कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिरुवा पर्व मनाइँदै

राजवंशी जातिले बैशाख १, २ र ३ गते सिरुवा पर्व मनाउने
अर्जुन राजवंशी

बिर्तामोड — नयाँ वर्षसँगै राजवंशी समुदायको ‘सिरुवा पर्व’ सुरु भएको छ । तीन दिनसम्म मनाइने सिरुवाको पहिलो दिन वैशाख १ गते आइतबार झापाका राजवंशीहरूले उत्साहसाथ ‘पानी सिरुवा’ मनाएका छन् ।

सिरुवा पर्व मनाइँदै

राजवंशी जातिले वैशाख १, २ र ३ गते सिरुवा पर्व मनाउने गर्छन् । सिरुवा राजवंशीको प्रमुख चाड हो । पर्वकाअवसरमा ठाकुर–ब्र≈माणी, घाटोसरीसहित कुल देवीदेवताको पूजा गर्ने चलन छ । यो जातिले सिरुवाको पहिलो दिन बैशाख १ गते ‘पानी सिरुवा’, २ गते ‘काद सिरुवा’ र ३ गते ‘रंग सिरुवा’ खेलेर मनाउने गर्छन् । वर्षभरी शितलता प्राप्त होस् भन्ने कामना गर्दै आपसमा पानी छ्यापा–छ्याप गरेर परापूर्वकालदेखि पानी सिरुवा मनाउने चलन रहदै आएको ७७ वर्षीया नुकानी राजवंशीले बताइन् ।


सिरुवामा राजवंशी जातिले पर्वभरी दैनिक घर–आँगन लिप–पोत गरी सफासुग्घर राख्ने, लुगा–कपडा धुइपखाली गर्ने, कुल देवता, ग्रामथानको नियमित पूजा गर्ने, मीठा–मीठा परिकार बनाएर खाने तथा सिरुवा खेल्न छिमेकी गाउँ र मेला बजार जाने चलन छ । महिलाहरू सिरुवा पर्व सुरु हुनु एक हप्तादेखि परिवारका सदस्यहरूको शरीरमा घाउँ, खटिरा नओस्, वर्षभरि घरपरिवारमा सुख–शान्ति होस् भन्ने कामना गर्दै गाउँगाउँ घुमेर घाटोसरी गाउने चलन पनि छ ।


पानी सिरुवा कनकाई नगरपालिकाको घैलाडुब्बा, बाह्रदशी गाउँपालिका, गौरीगञ्ज गाउँपालिका १ कुञ्जिबारीलगायतका स्थानमा सामूहिक मनाइएको छ । पानी सिरुवा राजवंशी जातिका सबैले मनाउने गर्छन् । उनीहरूले पानी सिरुवा खेल्नुअघि बिहान खानाको सट्टा ‘गाजी–मुरी’ (चना–भुजा) र खेसरी दालको ‘बरी’ (चप) परिकार बनाएर खाने गर्छन् ।


घैलाडुब्बाको टेकनारायणबारीमा बिहान राजवंशी पुरुष तथा महिलाहरू जातीय पोसाक लगाएर पानी सिरुवा खेलेका थिए । कोचिला गाभूर फ्रन्टको आयोजनामा सामूहिक रूपमा गाजी–मुरी र दालको बरी खाएर जातीय सांस्कृतिक कार्यक्रमसाथ उनीहरूले पानी छ्यापा–छ्याप गरेर पानी सिरुवा खेले ।


पर्वका अवसरमा जिल्लाका आदिवासी गाउँहरूमा सिरुवा मेलाहरू समेत सुरु भएका छन् । चैत २९ गते गौरादह नगरफालिका ७ ग्वालडुब्बामा सामूहिक सिरुवा सांस्कृतिक कार्यक्रम गरियो । कार्यत्रममा स्थानीय राजवंशी महिलाहरूले नयाँ वर्षमा गरिने घाटोसरी पूजा समेत गरेका थिए । पछिल्लो समय सिरुवा सामूहिक रूपमा मनाउने चलन बढेको छ । ‘युवा पुस्तालाई पर्वबारे आकर्षित गर्न तथा जानकारी पस्किन सामूहिक रूपमा पानी सिरुवा खेल्ने कार्यक्रम आयोजना गरेको’ फ्रन्टका अध्यक्ष अभय राजवंशीले जानकारी दिए ।


‘पहिला हामी गाउँगाउँ डुलेर पानी सिरुवा खेल्ने गर्दथ्यौं । तर, अहिले त्यो चलन हराएर गएको छ,’ ६० वर्षीया सावित्रा राजवंशीले भनिन्, ‘तर अहिले सामूहिक रूपमा पानी सिरुवा खेल्न पाउँदा निकै खुसी लागेको छ ।’

प्रकाशित : वैशाख २, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?