रूपाकोट भरिभराउ

हिमशृंखला, जडिबुटी, वन्यजन्तु र चराचुरुंगी देख्न पाइने भएकाले पर्यटकको घुइँचो
डम्बरसिं राई

खोटाङ — वरिपरि हरियाली । गुराँस फुलेर ढकमक । रूख र ढुंगाका पहराहरूमा सुनाखरी लगायतका फूलहरू उस्तै । लहरै हिमालको दृश्यले झनै रमाइलो । यसैको मजा लिँदै युवा–युवतीदेखि पाकासम्मले भरिभराउ थियो रूपाकोट । नयाँ वर्षका अवसरमा आइतबार बिहानैदेखि पर्यापर्यटकीय रूपाकोट क्षेत्रमा रमाउनेहरू निक्कै नै उत्साहित देखिन्थे ।

खोटाङको पर्यापर्यटकीय रूपाकोटमा रमाइलो गर्दै पर्यटक । तस्बिर : डम्बरसिं/कान्तिपुर

विभिन्न हिमशृङखला, विभिन्न ठाउँको दृश्यावलोकन, जडिबुटी, वन्यजन्तु तथा विभिन्न पन्छी देख्न पाइने भएपछि यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

Citizen

पर्यटकीयस्थल रूपाकोट क्षेत्रलाई पर्यावरणीय तथा धार्मिक केन्द्रबिन्दुका रूपमा चिनिन्छ । रूपाकोट मझुवागढी नगरपालिकामा पर्ने यो रमणीय रूपाकोटमा रमाइलो गर्न तन्नेरीहरू झुम्मिने गरेका छन् । प्राकृतिक मनोरम, जैविक विविधता, विभिन्न प्रजातिका चराचुरुङ्गी, लोपोन्मुख वन्यजन्तुका साथै महत्त्वपूर्ण जडिबुटी पाइने भएकाले यसक्षेत्रमा पर्यटक आउने गरेको स्थानीय सप्तमणि राईले बताए ।

सर्वोच्च शिखर सगरमाथाको चुचुरो तथा अन्य हिमालहरूको लस्कर देखिने सुखद् दृश्यले जो कोहीलाई लोभ्याउने रूपाकोट पुगेका पूर्वसांसद टंक राईले बताए । ‘यहाँबाट विभिन्न ठाउँको दृश्यावलोकन गर्नका साथै सयौं प्रजातिका चरा, वन्यजन्तु, जडिबुटी पाइन्छन् ।’ राईले थपे, ‘त्यसैले पनि रूपाकोट अति सुन्दर मनमोहक ठाउँ हो ।’

रूपाकोट पर्यापर्यटनको सुन्दर भविष्य बोकेको पर्यटकीय क्षेत्र भएकाले यसको प्रवर्द्धन गर्नुपर्ने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नं १२ का वडा अध्यक्ष विकास राईले बताए । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले भने रूपाकोट क्षेत्र पर्यापर्यटन विकासका लागि नगरपालिकाले योजनाबद्ध ढंगले काम सुरु गरेको बताए । यसका लागि पहिलो चरणमा भ्युटावर निर्माण सुरु गरिएको छ । उक्त भ्युटावरका लागि २७ लाख बजेट विनियोजन गरेर काम थालनी गरिएको हो ।

रूपाकोट जिल्लाकै पानीको स्रोत भएकाले पनि यसको संरक्षण समेत सुरु गरिएको छ । गत दुई वर्षदेखि विभिन्न ठाउँमा पोखरी निर्माण थालिएको छ । रूपाकोट क्षेत्रमा तत्कालीन जिल्ला वन कार्यालयले विभिनन पोखरी समेत निर्माण गरेको हो । पोखरीमा जमिने पानीले मुहान सुक्न नदिनुका साथै कालान्तरमा पानीको मुहान फुट्न भएकाले पोखरी निर्माण गरिएको हो ।

प्राकृतिक सौन्दर्यसँगै रूपाकोट क्षेत्रमै पर्ने सिद्धबाबाले बास गरेको गुफाको दर्शनका लागि उत्तिकै प्रशिद्ध मानिन्छ । मनोकांक्षा पूरा हुने विश्वासमा सिद्धबाबाको पूजा आराधना गर्ने चलन छ । घर–परिवारमा भव्य–तव्य नपरोस्, सुखशान्ति मिलोस, खेतीबाली सप्रियोस् तथा गाउँ समाज र पशुचौपाय दैविक प्रकोपमा नपरोस् भन्ने कामनासाथ सिद्ध बाबाको पूजाआराधना गर्ने चलन रहेको मुढेका बिचारी तामाङले बताए ।

यहाँ सिद्ध बाबाले तपस्या गरेको क्षेत्र भएकाले रूपाकोट क्षेत्र अत्यन्तै पवित्रा मानिन्छ । रूपाकोटको सिद्धथानमाथिको भ्युप्वाइन्टबाट हिमाललाई हेरेर मायालुलाई सम्झिए चिताएको पूरा हुने विश्वास गरिन्छ ।

