कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चौदण्डीगढी अब पर्यटकीय स्थल

डिल्लीराम खतिवडा

उदयपुर — चौदण्डीगढी नगरपालिका क्षेत्रमा पर्यटकीय सम्भावना भएका क्षेत्र भए पनि प्रवर्द्धन गर्न नसक्दा ओझेमा परेका छन् । स्थानीय तहले ती क्षेत्रको विकासका लागि प्रदेश सरकारको समेत सहयोग लिएर कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।

चौदण्डीगढी अब पर्यटकीय स्थल

ऐतिहासिक चौदण्डीगढी दरबार, बसिलाघाटको झरना, चुरे क्षेत्रमा रहेको पौराणिक पाण्डवबास, पुरातात्त्विक थानपोखरी मन्दिर, बसिलाघाट र रानीटार बजार नगरको पर्यटकीय क्षेत्रका सम्भावना बोकेका स्थान हुन् ।


इतिहासमा उल्लेख झएअनुसार विक्रम संवत् १७९० देखि जगत सेन, वित्रम सेन, हरि सेन लगायतका चार पुस्ताले चौदण्डीगढी दरबवारमा रहेर राज्य चलाएका थिए । मकवानपुरगढीका राजा हेमकर्ण सेनका माईला भाई जगत सेनले पूर्वी सिमानाको रेखदेखका लागि चौदण्डीगढी राज्यलाई अस्तित्वमा ल्याएको इतिहासमा पाइन्छ ।


इतिहासकारका अनुसार हरि सेन राजा रहिरहेका बेला हरिनन्द उपाध्याय पोखरेल र स्वरुपसिाह कार्कीको विशेष सहयोगमा पृथ्वीनारायण शाहले विसं १८३० तिर चौदण्डीगढी राज्यमा विजय हासिल गरेका थिए । गोर्खालीहरूको विजय अभियानसम्म पनि पूर्वको महत्वपूर्ण राज्यको राजधानीका रूपमा रहेको यो ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थानमा हाल भग्नावशेष मात्र बाँकी छ । सदरमुकाम गाईघाटवाट २७ किलोमिटर पूर्वि पहाडी क्षेत्रमा पर्ने चौदण्डीगढीमा पुरातात्त्विक महत्त्व बोकेका देवीदेवताका मूर्ति, ढुंगाका सामग्रीहरू हराउदै गएका छन् । भएका पनि नष्ट हुँदै गएका छन् ।


यस्तै छुईलास्थित छाँगे झरनासँगै दुघकोसीमा जलयात्राका लागि सम्भावना बोको स्थान हो । छाँगे झरना झन्डै ७ सय मिटरको उचाइबाट अविरल रूपमा पानी झरिरहन्छ । चैत/वैशाखमा पानी कम भए पनि जेठदेखि फागुनसम्म प्रसस्तै पानी रहेको झरनामा गर्मीमा चिसो र जाडोमा पानी झर्ने गरेको स्थानीय टेकबहादुर राईले बताए । ‘यो झरना हजार मिटरभन्दा माथिबाट झरेको थियो,’ टेकबहादुरले भने, ‘तर ०४५ सालको भूकम्पले माथिल्लो भाग भत्किएपछि यसको उचाइ घटेको हो ।’ झरनासम्म जानेबाटोमात्रै व्यवस्थित गर्न सके गर्मी मौसममा तराईबाट गर्मी छल्न आउने सर्वसाधारणको घुइँचो लाग्ने उनले बताए ।


नगर क्षेत्रमा रहेका नदी, खोला, झरना, ताल, दरबार र तीनको भग्नाबशेष संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा अगाडी बढने चौदण्डिगढी नगरपालिका ७ वडाध्यक्ष तेजराज तिमल्सिनाले बताए ।


‘प्रशस्तै पर्यटकीय सम्भावना बोकेका स्थान छन्,’ उनले भने, ‘त्यसको संरक्षणमा नगरपालिका लागि परेको छ ।’ साथै प्रदेश र संघीय सरकारसग पनि चौदण्डीगढीको पर्यटन विकासमा सहयोगका लागि अनुरोध गरिएको उनले बताए । नगर क्षेत्रका धार्मिकस्थलको संरक्षण गर्दै धार्मिक पर्यटक भित्र्याउन सकिने वडा ३ का वडाध्यक्ष पशुराम राईले बताए । ‘वडाभित्र रहेको जलेश्वर महादेव मन्दिर, गूम्वा, अंजीगरेको देवीथान, बेलाका मन्दिर, चण्डीस्थान (राईको चण्डी नाच्ने ठाउँ) ले धार्मिक पर्यटक अवगमन बढाउँछ ।’


पर्यटन विकासका लागि नगरपालिका लगिरहेको नगर प्रमुख खग्रेन्द्र राईले बताए । ‘हालै नगरपालिकाले पर्यटन प्रवर्द्धन तथा प्रचार प्रसारको लागि सम्भाव्यता अध्ययन गर्ने कार्य गरेको छ,’ नगरप्रमुख राईले भने, ‘अध्ययनबाट आउने प्रतिवेदन र त्यसका लागि गर्नुपर्ने योजनालाई समेटेर थप काम अगाडि बढाइने छ ।’

प्रकाशित : चैत्र ३०, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?