कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

समयमै पुगे नयाँ पाठ्यपुस्तक

संखुवासभा — प्रदेश १ को दुर्गम पहाडी जिल्लामा नयाँ शैक्षिक सत्र सुरु हुन् अगावै पाठ्यपुस्तक आइसकेका छन् । सामुदायिक विद्यालयका लागि कक्षा ५ देखि १० सम्मको १ हजार ५ सय सेट पुस्तक आइसकेको रुधेस पुस्तक पसलका सञ्चालक रुद्र पोखरेलले बताए । तर कक्षा १ देखि ५ कक्षासम्मका पुस्तक भने आउन बाँकी छ । 

समयमै पुगे नयाँ पाठ्यपुस्तक

विगतका वर्षहरूमा शैक्षिक सत्र सुरु भएको तीन/चार महिनामा पनि नयाँ पुस्तक विद्यार्थीको हातमा पुग्दैन थियो । समयमा पुस्तक नआउँदा विद्यार्थीहरूको पठनपाठन नै प्रभावित हुने गर्दथ्यो । जिल्ला शिक्षा कार्यालयका अनुसार कक्षा १ देखि ५ सम्म १८ हजार ६ सय ६३ सेट पुस्तक आवश्यक पर्छ ।


कक्षा ६ देखि ८ सम्मलाई ११ हजार ५ सय ८८ तथा कक्षा ९ र १० लाई ५ हजार ६ सय ३५ सेट आवश्यक पर्छ । जिल्लाभरी १० वटा पुस्तक पसललाई ग्रामीण भेगका विद्यालयसम्म पुस्तक पुर्‍याउने जिम्मेवारी दिइएको छ । यहाँ ४ सय ९ वटा विद्यालय छन् । कक्षा १ देखि ८ सम्म ३ सय ९ वटा आधारभूत, ६३ वटा माध्यमिक, ३२ वटा संस्थागत र ५ वटा धार्मिक विद्यालय सञ्चालनमा छन् ।


कडाइका साथ शैक्षिकसत्र अगावै पुस्तक विद्यालयमा पुर्‍याउन शिक्षाले सूचना जारी गरिसकेको शिक्षाका प्रमुख केशब भट्टराईले बताए । विद्यार्थी भर्ना सँगै पुस्तक गाउँगाउँमा पुग्नेमा विश्वस्त छौं उनले भने । सिलिचोङ गाउँपालिका ४ मा रहेको वागीश्वरी आधारभूत विद्यालयका शिक्षक हस्तकर्ण राईलाई समयमा पुस्तक पाउनेमा शंका लागेको छ । दुर्गम र सडक यातायात नपुगेकाले पुस्तक सदरमुकाम आए पनि विगतका वर्षमा ढुवानीले गर्दा ढिला हुने गरेको उनले बताए ।


खाँदबारीमा समयमै पुस्तक आए पनि ग्रामीण क्षेत्रका विद्यालयले जेठतिरमात्र पुस्तक पाउँछन्, उनले भने, खच्चड र भरीयालाई बोकाएर ल्याउँदा समस्या हुने गरेको छ । ‘गएको चैतको दोस्रो सातासम्ममा पुस्तक ग्रामीण भेगमा पुगे विद्यार्थीले पाउने थिए,’ उनले भने, ‘पुस्तक समयमा नपुग्दा पुराना पुस्तकले काम चलाउनु पर्छ ।’ भोटखोला, सिलिचोङ, मकालु गाउँपालिकाको अधिकांस ग्रामीण भेगमा सडकको पहुँच नहुँदा विद्यार्थीले समयमै पुस्तक नपाउने उनले बताए । शिक्षा कार्यालयले कडाइ गरे यी क्षेत्रमा समयमै पुस्तक पुग्ने उनको भनाइ छ ।

प्रकाशित : वैशाख ३, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?