स्थानीयका अनुसार रूपाकोटबाट देखिने हिमालहरूमध्ये नुम्बुर र कारेलुङ हिमालको बीचमा रहेको हिमालको नाम नभएकाले
आफ्नो प्रियतमको नामबाट नामाङकन गरे अटल र अमर माया रहन्छ भन्ने जनविश्वास रहेको पूर्वसांसद टंक राईले सुनाए । ‘रूपाकोट घुम्न आउने हरेक जोडीले आफ्नो प्रियतमको नाममा उक्त हिमालको नाम राखिन्छ ।’ राईले भने, ‘यसो गर्दा प्रियजन बीचको नाता र मायाँ अटल र अमर हुन्छ भन्ने चलन छ ।

प्रकाशित : वैशाख २, २०७६ ०९:२५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नयाँ वर्षमा चहलपहल

कान्तिपुर संवाददाता

इलाम — नयाँ वर्षको अवसर पारेर आन्तरिक पर्यटकीय स्थलमा घुमघाममा जाने क्रम बढ्दो छ । नयाँ वर्षलाई पनि पर्वका रूपमा मान्दै जिल्लाका विभिन्न पर्यटकीय क्षेत्र भरिभराउ भएका छन् ।

इलामको सन्दकपुर ५ स्थित जमुनाको ढापपोखरीमा फिसिङ गर्दै । तस्बिर : विप्लव भट्टराई/कान्तिपुर 

यो वर्ष मौसमको प्रतिकुलता रहे पनि परिवार र साथीसंगीसँग घुम्न जाने क्रम रोकिएन । एक ठाउँबाट अर्को स्थानमा घुम्न निस्कने कारण हरेक क्षेत्रमा बेग्लै चाप देखियो । सदरमुकाम र बजार क्षेत्रबाट जिल्लाका अन्य पर्यटकीय स्थलमा घुम्न निस्किएकाले सुनसान देखिन्थे । तर यहाँका मठ मन्दिर र घुमघाम गर्ने ठाउँमा भने विहानैदेखि चाप देखिएको थियो ।

पूर्वका पाथिभरा मन्दिर, कन्याम, करफोक, अन्तुडाँडा, पशुपतिनगरलगायत पहिलो रोजाईमा देखिए । त्यस्तै माइपोखरी, टोडे झरना, ढापपोखरी, सन्दकपुर, पानीटार, राँकेलगायत क्षेत्रमा पनि उत्तिकै भीड देखिएको थियो । पूर्वी पर्यटकीय क्षेत्रमा तराईका जिल्ला र देशकै विभिन्न स्थानबाट आगन्तुक पुगेका थिए । ‘अन्तु पोखरीमा बोटिङ गर्ने र चियाबारी घुमघाममा धेरैले समय विताए,’ स्थानीय रुद्र घिमिरेले भने, ‘अघिल्ला वर्षभन्दा पनि अहिले नयाँ वर्ष मनाउन यहाँ आउने क्रम बढदै गएको पाइयो ।’

यो पटक अन्तुको अघिल्ला वर्षभन्दा दोब्बरले रमाइलो साटे । पाथिभरा मन्दिरमा पूजाआजा गर्नेदेखि तराईको चिसो छल्न आउनेका कारण पनि बाक्लो भीड लागेको थियो । नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको ढापपोखरीको चहलपहल पनि उल्लेख्य रहयो ।

२०७५ को समाप्तीदेखि नै यहाँ आगन्तुकको बाक्लो उपस्थिति थियो । ‘काम व्यस्तताले चाहेर पनि निस्कन नपाएको अवस्थामा यो पटक ढापपोखरीसहित त्यस क्षेत्रका धेरै केन्द्रको घुमघामको अवसर जुटायौं,’ परिवारसहित पुगेका माङसेवुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले भने, ‘सडकमा सुधार भए यो क्षेत्रले गतिलो सम्भावना बोकेको छ ।’

जिल्लामा नै पहिलो पटक ढापपोखरीमा फिसिङ सुरु भएकाले धेरैलाई त्यसले आर्कषण गरेको छ । आगन्तुकलाई मनोरञ्जन दिने उद्देश्यले २ वटा डुङ्गाले जलयात्रा गराइरहेका छन् । सदरमुकाम इलाम बजारबाट २२ किलोमिटर उत्तरमा रहेको यो क्षेत्रमा सीमापारि दार्जिलिङदेखि पूर्वी तराईका विभिन्न स्थानबाट पनि घुमघाममा आउने क्रम बढेको वडाध्यक्ष जितबहादुर साँवाले बताए ।

सन्दकपुर गाउँपालिकाको टोडे झरनालाई पनि धेरैले नयाँ वर्ष मनाउने थलो बनाए । माइपोखरी हुँदै पुगिने २ सय ८० फिट अग्लो टोडे झरनाको मनोमोहक दृश्यको स्वाद चाख्दै मावुथाम र सन्दकपुर जाने पनि भेटिए । माइपोखरीमा पूजाआजा गर्नेदेखि रमाइलो घुमघाम गर्ने पनि उल्लेख्य थिए ।

प्रकाशित : वैशाख २, २०७६ ०९:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT