१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विद्यालय पुगेनन् पाठ्यपुस्तक

समयमै किताब माग भएको भए तयार पारेर राखिदिन्थ्यौं, तर माग नै नआएकाले बितरणमा समस्या
आनन्द गौतम

ताप्लेजुङ — सदरमुकाम फुङलिङबाट सिरिजंघा गाउँपालिकाको गणेश मावि एक दिनको पैदल दूरीमा पर्छ । आम्बेगुदिनको हप्पुखोलासम्म गाडीमा जान सक्ने सुविधा पनि छ तर नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यालयमा किताब पुगेको छैन । सदरमुकाममा आठवटा बोरामा प्याक गरेर राखिएका कक्षा १ देखि १० सम्मकै किताब ढुवानी हुन सकेका छैनन् । 

विद्यालय पुगेनन् पाठ्यपुस्तक

यससँगै जोडिएको तर यातायात पहुँच नपुगेको मामांखेको लक्ष्मी माविले पनि किताब लगेको छैन । सदरमुकामको गोदाममै थन्किएको छ । उत्तरको सरस्वती च्यारिबुक माविको पनि उही हालत छ । फक्तालुङ गाउँपालिका ६ मा रहेको यो विद्यालय उत्तरतर्फ सबैभन्दा टाढाको हो ।


प्रधानाध्यापक राम तामाङका अनुसार किताब तयार पारिए पनि व्यवसायीलाई झुक्तानी दिने रकम नहुँदा बित्री केन्द्रको गोदाममै थन्किएको छ । गाउँपालिकाले किताब खरिदको पैसा नदिएको उनले बताए । जिल्लाका आधाभन्दा बढी सामुदायिक विद्यालयले अझै किताब लगेका छैनन् । सरकारले वैशाख २ देखि नयाँ शैक्षिक सत्रसँगै भर्ना अभियान पनि चल्दै छ । वैशाख ५ लाई पुस्तक दिवसका रूपमा मनाइन्छ । प्रधानाध्यापक तामाङ ५ गतेभित्र विद्यालयमा किताब पुर्‍याउन कठिन हुने बताउँछन् । ‘किताब भिज्ने भएकाले हावापानीमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘अब विद्यालयको खातामा पैसा आए पनि ५ गते वितरण गर्न सकिँदैन ।’


जिल्लामा ३ सय १७ विद्यालय छन् । व्यवसायीका अनुसार शनिबार बेलुकीसम्म १ सय २६ वटाले मात्रै किताब अर्डर गरेका छन् । तिनमा आधाजतिले मात्र लगेका छन् । पुस्तक व्यवसायीले फागुन अन्तिम सातादेखि नै बिक्री खुला गरेका थिए । सदरमुकामका व्यवसायीले एकै ठाउँबाट किताब बिक्री गर्छन् । मैवाखोला गाउँपालिका र सिदिङवाका पाँचथरसँग सिमाना जोडिएका विद्यालयले मात्रै अन्तैबाट ल्याउने गरेका छन् ।


स्टेसनरी व्यवसायी संघका अध्यक्ष दिनेश भट्टराईका अनुसार फुङलिङ नगरपालिकाका पनि कतिपय विद्यालयले अर्डर गरेका छैनन् । कक्षा १० को पूरै सेट र ९ को समेत कतिपय किताब सकिएकाले अब अर्डर गरेर ९ गतेसम्ममा दिन नसकिने उनले बताए । ‘उहाँहरूलाई हामीले पटक पटक भनेका हौं,’ भट्टराईले थपे, ‘अर्डरसम्म भएको भए किताब तयार पारेर राखिदिन्थ्यौं, भुक्तानी दिएर लैजाँदा हुन्थ्यो तर अर्डर नै नभएकाले तत्काल दिन समस्या छ ।’


अर्को वर्षदेखि पाठ्यपुस्तक फेरिने चर्चा भएकाले कम किताब ल्याएको भट्टराई बताउँछन् । उनका अनुसार १ देखि १० सम्म एक हजार थानका दरले ल्याइएको हो । विद्यार्थी संख्या यकिन नभएकाले व्यवसायीले पहिलो चरणमा लैजाने निश्चित भएका विद्यालयका लागि मात्र ल्याउने गरेका छन् । पछि अर्डर गर्नेका लागि फेरि विराटनगरबाट थपेर ल्याउनुपर्दा समय लाग्ने अर्का व्यवसायी ज्ञानु मिश्र बताउँछन् ।


स्थानीय तहले भने पाठ्यपुस्तकको रकम पहिल्यै विद्यालयको खातामा पठाइसकेको दाबी गरेका छन् । फुङलिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेल सबै बिद्यालयलाई रकम दिइसकेको बताउँछन् । पहिला अनुमानित विद्यार्थीको ७५ प्रतिशत र किताब वितरणपछि २५ प्रतिशत भुक्तानी दिने गरिएको छ । जिल्ला शिक्षा एकाइ समिति प्रमुख हेमबहादुर पालुङवा विद्यालयहरूलाई समयमै पाठ्यपुस्तक लगेर वितरण गर्न अनुरोध गरिएको बताउँछन् ।

प्रकाशित : वैशाख ३, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?