३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

४ सय सिटका लागि २ हजार परीक्षार्थी

अंग्रेजी माध्यमबाट पढाउन सुरु गरेको सामुदायिक विद्यालयले ५ वर्षयता उत्कष्ट नतिजा ल्याएपछि विद्यार्थीको आकर्षण बढेको छ
जितेन्द्र साह

विराटनगर — विराटनगर महानगरपालिका ३ स्थित पोखरिया माविा यहाँका अन्य सामुदायिक शिक्षण संस्थाका लागि पनि अनुकरणीय बनेको छ । ‘महानगर विराटनगरकै केही अन्य ठूला एवं धनी विद्यालय झैं हामीसँग पर्याप्त भौतिक पूर्वाधार र बैंकमा करोडौं रुपैयाँ बचत थिएन,’ उक्त विद्यालयका प्राचार्य खेमराज भट्टराईले भने, ‘तर, ठोस योजना, समर्पित शिक्षक र जागरुक अभिभावकको भरपुर सहयोगले छाप्राबाट पक्की भवनसम्मको यात्रा पूरा गर्‌र्यौं ।’

४ सय सिटका लागि २ हजार परीक्षार्थी

शैक्षिक सत्र २०७५ मा ९ सय ५० छात्रा र ८ सय ४५ छात्र गरी १ हजार ७ सय ९५ विद्यार्थी यस विद्यालयमा पढिरहेका छन् । नयाँ शैक्षिक सत्र २०७६ मा कक्षा १ देखि ९ सम्म ४ सय ३ खाली सिटका लागि विद्यालयले लिएको भर्ना परीक्षामा २ हजार ६६ जना सहभागी भए ।

‘छोरीले यही विद्यालयमा पढ्छु भनेपछि प्रवेश परीक्षा दिन ल्याएकी हुँ,’ अभिभावक विन्दा खडकाले भनिन् । मोरंगको सुनवर्षी नगरपालिका ३, अमरदहबाट उनी आएकी हुन् । खडाकी छोरी आयुषा कक्षा ९ मा भर्ना हुनलाई परीक्षा दिइन् ।

उनी नर्सरीदेखि कक्षा ८ सम्म बोर्डिङमै पढेकी हुन् । कक्षा ८ देखि यही विद्यालयमा पढ्ने धोकोका साथ मोरंगको रंगेली नगरपालिका ६की अमृताकुमारी चौधरीले प्रवेश परीक्षा दिइन् । नगरपालिका कार्यालयमा जागिरे पिता देवकुमारसँग उनी आएकी थिइन् । ‘विराटनगरको अन्य विद्यालयहरूको प्रवेश परीक्षामा नाम निक्लेको छ,’अमृताले भनिन्,‘तर, पोखरिया माविमै पढ्ने मन छ, यहाँ भर्ना पाइन भने मात्र अन्यत्र पढ्छु ।’

उक्त विद्यालयले नयाँ शैक्षिक सत्र २०७६ का लागि बुधबार बिहान लिएको प्रवेश परीक्षामा फारम भरेका २ हजार ६६ मध्ये १ हजार ४ सय ११ विद्यार्थी सहभागि भए । कक्षाकोठामा अटाउन नसकेर बाँकी ६ सय ५५ छात्रछात्राको बिहीबार जाँच लिइएको उक्त विद्यालयका प्राचार्य भट्टराईले जनाए । बिहान आठ बजेदेखि प्रवेश परीक्षा सुरु भए पनि छ बजेदेखि नै अभिभावक एवं बालबालिका विद्यालय परिसरमा भेला भइसकेका थिए । बच्चाबुच्चीसँगै आएका अभिभावकको स्वागतमा विद्यालय परिसरमा टेन्ट गाडिएको थियो ।

‘खाली सिट संख्या हरेक वर्ष लगभग उही हुन्छ तर जाँच दिने निकै बढिरहेका छन्,’शिक्षक महेश गौतमले भने,‘गत वर्षको भन्दा दोब्बर संख्यामा प्रवेश परीक्षामा उपस्थिति देखियो ।’ यो विद्यालयले निजीको एकाधिकार तोडेकोमा स्थानीयबासी पनि मख्ख छन् । ‘लगनशील शिक्षक र सामुदायिक विद्यालयको उत्थान चाहने अभिभावकले गर्दा कुनै बेला छाप्रामा चलेको यो विद्यालय यति अगाडि बढेको हो,’४६ वर्षीया गोमा निरौंलाले विद्यालयतिर हेर्दै भनिन्,‘ गुणस्तरीय पठनपाठनबाट प्रभावित भइ हामी सबैले सक्दो सहयोग गरिरहेका छौं ।’

