएको स्थानीयले बताए । लुइँटेलले उद्योग र उद्योगीको बिरोधमा बोल्न समेत पाएका छैनन् । उद्योगको बिरूद्धमा केही बोल्दा कुन्डलेमुन्डलेहरू हतियार लिएर घरमै ज्यान मारिदिने भन्दै आउने गरेको लुइटेलले गुनासो पोखे ।


उक्त उद्योगले बालुवा, ढुंगा, गिट्टी गाउँभर सडक किनारलगायतको ठाउँमा जम्मा गरेर राखेकोले स्थानीयबासी हैरान भएको गुनासो पोखे । उर्लाबारी १ का वडाध्यक्ष मचिन्द्र कार्कीले क्रसर उद्योगले वडाबासी पिडित भएको स्विकारे । ‘हामी निर्वाचित हुनु अगाबै उद्योग सञ्चालनको अनुमति लिएका छन्,’ उनले भने, ‘तर अहिले उद्योगले वडाबासीलाई समस्या भएपछि नगरपालिकाबाट पहल गराएर पूर्वेलीबाहेक ५ वटा उद्योग बन्द गर्न पत्राचार गराएका छौं ।’ उनले नगरपालिकाको पत्रले पञ्चेश्वर क्रसर उद्योग दुई दिनदेखि बन्द रहेको बताए । तर पूर्वेली उद्योगलाई नगरपालिकाले बन्द गर्न पत्र नलेखेको बारे उनले केही बोल्न चाहेनन् ।


पूर्वेली क्रसर उद्योगका सञ्चालक गोबिन्दप्रसाद भट्टराईले आफूले बिधिबत उद्योग दर्त्ता गराएर सञ्चालन गर्दासमेत राजनीतिक कारणले केही स्थानीयले बिरोध गरिरहेको दावी गरे । आफूले मापदण्ड पूरा गरेकोले नै तत्कालिन घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालन अनुमति दिएको उनले सुनाए ।


उनले यहाँका टाठाबाठाले अनुचित रूपमा आर्थिक लाभ लिनका लागि सोझा गाउँबासीलाई उक्साएर आन्दोलन गरिरहेको दावी गरे । पञ्चेश्वर क्रसर उद्योगका सञ्चालक प्रकाश खडगीले नगरपालिकाले पूर्वेली क्रसर उद्योगलाई सञ्चालन गर्न छोडेको र आफ्नो उद्योग बन्द गर्न पत्र काट्नु अनुचित भएको बताए । ‘एउटै वडामा सञ्चालनमा रहेको मेरो र पूर्वेली उद्योगमा कुनले मापदण्ड पूरा गरेको छ त्यो हेर्ने र जान्नेलाई थाहा हुन्छ,’ उनले भने, ‘तर नगर प्रमुखले उद्योग बन्द गर्न पत्राचार गरेर पञ्चायत गरी मिलापत्र गराउन खोजेको विषय मैले बुझ्न सकेको छैन ।’


उर्लाबारीका नगर प्रमुख खड्गबहादुर फागोले यहाँका क्रसर उद्योगहरू बैधानिक प्रक्रियाले दर्ता गराएको तर मापदण्ड कुनैको पनि पूरा नभएकोले बन्द गर्न सबै उद्योगलाई पत्राचार गरेको बताए । उनले स्थानीय तहलाई अनुगमन नियमनको अधिकार रहेकोले त्यहीअनुसार कानुन बिपरित गर्नेलाई कानुनी दायरामा ल्याउने काम गरिरहेको बताए ।

प्रकाशित : चैत्र २९, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?