कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नयाँ वर्षमा चहलपहल

इलाम — नयाँ वर्षको अवसर पारेर आन्तरिक पर्यटकीय स्थलमा घुमघाममा जाने क्रम बढ्दो छ । नयाँ वर्षलाई पनि पर्वका रूपमा मान्दै जिल्लाका विभिन्न पर्यटकीय क्षेत्र भरिभराउ भएका छन् ।

नयाँ वर्षमा चहलपहल

यो वर्ष मौसमको प्रतिकुलता रहे पनि परिवार र साथीसंगीसँग घुम्न जाने क्रम रोकिएन । एक ठाउँबाट अर्को स्थानमा घुम्न निस्कने कारण हरेक क्षेत्रमा बेग्लै चाप देखियो । सदरमुकाम र बजार क्षेत्रबाट जिल्लाका अन्य पर्यटकीय स्थलमा घुम्न निस्किएकाले सुनसान देखिन्थे । तर यहाँका मठ मन्दिर र घुमघाम गर्ने ठाउँमा भने विहानैदेखि चाप देखिएको थियो ।


पूर्वका पाथिभरा मन्दिर, कन्याम, करफोक, अन्तुडाँडा, पशुपतिनगरलगायत पहिलो रोजाईमा देखिए । त्यस्तै माइपोखरी, टोडे झरना, ढापपोखरी, सन्दकपुर, पानीटार, राँकेलगायत क्षेत्रमा पनि उत्तिकै भीड देखिएको थियो । पूर्वी पर्यटकीय क्षेत्रमा तराईका जिल्ला र देशकै विभिन्न स्थानबाट आगन्तुक पुगेका थिए । ‘अन्तु पोखरीमा बोटिङ गर्ने र चियाबारी घुमघाममा धेरैले समय विताए,’ स्थानीय रुद्र घिमिरेले भने, ‘अघिल्ला वर्षभन्दा पनि अहिले नयाँ वर्ष मनाउन यहाँ आउने क्रम बढदै गएको पाइयो ।’


यो पटक अन्तुको अघिल्ला वर्षभन्दा दोब्बरले रमाइलो साटे । पाथिभरा मन्दिरमा पूजाआजा गर्नेदेखि तराईको चिसो छल्न आउनेका कारण पनि बाक्लो भीड लागेको थियो । नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको ढापपोखरीको चहलपहल पनि उल्लेख्य रहयो ।


२०७५ को समाप्तीदेखि नै यहाँ आगन्तुकको बाक्लो उपस्थिति थियो । ‘काम व्यस्तताले चाहेर पनि निस्कन नपाएको अवस्थामा यो पटक ढापपोखरीसहित त्यस क्षेत्रका धेरै केन्द्रको घुमघामको अवसर जुटायौं,’ परिवारसहित पुगेका माङसेवुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले भने, ‘सडकमा सुधार भए यो क्षेत्रले गतिलो सम्भावना बोकेको छ ।’


जिल्लामा नै पहिलो पटक ढापपोखरीमा फिसिङ सुरु भएकाले धेरैलाई त्यसले आर्कषण गरेको छ । आगन्तुकलाई मनोरञ्जन दिने उद्देश्यले २ वटा डुङ्गाले जलयात्रा गराइरहेका छन् । सदरमुकाम इलाम बजारबाट २२ किलोमिटर उत्तरमा रहेको यो क्षेत्रमा सीमापारि दार्जिलिङदेखि पूर्वी तराईका विभिन्न स्थानबाट पनि घुमघाममा आउने क्रम बढेको वडाध्यक्ष जितबहादुर साँवाले बताए ।


सन्दकपुर गाउँपालिकाको टोडे झरनालाई पनि धेरैले नयाँ वर्ष मनाउने थलो बनाए । माइपोखरी हुँदै पुगिने २ सय ८० फिट अग्लो टोडे झरनाको मनोमोहक दृश्यको स्वाद चाख्दै मावुथाम र सन्दकपुर जाने पनि भेटिए । माइपोखरीमा पूजाआजा गर्नेदेखि रमाइलो घुमघाम गर्ने पनि उल्लेख्य थिए ।

प्रकाशित : वैशाख २, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?