विद्यालयको मुख्यद्वार अघिल्तिर उनको घर र पसल छ । ‘अहिले यही विद्यालयले गर्दा विराटनगरको उत्तरी भेकमा पर्ने पोखरिया बस्तीलाई पुरा देशमा चिनाएको छ,’निरौंलाले भनिन् ।

उनको छोरी निमिषा निरौंलाले यही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी हुन् । उनी अहिले स्थानीय एक मेडिकल कलेजमा बीडीएस (ब्याचलर अफ डेन्टल सर्जरी) प्रथम वर्षमा अध्ययनरत छिन् । ‘स्थानीय र वरिपरिका सम्पन्नदेखि विपन्नसम्मको पहिलो रोजाइमा यहि विद्यालय पर्छ,’ निरौलाले भनिन् ।

हातमुख जोर्न धौंधौं पर्ने अभिभावकको सपना पनि उक्त विद्यालयले पुरा गरिररहेको छ । विद्यालय छेउमै चियानास्ताको पसल गरिरहेकी ३४ वर्षीया सुनीता थापा पनि तीमध्येमा पर्छिन् ।

उक्त विद्यालयमा कक्षा १० मा उनको छोरी १५ वर्षीया बिसिका र कक्षा ११ मा छोरा १७ वर्षीय विशालले कम्प्युटर विज्ञान विषय पढिरहेका छन् । विशालले यही विद्यालयबाट ३.७ जीपीए ल्याई एसईई उत्तीर्ण गरे । पन्द्रह वर्षअघि श्रीमान बितेपछि सुनीताले एक्लैले छोराछोरीलाई हुकाईरहेकी छन् । करिब डेढ दसक एक कारखानामा काम गरेकी उनी छोराछोरीकै मद्दतले एक वर्षदेखि चियाखाजा पसल सञ्चालन गरिरहेकी छन् । उनी दिउँसो एक परोपकार संस्थामा वृद्धवृद्धालाई चियाखाजा खुवाउने काम गर्छिन् ।

‘छोरीले कक्षा १ देखि र छोराले कक्षा ५ देखि यही विद्यालयमा पढिरहेको छ,’ उनले भनिन्, ‘यो स्तरकै शिक्षा निजीमा दिलाउनु परेको झए त शुल्क तीर्न सक्दैन्थेँ ।’ शैक्षिक गुणस्तर र अतिरिक्त त्रियाक्लापमा निजीको भन्दा उक्त विद्यालय कम नभएको थापाका छोराछोरीले बताए ।

छोरी विसिकाले केही दिन विराटनगरकै एक प्रतिष्ठित निजी विद्यालयमा पनि पढ्न गएको बताइन् । ‘निकै महँगो शुल्क भएको उक्त बोर्डिङभन्दा यही विद्यालयको पढाइ स्तरिय भएर फर्किआएँ,’उनले भनिन् ।

शिक्षकहरूले निकै मिहिनेत र तयारीका साथ पढाउन आउने गरेको छोरा विशालले बताए । ‘शिक्षकबीच कसले राम्रो पढाउने र विद्यार्थीमाझ कसले राम्रो पढेर देखाउने प्रतिस्पर्धा हुन्छ,’ उनले भने, ‘सरकारी विद्यालयमा यति सुन्दर वातावरण भएपछि अन्यत्र पढ्न किन जानुपर्‍यो नि ?’ विशेष छुटमा पढ्न पाइरहेको हुनाले आफूहरू जस्ता विपन्न विद्यार्थीहरूलाई निकै राहत पुगेको विशालले औंल्याए ।

उक्त विद्यालयबाट २०७४ को एसईईमा सहभागि २ सय ५० मध्ये ७२ जनाले ए प्लस, ८१ ले ए, ४४ जनाले बी प्लस र ५३ जनाले बी ग्रेड ल्याए । ‘विद्यालयले यतिको सफलता एकै पटक पाएको भने होइन । विस्तारै सुधार गर्दै लगेको हो,’ प्राचार्य भट्टराईले भने ।

