कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हिलो छ्याप्दै सिरुवा पर्व

पर्वत पोर्तेल

काँकडभिट्टा — पूर्वका आदिवासी राजवंशी सोमबार हिलो छ्याप्दै सिरुवामा रमाए । उनीहरू हिलोलाई कादो भन्छन् । सोमबार दोस्रो दिन कादो सिरुवाको उल्लास थियो, पूर्व राजवंशी बस्तीहरूमा । मेचीनगर ७ की प्रमिला राजवंशी भन्छिन्, ‘दिनभरि हिलो दलादल गर्ने, साँझ नदीमा नुहाएर आउने गरिन्छ ।’

हिलो छ्याप्दै सिरुवा पर्व

आइतवार पानी छ्यापेर सिरुवा आरम्भ भएको जनाउ दिइएको थियो । मंगलबार एकापसमा रंग दलेपछि सिरुवा सकिन्छ ।

मेचीनगर ७ की सर्मिला राजवंशी विहानैदेखि हिलाम्ये भइन् । यिनको अनुहार मात्रै होइन सिंगो शरीर नै हिलोले ढाकेको थियो । सर्मिला जस्तै धेरै राजवंशी समुदायका महिला हिलोसँग रमाए । गीत गाए अनि नाचेर रमाइलो गरे ।


पुरानो वर्षलाई बिदा र नयाँ वर्षको स्वागतमा राजवंशी समुदाय बर्सेनि तीन दिनसम्म सिरुवामा रमाउँछ । खासगरी पूर्वी तराईका झापा, मोरङ र सुनसरीमा राजवंशी समुदायको बसोवास छ । सिरुवा पर्वको पहिलो दिन पानी सिरुवा मनाइन्छ । दोस्रो दिन एक अर्कालाई हिलो छ्यापेर खुसियाली मनाइन्छ । ‘वर्षभरी शितलता प्राप्त होस् भन्दै पानी सिरुवा मनाइएको हो’, राजवंशी समुदायका पत्रकार इन्द्रसिंह राजवंशीले भने, ‘यो राजवंशी जातिबीचको एकताको सन्देश पनि हो ।’


‘कादो’ सिरुवाका माटोको शरीर माटोमै विलय हुने र माटोले नै जीवन धानेको भन्दै माटोलाई हिलो बनाएर एक आपसमा छ्यापिन्छ । करिव १५ दिनअघिदेखि गीत गाउँदै घरघर पुग्ने प्रचलन छ । कादो सिरुवाका दिनचाहिँ हिलो खेल्दै पुनः घर चहारिन्छ । पुरुषले ढोलक बनाउँछन् । महिलाहरू गीतको भाकामा हिलो दलादल गर्छन् । एक जना टोली नेता हुन्छिन् । उनी पूजा गर्दै समूहमै हिँड्छिन् । तिस्तावुरी अर्थात् हनुमानका पिता पवनलाई पूजा गर्छन् ।


पवनको पूजा गर्दा हावाहुरी नचल्ने र पर्याप्त पानी पर्ने विश्वास छ । प्रत्येक घरले हैसियत अनुसार दान दक्षिण दिन्छन् । सवै घर भ्याएपछि साँझ रमाइलो गर्दै नजिकको खोला जाने र नुहाइधुवाइ गरी देवतालाई नदीमै सेलाएर घर फर्किने चलन छ । ‘नदीमा हाम्रा पुजारीले पूजा गरेर देवता सेलाइन्छ’, स्थानीय सुमा राजवंशीले भनिन्, ‘त्यसपछि हामी पुनः रमाइलो गर्दै फर्किन्छौं ।’ राजवंशीहरू ठाकुर व्रह्मानीको पूजा गर्छन् । यो समुदायमा धामीझाँक्रीप्रति विश्वास गर्नेहरू धेरै छन् ।


वर्षभरि आफूले इच्छाएका विभिन्न इच्छा र चाहानाहरू पूरा होस् भन्ने कामनाका साथ एकआपसमा रंग र अबिर दलेर विजयोत्सवका रूपमा अन्तिम दिन रंग सिरुवा मनाउने गरिन्छ । पुरानो वर्षलाई विदाइ गर्ने क्रममा राजवंशी समुदायले अघिल्लो वर्ष फलेका विभिन्न ७ प्रकारका तरकारी मिसाएर खाने चलन छ । यसलाई ‘सातसागी’ भनिन्छ ।

प्रकाशित : वैशाख ३, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?