२०७० को एसएलसीमा सहभागि ९६ विद्यार्थीमा ९ प्रथम श्रेणी, १६ द्वितीय श्रेणी, ६ तृतीय श्रेणी र १७ जनाले पुरकमा उतीर्ण गरेका थिए । २०७१ मा १ सय ४८ मध्ये ६ विशिष्ट श्रेणी, ४२ प्रथम श्रेणी, ३३ द्वितीय श्रेणी, १ तृतीय श्रेणी र २७ जना पुरकमा उत्तीर्ण भए । यसपछि ग्रेडिङ प्रणाली सुरु भएपछि २०७२ मा २ सय १२ विद्यार्थी मध्ये २७ ले ए प्लस, ४० ले ए , ४८ ले बी प्लस, ७७ ले बी र २० ले सी प्लस र्‍यांक प्राप्त गरे । २०७३ मा २ सय १५ छात्रछात्रामध्ये २४ ले ए प्लस, ६४ ले ए, ७३ ले बी प्लस, ४५ ले बी र ९ ले सी प्लस ल्याए ।

‘सफलताका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि पोखरिया भन्ने नारालाई यथार्थमा उतार्न दिनरात मिहिनेत गर्नु परिरहेको छ,’ प्राचार्य भट्टराईले भने, ‘ठोस आर्थिक र भौतिक पूर्वाधार नभएको यो विद्यालयको वर्तमानलाई बुझ्न विगत केलाउनैपर्छ ।’

विराटनगरको उत्तरी क्षेत्रस्थित यो विद्यालयको स्थापनाकालागि समाजसेवीहरू स्वर्गीय शंकरप्रसाद गौतम, स्व.खुवलाल चौधरी, स्व. डिल्लीराम ज्ञवाली तथा स्व.राम सागर भगतको अग्रणी भूमिका रहेको विद्यालयको अभिलेखमा उल्लेख छ । समाजसेवी नारायणप्रसाद कोइरालाले ६ कठ्ठा ५ धुर जग्गा प्रदान गरेपछि २०१२ चैत १२ मा शारदा अपर प्राइमरी स्कुल नामकरण गरी कक्षा सञ्चालन भयो ।

२०२० फागुन १० मा यो विद्यालयको नाम अनिवार्य तथा निःशुल्क प्राथमिक पाठशाला संख्या १ भयो । २०३० मा पोखरिया प्रस्तावित निमावि र तत्कालीन शिक्षा ऐन एवं नियमावली अनुसार २०६६ मा पोखरिया उच्च माध्यमिक विद्यालय हुन पुग्यो । हाल यस विद्यालयको कक्षा ११ र १२ मा कम्प्युटर इन्जिनियरिंग, विज्ञान, व्यवस्थापन र शिक्षा संकायको पढाइ भइरहेको छ ।

महानगर विराटनगरको सबैभन्दा उत्तरी भागस्थित १, ३ र ४ वडाका बस्तीहरू यो विद्यालयको मुख्य सेवा क्षेत्र हो । खास गरी भोजपुर, संखुवासभा, तेहृथुम, धनकुटा, उदयपुर, झापा, सिराहा र सप्तरीलगायतबाट यी वडाहरूमा बसाइसराइँ गरी आएकाले गर्दा बस्तीहरू बाक्लिंदै गएको छ । बस्तीका निम्न, निम्न मध्यम, दलित, जनजाति, सिमान्तकृत, पिछडा वर्ग, बाहुनक्षेत्री, मधेसी, दलित र गरिबीका रेखा मुनि रहेका बालबालिका यहाँ एकसाथ एक छाना मुनि बसेर पढ्छन् ।

यो माविको मातहतमा ५ आधारभूत विद्यालय फिडर विद्यालयको रूपमा छ । यो क्षेत्रका माध्यमिक तहसम्मका संस्थागत विद्यालयबाट समेत छात्रछात्रा यहाँ भर्ना हुन आउँछन् । महानगरका सबै वडा, मोरंगको बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका र प्रदेश १ का सबै जिल्लाका सबै समुदायका यो विद्यालयमा अध्ययन गर्न रुचाउँछन् ।

‘धार्मिक तथा जातिय विविधतासहितको एकतामा विद्यालयको पठनपाठन अघि बढिरहेको छ,’प्राचार्य भट्टराईले भने,‘हिमाल, पहाड र तराईका बालबालिकालाई एकसाथ पढिरहेका भेटछौं ।’ उनको अनुसार अभिभावकको चाहना र मागअनुरुप २०७० बाट कक्षा ८ र ९ मा तथा २०७१ मा कक्षा ६ र ७ मा अंग्रेजी माध्यमबाट समेत कक्षा सञ्चालन भयो । विद्यार्थीको अत्यधिक चापले गर्दा कक्षा ६ देखि १२ सम्म नेपाली माध्यममा विहानी सत्रमा र अंग्रेजी माध्यममा दिवा सत्रमा पढाइ हुन्छ । उनले भने, ‘अंग्रेजी माध्यमबाट एसएलसी/एसईई परीक्षामा विद्यार्थी सहभागी गराउन थालेपछि शैक्षिक गुणस्तरमा निकै सुधार झएको छ ।’

विद्यालयले यसकालागि अतिरिक्त जनशत्तिको परिचालन गरेको छ जसको खर्चको व्यवस्थापन अभिभावकको स्वैच्छिक सहयोगबाट भइरहेको छ । स्वच्छ खानेपानी, छात्रछात्राका लागि छुट्टै सौचालय, विद्यार्थी तथा अभिभावक व्यवस्थापन कक्ष, नर्सको प्रबन्ध, ठूला र वातावरण अनुकूल कक्षाकोठा, २४ घण्टा सीसीटीभीको निगरानी, कक्षापिच्छै प्रोजेक्टर, दुई स्कूल बस, विज्ञान प्रयोगशााला, कम्प्युटर ल्याब, कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिंगको अध्ययन, अक्षय दाता कोषबाट गरिब र जेहेनदार विद्यार्थीलाई छाक्रवृति, बाल क्लब, युवा रेडत्रस सर्कल, नेपाल स्काउट र राष्ट्रिय सेवा दलजस्ता क्लब उक्त विद्यालयको विशेषता हो ।

विद्यालयले सबै विषयमा तहगत रुपमा ५० भन्दा बढी औसत अंक प्राप्त गरेको छ । यहाँ विद्यार्थी तथा अभिभावकलाई छिटो सूचना संप्रेषण गर्न र विद्यालयको गतिविधिलाई अवलोकन गर्न स्मार्ट डिजिटल सिष्टमको प्रबन्ध छ । तर कक्षागत रूपमा विद्यार्थीको बढो चाप अनुरुप कक्षा सञ्चालन र प्रयोगशाला व्यवस्थापनकालागि ४ कक्षाकोठा थप्नुपर्ने भएको प्राचार्य भट्टराईले बताए । हाल विद्यालयसँग रहेको दुई बसले मात्र विद्यार्थी ओसार्न नसक्ने स्थिति छ ।

प्रविधि सुहाउँदो शिक्षणका लागि उपकरण, भौतिक पूर्वाधार विकासकालागि जमिन, ईलाइब्रेरिसहितको पुस्तकालय, समय अनुकूल शिक्षकलाई स्तरोन्नति तालिमकालागि, नमुना बाल कक्षाको व्यवस्थापन तथा सामग्री खरिदका लागि, व्यवस्थित चमेना गृह, आकस्मिक अवस्थामा विद्यार्थी प्राथमिक उपचारकालागि स्टेसन कोठा तथा विद्यालय नर्स कक्ष, व्यवस्थित शिक्षक कक्ष र सभा हलको, विद्यालयको सीमित प्रांगणमा बालबालिकालाई पानी तथा घामबाट बचाउन पारदर्शी आर्क छानाको व्यवस्था गर्न बजेटको अभाव भएको विद्यालयले जनाएको छ ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, निर्वाचन क्षेत्र विकास कोष, प्रदेश सभा सदस्य विकास कोष, स्थानीय निकाय, उद्योगी तथा व्यापारिक प्रतिष्ठान एवं संस्था, गैर सरकारी संस्था, दलतका नेता, दाता, अभिभावक समाजसेवी र शिक्षकलाई साधनस्रोत जुटाइ दिन आग्रह गरिने विद्यालयले जनाएको छ ।

विराटनगर महानगरपालिकाबाट नमुना विद्यालयका लागि प्राप्त अनुदानबाट गुणस्तर, भौतिक पूर्वाधार र प्रविधि विकासलाई प्राथमिकता दिने विद्यालयले जनाएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयको सिफारिसमा शिक्षा विकास तथा समन्वय एकाई मार्फत प्राप्त हुने अनुदानबाट विद्यालयले सभा हल र शिक्षक कक्षको निर्माण गर्ने जनाएको छ ।

प्रकाशित : चैत्र ३०, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?